बसन्त रोकाया

शक्ति र भक्तिको लागि खार्पुनाथ

यो संसार शक्ति र भक्तिले चलिरहेको छ । शक्ति र भक्तिको मूल केन्द्र भगवान् हुन् । यो सृष्टि नै भगवान् ब्रह्मा, विष्णु र महेश्वरको नाम र कामसँग जोडिएको छ । पवित्र धार्मिकस्थल खार्पुनाथ शक्ति र भक्तिका लागि प्रसिद्ध छ । जहाँ भगवान् शिव विराजमान हुनुहुन्छ त्यहाँ भक्तजन र आस्थावानहरु वर माग्ने र भर मान्ने गर्दछन् । खार्पुनाथ पशुपतिनाथको उत्तर ढोका र मानसरोवर कैलाशको प्रवेशद्वारको रुपमा पनि चाहिन्छ ।

खार्पुनाथको उत्पत्ति, इतिहास र महिमा
खार्पु तीर्थ हो । यही पवित्र तीर्थमा नाथ(शिव)बस्नु भएकाले खार्पुनाथ भनिएको हो । खार्पुमा प्राकृतिक रुपमा डाँडो नै शिवलिङ्ग भएको र पवित्र नदी कर्णाली छेउमा बगिरहेको छ । महाभारतका सूर्यपुत्र दानवीर कर्णले मानसरोवरबाट बगेर आइरहेको यस नदीलाई पवित्र जल मानेर आफ्नो नाल(नर्सिङा)मा राखेर पिएको हुनाले यसलाई कर्नाली भनिएको हो भन्ने मान्यता छ । जहाँ खार्पु दोभान छ जसलाई गौरी पनि भन्दछन् । यहाँ स्नान गर्ने गर्दछन् ।

खार्पु दोभान(गौरी)मा भगवान् विष्णु स्नान गर्न आएर कर्णाली पारिपट्टि शङ्खतोडा ढुङ्गाको रुपमा बस्नुभएको छ । भगवान ब्रह्मा स्नान गर्न आउनु भई ब्रह्माकपाली ढुङ्गाको रुपमा रहनु भएको छ । नवदुर्गा भवानी स्नान गर्न आउनु भई तप्पन(तातोपानी)का रुपमा बस्नुभएको छ । श्यामकर्ण घोडा स्नान गर्न आई ढुङ्गामा बच्छेरी पाइलाको रुपमा रहेको छ । कबुली गाई स्नान गर्न आएर ढुङ्गामा कबुली गाई पाइलाको रुपमा रहेको छ । यमराज स्नान गर्न आई गौजो काटने ढुङ्गा (यमद्वार)को रुपमा रहनुभएको छ । यही भएर खार्पु दोभानको वरिपरि र छेउछाउमा मसानघाट छन् जसलाई त्रिपेनी भन्दछन् । भगवान् शिवले स्नान गरी खार्पु डाँडो शिवलिङ्गको रुपमा रहनुभएको छ जसभित्र भगवान् शिवको भव्य मन्दिर छ भन्ने जनविश्वास छ । त्यही भएर खार्पुमन्दिरमा धूपबत्ती बाल्दा यसको टुप्पोमा बास्ना र धुँवा आउँछ भन्ने भनाई छ । खार्पु दोभान(गौरी) मा स्वयम् पार्वती दुईवटा नदीको बिचमा टापुको रुपमा रहनुभएको छ । जसलाई पार्वतीको गोप्य अङ्गको आकारका रुपमा पनि बुझ्छन् ।

देवादिदेव महादेवको बासस्थान कैलाशलाई जसरी हिन्दु र बौद्ध धर्मावलम्बीहरु आस्था राख्छन् त्यसरी नै खार्पुनाथलाई पनि दुवै धर्मावलम्बीहरुले पवित्र तीर्थको रुपमा मान्छन् । आफ्नो घरको अशुभ(गौजो) काट्न, वरदान माग्न र पूजाआजा गर्न आउँछन् । एउटा किम्बदन्तीअनुसार ह्वाडेखोली लामा जसलाई बौद्ध धर्मावलम्बीहरु गुरु पदमसम्वम र हिन्दुहरु भगवान् शिवको रुपमा चिन्दछन् । उहाँले खार्पु दोभानमा स्नान गरी केही माथि कोट खौला जाने बाटोतिर ढुङ्गामा लामा पाइला छोडेर रलिङ गुम्बामा गई तपस्या गर्न लाग्नुभयो । ध्यान मुद्रामा उहाँले खार्पुलाई मानसरोवर र रलिङ तुथो(चुचुरो) लाई कैलाश बनाउन लाग्दा बिहानीपख राक्षसरुपि काग रलिङको चुचुरोमा बसी कराएर लामाको ध्यान भङ्ग गरेकाले लामाले श्राप दिई कागरुपि राक्षस त्यही रलिङ चुचुरोमा भष्म भएको , अहिले पनि रलिङ चुचुरोमा कालो देखिँदा त्यसलाई काग हो भन्ने भनाई छ । पछि लामा अर्थात भगवान् शिवले यहाँ अशुभ भयो भनेर आफ्नो निवासस्थान कैलाश र मानसरोवर चीनको तिब्बतमा अवस्थित अहिलेको कैलाश पर्वत र मानसरोवर ताल बनाउनु भयो । त्यसैले पनि कैलाश, मानसरोवर, रलिङ र खार्पुनाथको सम्बन्ध जोडिएको छ । कैलाश, मानसरोवर र रलिङको दर्शन गर्नुभन्दा पहिला खार्पुनाथको दर्शन गरेर मात्र जानुपर्छ भन्ने जनविश्वास र धार्मिक मान्यता छ ।

