आधा खेलिएको हुम्ला गोल्ड कपको सेमिफाइनलका खेल स्थगित

सिमकोट – निर्धारित समयको आधा समय खेल सुचारु भएको हुम्ला गोल्ड कपको पहिलो सेमिफाइनल खेल स्थगन भएको छ। दोस्रो हाफ सुरु हुन लागेको बेला सनलाइट युवा क्लबले नयाँ खेलाडी थपिएको भन्दै खेल खेल्न इन्कार गरेको थियो।

मंसिर ४ गतेबाट जारी रहेको हुम्ला गोल्ड कपको सेमिफाइनल खेल आधा खेलिए पनि सोमबार सञ्चालन हुन सकेन। पहिलो सेमिफाइनल खेल्ने इमर्जिङ युवा क्लब र सनलाइट युवा क्लबले खेलाडीको एक अर्काले खेलाडी थपेको विवाद गरेपछि खेलको पहिलो हाफ खेलिसकेको प्रतियोगिता अगाडि बढ्न नसकेको हो।

आयोजक हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णुबहादुर रावतले सेमिफाइनलको आधा खेलिसकेपछि सनलाइटका खेलाडीले बिबाद गरेपछि खेल स्थगन भएको बताए। सनलाइटका खेलाडीले प्रतिद्वन्द्वी इमर्जिङ युवा क्लबले नयाँ खेलाडीलाई मैदानमा उतारेको विरोध गरेपछि खेल अगाडि बढ्न नसकेको हो।

इमर्जिङले पहिलो हाफमा एक गोल गरेको थियो। सनलाइटले टिम दर्ता फारममा नाम काटेर नयाँ खेलाडी सेमिफाइनलका लागि थपेको आरोप लगाएको छ। यस विषयमा छलफल नभएसम्म बाँकी खेलमा सहभागिता नजनाउने सनलाइटले जनाएको छ।

पहिलो सेमिफाइनल खेलमा विवाद भए पनि सोमबारै हुनुपर्ने ठेहे राइजिङ युवा क्लब र चाङ्ला युवा क्लबबीचको खेल पनि हुन नसकेको हो। आयोजकले भने दुई टिमलाई सहमतिमा ल्याउने प्रयास जारी राखेको छ।

मंसिर ११, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्