निर्माण भएको लामो समयपछि बल्ल प्रयोगमा आयो झोलुंगे पुल

सिमकोट – सिमकोट गाउँपालिका– ४ को स्याम्ने खोलामा निर्माण गरिएको झोलुंगे पुल बल्ल प्रयोगमा आएको पाइएको छ। अपायक पर्ने स्थानमा सो पुल निर्माण भएको भन्दै पैदल यात्रुले यसअघि प्रयोग गर्न छाडे पनि भदौको पहिरोले स्याम्ने खोलामा निर्माण गरिएको काठेपुल बगाएर पुल प्रयोगमा आएको हो।

संघीयता कार्यान्वयनअघि तत्कालीन जिल्ला विकास समितिको आर्थिक सहयोगमा ०७३ सालमा निर्माण भएको स्याम्ने खोलाको झोलुंगे पुल अहिले आएर प्रयोगमा आउन थालेको होे।

पुल निर्माण भएको सात वर्षपछि प्रयोगमा आएको हो। यसअघि उक्त झोलुंगे पुल पायक नपर्ने स्थानमा निर्माण भएको भन्दै पुलभन्दा साठी मिटर तलको खोलामा निर्माण भएको काठेपुल पैदल यात्रु तर्ने गर्दै आएका थिए।

गत साउन–भदौमा परेको पानीले खोलाको बहाब बढ्दा काठेपुल बगाएपछि बाध्य भएर यात्रु उक्त झोलुंगे पुल तर्न बाध्य हुँदै आएका हुन्।

काठेपुल खोलाले बगाउँदा नयाँ पुल बन्ने सम्भावना नभएपछि निर्माण भएको पुल सदुपयोगमा आएको छ। सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया भामले ढिलै निर्माण भए पनि झोलुंगे पुल प्रयोगमा आउनु सकारात्मक कुरा भएको बताइन्।

उनले अब गाउँपालिकाले उक्त खोलामा काठेपुल निर्माण नगर्ने बताइन्। स्याम्ने खोलामा निर्माण भएको सो पुल प्रयोगमा आएपछि पैदल यात्रुलाई पनि सहज भएको छ।

मंसिर १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्