रास्वपाको राजनीतिक मार्ग ‘बहुलवादी लोकतान्त्रिक’

फाइल तस्बिर।

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लेऔपचारिक रुपमा पार्टीको राजनीतिक मार्गको टुंगो लगाएको छ।

महोत्तरीको जलेश्वरमा दुई दिनदेखि जारी पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट मुख्य औपचारिक राजनीतिक मार्ग बहुलवादी लोकतान्त्रिक हुनेछ भनेर निर्णय गरिएको हो।

बैठकले पार्टीको मूल दस्तावेको प्रस्तावना पारित गरेको नेता मुकुल ढकालले जानकारी दिए। ढकालका अनुसार उक्त प्रस्तावनामा रास्वपाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत नै समावेशी समाज निर्माण गर्ने ध्येय रहेको छ।

पारित दस्तावेजमा भनिएको छ, ‘रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासन मार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु हो।’

लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत(साधनको दीगो परिचालनको नीति लिने पनि उक्त प्रस्तावनामा भनिएको छ।

उद्यममैत्री, लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार, श्रमप्रति समर्पित, सामाजिक पुँजीको अभिवृद्धि र जलवायु पर्यावरणीय सन्तुलन कायम राख्न पार्टी प्रतिबद्ध रहेको प्रस्तावनामा उल्लेख छ।

मंसिर १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्