त्यसै गरी नै भगवान शिवले खार्पुमा पवित्र तीर्थ र आफ्नो तपस्या स्थल बनाउनु भनी त्यहाँ रहेका डाँडाहरुलाई सोध्नुभयो र भन्नुभयो । ए डाँडाहरु, भोलि बिहानसम्म जुन डाँडा उप्केर यहाँ शिवलिङ्ग आकारमा बस्छ म त्यसलाई पवित्र तीर्थ र तपस्या स्थल बनाउँछु । त्यसपछि त्यहाँ रहेका चार दिशाका चार डाँडाहरु दक्षिणमा रहेको छिप्राको लुवासुर डाँडा, उत्तरमा रहेको बरगाउँ डाँडा, पूर्वमा रहेको खर्पेलगाउँ डाँडा र पश्चिममा रहेको सिमकोट कुडिल्ला डाँडाको रातभरि प्रतिस्पर्धा चल्यो । बिहानीपख अरु डाँडा उप्किन नसकेको र सिमकोटको कुडिल्ला डाँडा उप्केर आई अहिलेको खार्पु डाँडा शिवलिङ्ग आकारमा रहेर बस्यो । जहाँ भगवान् शिव तपस्या गरी बसेर पवित्र तीर्थस्थल बनाए । खार्पु डाँडो र सिमकोट कुडिल्ला डाँडाको ढुङ्गामाटो त्यही भएर समान अर्थात एकै खालको छ भन्ने मान्यता छ ।

स्वस्थानी व्रत कथामा महादेव पत्नी वियोग भई सतीदेवीको मृत शरीरलाई पीठमा राखेर पृथ्वी भ्रमण गर्दा जुन जुन स्थानमा सतीदेवीको अङ्ग पतन भयो त्यहाँ त्यहाँ एक एक शक्तिपीठ र स्यम्भूलिङ्ग उत्पन्न हुँदै गयो । समस्त पीठको संङ्ख्या साढे सात करोड छ । त्यसमध्ये पचास पीठको मात्र दर्शन गरे पनि अवश्य मुक्ति प्राप्त हुन्छ । यस खार्पुमा सतीदेवीको काखी (खार) पतन भयो । त्यसैले यसलाई खार्पुनाथ भनिएको हो । यसको मूल थान गुफाको आकार काखी अर्थात खार जस्तै छ । जहाँ महादेव शिवशक्ति स्वरुपमा रहेका छन् । एकातिर शिव तपस्या गरेर बसेको आकृति देखिन्छ भने अर्कोतिर ढुङ्गामा गणेश, दुर्गा भवानीलगायत भगवान्का विभिन्न स्वरुपहरु देखिन्छन् । यहाँ धर्मी मान्छेहरुले मात्र भगवान्का स्वरुपहरु देख्न सक्छन् भन्ने जनविश्वास छ ।
यस सिद्धभूमि, मोक्षभूमि र पुण्यभूमि खार्पुनाथको महिमा स्कन्दपुराणमा पनि उल्लेख गरिएको पाइन्छ । जगतगुरुले पनि खार्पुनाथ र मानसरोवर कैलाशको सम्बन्ध र महत्व बारे प्रवचन दिएको सुनिन्छ । खार्पुनाथको उत्पत्ति, इतिहास र महिमा अपरम्पार, अलौकिक र अद्भूत छ । जुन शक्ति र भक्तिका लागि खार्पुनाथ प्रसिद्ध र पवित्र तीर्थ मानिन्छ ।

खार्पुनाथको मन्दिर, महत्व र विकास
खार्पुनाथको सम्बन्ध हुम्लाको नामाकरणसँग पनि जोडिएको छ । महाभारत कालमा पाण्डवहरुले खार्पुनाथमा कोटी होम लगाएको किम्बदन्ती पाइन्छ । पछि योगी नरहरिनाथले पनि यहाँ कोटी होम गरेको भेटिन्छ । यही कोटी होमबाट अपभ्रंश भई हुम्ला भएको भन्ने बुझिन्छ ।

