राहुल द्रविडनै टी-२० विश्वकप सम्म भारतको प्रशिक्षक

काठमाडाैँ – भारतको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा राहुल द्रविडले निरन्तरता पाउने भएका छन्। ‘भारतीय क्रिकेट कन्ट्रोल बोर्ड’ (बिसीसीआइ) ले उनको कार्यकाल बढाउने निर्णय गरेको हो।

एकदिवसीय विश्वकप सकिएसँगै उनको दुई वर्षको कार्यकाल सकिएको थियो। अब द्रविडले कम्तीमा वेस्टइन्डिज र अमेरिकामा आगामी जुनमा हुने टी–२० विश्वकपसम्म भारतीय टिम सम्हाल्नेछन्।

अब द्रविडले १० सेप्टेम्बर देखी ७ जनवरी सम्म हुने तीन टी–२०, तीन एकदिवसीय र दुई टेस्६का लागि दक्षिण अफ्रिका भ्रमण गर्ने छन्।

यसअघि द्रविड २०२१ मा भारतीय टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनको दुई वर्षको कार्यकाल विश्वकप सँगै सकिएको थियो। द्रविड निकटहरुले उनी आफै कार्यकाल लम्ब्याउन नचाहेको बताएका थिए। तर बिसीसीआइका सचिव जय शाहले उनलाई टी–२० विश्वकप सम्म टिमको प्रशिक्षकका रुपमा रहनका लागि मनाएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्।

उनको दुई वर्षे कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भारत एकदिवसीय विश्वकपको फाइनलमा पुग्नु हो। फाइनल सम्मको यात्रामा भारत अपराजित रहेको थियो। त्यसबाहेक अस्ट्रेलिया, श्रीलंका र न्युजिल्यान्ड विरुद्धको घरेलु टेस्ट सिरिज र बंगलादेशमा भएको सिरिज जितेका थिए। त्यस्तै वेस्टइन्डिज, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड तथा श्रीलंका विरुद्ध घरेलु टी–२० सिरिजसमेत जितेका थिए।

मंसिर १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्