गाउँपालिकाभरिका ११४ जना गर्भवतीको घरमा गाडियो नीलो झण्डा

सिमकोट – सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले आफ्ना ८ वटै वडाका ३३ वटा बस्तीमा गर्भवती महिलाको घरमा नीलो झण्डा गाडेको छ। गर्भवती महिला पहिचान गर्न सहज हुने र उनको अवस्थाबारे सबैले जानकारी लिन सजिलो होस भन्नका लागि नीलो झण्डा गाडिएको हो।

ठेहेमा १९ जना गर्भवती महिलाको घरको छतमा नीलो झण्डा गाडिएको ठेहे स्वास्थ्य चौकीका संयोजक दानबहादुर बोहराले जानकारी दिए।

उनले पहिलो कुरा गर्भवतीको घर पहिचान गर्ने कार्य भएको, उक्त घरमा गर्भवती भएको स्वास्थ्य स्वयम सेविकाहरुले जानकारी पाउन सहज र वडाभरि कति जना गर्भवती रहेको जानकारी लिन सबैलाई सजिलो होस भन्नका लागि निलो झण्डा गाडिएको बताए।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले सिमकोट गाउँपालिकाका आठ वटा वडाका बाह्र वटा स्वास्थ्य चौकी अन्र्तगतका तेत्तीस वटा बस्तीमा ११४ जना गर्भवती रहेको र उनीहरु सबैको घर पहिचान गरेर नीलो झण्डा गाड्ने कार्य भएको बताए।
शाखाका अनुसार वडा अनुसार गर्भवती महिला भएका घरहरुमा वडा नम्बर १ मा आठ, २ मा १९, ३ मा दुई , ४ मा चार, ५ मा १६ , ६ मा १२, ७ मा २३ जना र ८ मा तीस जना छन्। यसले गर्दा पोषणका लागि कोशेली उपहार र लिटो बितरणमा समेत सहज भएको छ। उनले गर्भवती महिला सुत्केरी भएपछि भने गाडिएको झण्डा निकाल्ने गरिएको बताए।

मंसिर १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्