सिमकोट – नेपाल नागरिक उड्डयान प्राधिकरणले सिमकोट विमानस्थललाई यसै आर्थिक वर्षमा विस्तार गर्ने भएको छ। विमानस्थलको लम्बाई कम रहेको कारण त्यसको लम्बाई बढाउन लागिएको हो।

नागरिक उड्डयन प्राधिकरण सिमकोट विमानस्थलका अनुसार यसवर्ष विमानस्थलको लम्बाई एक सय पचास मिटर अगाडि विस्तार गरिने छ। विमानस्थलको पश्चिमपट्टिको रानीबन क्षेत्रमा विमानस्थल विस्तार गर्न लागिएको हो।

यसका लागि जग्गाको नापजाँच गर्ने कार्य पूरा भइसकेको र अब मुआव्जा वितरण कार्य अगाडि बढाइनेछ। जग्गा विस्तार गर्न लागिएको स्थानमा रहेका दश वटा घरसमेत विमानस्थल विस्तारका क्रममा जानेछन्।

जग्गा अधिकरणका लागि प्राधिकरणले करिब ६ करोड बजेटसमेत ब्यवस्था गरेको छ। हाल पचास मिटर जग्गा विमान स्थल क्षेत्रभित्रको जग्गा बाँकी रहेको र त्योसहित अब विमानस्थलको लम्वाई दुई सय मिटर बढ्नेछ। हालको विमानस्थलको रन वे साढे छ सय मिटर लम्बाई रहेको छ।

त्यसपछि भने सिमकोट विमानस्थल साँढे आठ सय मिटर लामो हुनेछ। विमानस्थलको दुरी छोटो भएको कारण तारा, सिता, समिट र नेपाल एयरलाईन्सका साना जहाजमात्र सञ्चालित छन्। विमानस्थल विस्तारपछि पैतालीस सिटे जहाजहरु अवतरण गर्न सक्ने र जसबाट यात्रुलाई समेत सहज हुनेछ। यो सिमकोट विमानस्थलको दोस्रो पटक विस्तार गर्न लागिएको हो।

मंसिर ११, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्