सुपारी निर्यात खुलाउने कसरत तीव्र, सुपारी खेती अवलोकनका लागि संसदीय समिति झापामा

झापा – पूर्वी नेपालका झापाका केही पालिकाहरूलाई सुपारी जोन भनेर घोषणा गरिएको छ । झापाका बुद्धशान्ति, अर्जुनधारा तथा मेचीनगरका अधिकांश किसान सुपारी खेतीमा आश्रित छन् ।

यी पालिकाका किसानले नगदेबालीका रुपमा सुपारी खेतीलाई प्राथमिकता दिएका छन् । सुपारी पाक्न पाएको हुँदैन, बोटमा फलेको सुपारीका दाना हेरेर व्यापारीले दाम गर्छन् र अग्रिम भुक्तानी पनि दिन्छन् ।

त्यस्ता व्यापारी तथा सहकारीले खरिद गरेर राखेका सुपारी विगत एक बर्षदेखि सञ्चित छ । नेपालका विभिन्न उद्योगमा खपत भएर पनि धेरै मात्राको सुपारी सञ्चित रहेको सुपारीकेन्द्रित सहकारी तथा व्यापारीहरूको भनाइ छ । उनीहरू सञ्चित सुपारी भारत निर्यात गर्न चाहन्छन् । तर विगत एक बर्षदेखि सुपारी भारत निर्यात गर्न नपाएको अवस्था छ ।

तर नेपालमा उत्पादित सुपारी मात्र भारत निर्यात नभएर विदेशबाट आयातित सुपारी पनि नेपालका सुपारीसँग मिसावट गरेर भारत पुर्‍याइने गरिएको विगतका घटनाले देखाउँछ । तेस्रा देशहरूबाट आयात गरिएका सुपारी पुनः अर्को देश निकासी गर्न कानुनले दिँदैन । निकासी घरी खुल्ने घरी बन्द हुने परिपाटीले नेपालमा उत्पादित सुपारी पनि भारत निर्यात हुन नपाएको व्यापारीहरूको गुनासो छ ।

यही मेसोमा अहिले भारततर्फ सुपारी निर्यात गर्ने बाटो खुल्ला गर्नका लागि संसद, संसदीय समिति तथा राजनीतिक दलका नेताहरूले पहल थालेका छन् ।

निकासी ठप्प हुँदा सुपारीको चोरी निकासी बढेको सुपारीसम्बद्ध व्यापारीहरूको भनाइ छ । उनीहरूले चाँडो समस्याको समाधान गरी सुपारी भारततर्फ निकासी हुनुपर्ने माग गरेका छन्।

विगतमा सुपारी निर्यात गर्ने अनुमतिपत्र ‘उत्पत्तिको प्रमाणपत्र’ पाउने विषयलाई लिएर विवाद भएका कारण किसानले उत्पादन गरेको ठूलो परिमाणको सुपारी अलपत्र परेको उनीहरूले बताएका छन् ।

नेपालमा प्रमुख रुपमा सुपारी उत्पादन हुने झापा जिल्लाका तीनवटा पालिका अर्जुनधारा, बुद्धशान्ति र मेचीनगर क्षेत्रमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानको नेतृत्वको टोलीले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा नेपालमा उत्पादन भएको सुपारी भारत निर्यात हुन नसक्दा नेपालको पूर्वीद्वार काँकरभिट्टाबाट चोरी निकासी गर्दै भारतसम्म पुग्ने गरेको व्यापारीहरूले बताएका थिए ।

आफ्नो गाउँपालिका क्षेत्रका कृषकहरु पूर्ण रुपमा सुपारी खेतीमा निर्भर रहेको साथै आफू स्वयं सुपारी खेतीमा आश्रित रहेको बताउँदै बुद्धशान्ति गाउँपालिका प्रमुख मनोज प्रसाईंले निर्यातको बाधा फुकाइदिन आग्रह गरे ।

संसदीय समितिका सभापति खानले सुपारी बगानमा आएर अवलोकन गर्दा निर्यात नहुँदा सुपारीबाट ठूलो परिमाणको राजश्व सरकारले गुमाइरहेको स्पष्ट भएको बताए ।

गत कात्तिक १५ गते बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्ने अधिकांश सांसदहरूले चलखेल गरी सुपारी आयात/निर्यातको बाधा फुकाउने काममा समितिलाई अलमल्याउने खोजिएको बताएका थिए ।

उनीहरूले सरकारले वास्तविक सुपारी किसानको तथ्यांक यकिन गर्नुपर्ने आवश्यकतासमेत औँल्याएका थिए ।

नेपालबाट सुपारी निर्यात खोल्न सभामुख देवराज घिमिरे र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल लागिपरेका छन् ।

नेपालबाट भारतमा निकासी हुने सुपारी रोकिँदै/खोलिँदै आएको अवस्थामा अहिले पुनः सुचारू गर्न सभामुख घिमिरे र उद्योगमन्त्री रिजालले तयारी अघि बढाएका हुन् ।

तेस्रो देशबाट आयात सुपारी नेपाल हुँदै भारतीय बजारमा पुर्‍याउँदा धेरै फाइदा हुने भएपछि भारतीय व्यापारीको स्वार्थमा नेपालका सत्तासीन व्यक्ति, राजनीतिक कर्मी र व्यापारीहरु सुपारी निर्यात बन्द गराउने र खोलाउने काममा सक्रिय हुने गरेका छन् ।

सोमबार संसदीय सभापतिहरुको बैठक आह्वान गरेका सभामुख घिमिरेले त्यहाँ सुपारी निर्यात खोल्नुपर्ने धारणा राखेका थिए । सभापतिहरूसँगको औपचारिक बैठकपछि सभामुख घिमिरले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रिजाल र उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिका सभाति अब्दुल खानसँग पछि छुट्टै छलफल गरेका थिए ।

झापा निर्वाचन क्षेत्र भएका घिमिरेले चाँडो सुपारी निर्यातको वातावरण बनाउन मन्त्री रिजालसँग आग्रह गरेको बुझिएको छ । नेपाल सुपारी खेती विकास संस्थाका अनुसार नेपालमा बार्षिक १४ हजार ५ सय ६० मेट्रिक टन सुपारी उत्पादन हुने गरेको छ । झापामा मात्र १० हजार ३ सय ५५ मेट्रिक टन सुपारी उत्पादन हुने गरेको संस्थाले जनाएको छ ।

मंसिर १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्