वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्छौंः रवि लामिछाने

फाइल तस्बिर।

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरू आएको बताएका छन्।

जनकपुर धाममा बुधवार सञ्चारकर्मीसँग उनले अहिले भएको विद्यमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरू आएको बताउँदै शासकीय स्वरुपमा केही कमी कमजोरी रहेको बताए।

उनले शासकीय स्वरुपमा भएका कमी–कमजोरीलाई निर्वाचनबाट मात्रै परिवर्तन गर्न सकिने बताए। उनले परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःख–सुखलाई प्राथमिकतामा राखेर आफूहरुले काम गर्ने पनि बताए।

उनले भने, ‘नीति विचारका बारेमा हामीले दस्ताबेजीकरणको काम गरेका थियौँ। त्यसलाई पास गरेका छौँ। हामी अहिले भएको विद्यमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका दल हौँ। यद्यपि, शासकीय स्वरुपमा केही कमजोरी छन्। यो परिवर्तन गर्ने उपाय भनेको निर्वाचन मात्रै हो।’ सभापति लामिछानेले मधेसलाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टी अघि बढिरहेको पनि बताए।

 

मंसिर १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्