खार्पुनाथ हुम्लाको पहिलो मन्दिर हो । योभन्दा पहिला यहाँ माडुहरु मात्र निर्माण भएको पाइन्छ । एउटा भनाइअनुसार खर्पेलगाउँका तत्कालीन भलाद्मी भीमबहादुर शाहीले सपनामा खार्पुको गुफाभित्र चल्लाली माऊ चरिरहेको र टुप्पोमा धुवाँजस्तो आएको देखे । उहाँ ब्युँझिएर आज के अचम्मको सपना देखेँ सोचे । बिहान खर्पेलगाउँबाट त्यहाँ आइरहेको बेला साँच्चिकै खार्पु टुप्पोमा धुँवा आइरहेको देखे । पछि हेर्दा त गुफाभित्र हलो, जुवा र अन्यसरसामानहरु एक्कासि आगलागी भई त्यसको धुँवा त्यहीँ भित्रबाट नै गई टुप्पोबाट निस्केको रहिछ । त्यतिखेर खार्पु जिउलामा काम गर्दा खर्पेलगाउँका मानिसले कामको सहजताका लागि हलो, जुवा, मुदोडो लुकाएर राख्थे । यसपछि यो ठाउँ त सत र शक्तिको ठाउँ रहिछ भनेर भीमबहादुर शाहीले त्यहाँ मन्दिर बनाए । पूजापाठ गर्न लगाए । माघेसक्रान्ती मेला मनाउन थाले । त्यहाँ आउने मान्छे(तीर्थयात्री र बटुवा)बस्नका लागि धर्मशाला पनि बनाए । यस मन्दिरको रेखदेख र पूजाआजा गर्ने काम खर्पेल र यिंङच्यालले गर्न लागे । तसर्थ, खर्पेल र यिंङच्याले सेवाचाक्री, अरु मुलुक राम भन्ने गीत छ । त्यतिखेर सत्र सय हुम्लो, भीमबहादुर शाहीको कुम्लो भन्ने भनाई पनि थियो ।

खार्पुनाथ शक्ति र भक्तिका लागि प्रसिद्ध हुँदै गयो । यसको महिमा र महत्व चिन्दै गए । टाढा टाढाबाट पनि भक्तजनहरु माघेसंक्रान्ती मनाउन, वरदान माग्न, गौजो काट्न र साक्षत शिवजीको दर्शन र पूजाआजा गर्न आउन थाले । यहाँको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, प्राकृतिक र पर्यटकीय महत्व बढ्दै गयो ।

वि.स. २०५५ मा तत्कालीन जि.वि.स. सभापति जीवनबहादुर शाहीले खार्पुमा नयाँ शिवमन्दिर बनाएर खार्पुनाथ मन्दिर क्षेत्रको विकासका लागि गुरु योजना बनाउन लगाउनुभयो । खार्पुनाथ शिवालय व्यवस्थापन समिति स्थापना गरी खार्पुनाथ मन्दिरको रेखदेख, मर्मतसम्भार, मेलापर्वहरु मनाउने र पूजापाठ गर्ने कार्यहरु भइराखेको छ । वि.स.२०७३ सालमा जीवनबहादुर शाही पर्यटनमन्त्री हुँदा खार्पुनाथ मन्दिरको जीर्णोद्धार गरी त्यहाँ प्यागोडा शैली (छाने शैली) को पक्की मन्दिर निर्माण भई उद्घाटन गर्नुभएको थियो । उहाँको पहलमा नेपाल सरकार पर्यटन मन्त्रालय र खार्पुनाथ गाउँपालिकाको सहकार्य र सक्रियतामा गुरु योजनाअनुरुप यस खार्पुनाथ मन्दिर क्षेत्रको नयाँ नयाँ संरचना बनाउने र विकास कार्य धमाधम अगाडि बढिरहेको छ । अझै पनि यस खार्पुनाथ मन्दिरको सेरोफेरो विकास गर्नका लागि धेरै कामहरु गर्न बाँकी नै छ । नियमित पूजाआजा गर्नका लागि पुजारीको व्यवस्थापन गर्नुपर्ने पनि देखिन्छ । जिल्लास्तरीय, प्रदेशस्तरीय, राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा एक शक्तिपीठ र भक्तिकेन्द्रको रुपमा यस खार्पुनाथ मन्दिरको विकास गरिनु आवश्यक रहेको देखिन्छ ।

पशुपति र कैलाशको शक्ति र स्वरुपमा रहेको खार्पुनाथको महिमा र महत्त्व उत्तिकै छ । प्रचार प्रसारको कमिले ओझेल परेको जस्तो भएपनि खार्पुनाथलाई वरदान माग्ने र भर मान्ने संङ्ख्या बढ्दै छ । शक्ति, भक्ति र आस्थाको केन्द्र खार्पुनाथ बन्दै छ ।

(लेखक पूर्व क्याम्पस प्रमुख हुन।)

मंसिर १२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्