प्रजिअ पोखरेलद्वारा जनताका पीरमर्कामा ध्यान दिने प्रतिबद्धता

सिमकोट – भर्खरै सरुवा भएर जिल्लामा आइपुगेका प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले आफ्नो पहिलो काम सेवाग्राहीलाई सेवा दिनु रहेको बताएका छन्। आइतबार जिल्लास्थित पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा प्रजिअ पोखरेलले आफूलाई नितान्त पहुँचविहीनहरूका लागि काम गर्न सरकारले खटाएको भन्दै त्यस्ता वर्गको सेवा प्रवाहमा समेत सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरे।

पहुँचवाला आफैँ सेवा लिन अग्रसर हुने भएका कारण पछाडि परेका र आफ्ना समस्या आफैँ राख्न नसक्नेलाई प्राथमिकतामा राखेर काम गरिने उनले बताए।

सही सूचना प्रबाह गरेर समाजमा हुने विकृति तथा विसंगति बाहिर ल्याएर आफूलाई सहयोग गर्नसमेत उनले आग्रह गरे। विकासे गतिविधिको अनुगमन कार्यलाई तीव्रता दिने र अनुगमनमा सञ्चारकर्मीलाई सहभागी गराइने उनले बताए।

जिल्लामा हुने सबै खाले विसंगतिलाई बाहिर ल्याएर समाज विसंगतिविहीन बनाउने कार्यमा अग्रसर हुन सञ्चारकर्मीलाई उनको माग छ। संघीयता लागू भए पनि प्रजिअको अधिकार धेरै कटौती भएको समेत उनले बताए।

सुरुमा जिल्लास्थित सञ्चारकर्मीले जिल्लावासीले भोगिरहेका यातायातको समस्या समाधान गर्न, खाद्यान्न आपूर्तिका लागि बेलैमा पहल गर्न, चिनियाँ मदिराको आपूर्ति रोक्न, विकास कार्यमा अनुगमन गर्न सुझाव दिएका थिए।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्षसहितका पदाधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीलगायतको उपस्थिति थियो। यसअघि जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिसँग पनि यसरी नै छलफल गरेका थिए।

मंसिर ११, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्