सञ्चार मन्त्रालयका निकाय ‘सिरानीमा सुन राखेर नुन खोज्न हिँड्नेजस्ता’ः मन्त्री शर्मा

फाइल तस्बिर

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मातहतका निकायको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छ।
काठमाडौंमा बुधवार आयोजित ‘गीतसंगीत र रेडियो नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले आफूमातहतका निकाय ‘सिरानीमा सुन राखेर नुन खोज्न हिँड्नेजस्ता’ भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले रेडियो नेपालसहितका सञ्चार मन्त्रालय मातहतका निकायमा सम्पत्ति भए पनि त्यसको सदुपयोग गर्न नसकिएको बताइन्। उनले रेडियो नेपालमा देखिएको समस्या तत्काल समाधान गर्न त्यसका व्यवस्थापनलाई निर्देशन दिइन्। मन्त्री शर्माले पुराना स्रष्टा र सर्जकलाई सम्मान गर्ने कुरामा सरकारले कञ्जुस्याइँ गर्न नहुने पनि पटक–पटक दोहोर्‍याइन्।

मन्त्री शर्माले रेडियो नेपालसहितका निकायलाई प्रभावकारी बनाउन कानुन बाधक भए सो समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको पनि बताइन्। त्यस अवसरमा उनले पुराना स्रष्टा र सर्जकलाई रोयल्टी दिने कुरामा सरकार गम्भीर रहेको समेत बताइन्।

मंसिर १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्