सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा गर्भवतीलाई लक्ष्य गरी सञ्चालन गरिएको ‘आमा घर’ प्रभावकारी बन्दै गएको छ। गैँडाकोट नगरपालिकाको विकट पहाडी क्षेत्रमा पर्ने वडा नं ३ र १८ का सुत्केरीलाई लक्ष्य गर्दै आमाघर सञ्चालनमा ल्याइएको हो।
पहाडी क्षेत्रका महिला घरमै सुत्केरी हुने गरेका भन्दै गैँडाकोट नगरपालिकाले गर्भवतीलाई स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रेरित गर्ने उद्देश्यले गैँडाकोट नगर अस्पतालमा आमाघर सञ्चालनमा ल्याएको हो। घरमा हुने सुत्केरीको सङ्ख्या शून्यमा ल्याउने र सुत्केरी अवस्थामा आउन सक्ने जटिलता घटाउने उद्देश्यले पहाडी क्षेत्रमा बसोबास गर्ने गर्भवतीलाई गैँडाकोट नगर अस्पतालमा आमाघर कार्यक्रम सञ्चालन गरिएको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताए। आमाघर कार्यक्रमलाई नगरपालिकाको नवीनतम् प्रयासका रूपमा लिइएको उनको भनाइ छ।
नगरपालिकाले नगर अस्पतालमा सञ्चालन गरेको आमाघरबाट लक्षित वडाका गर्भवती र उनका कुरुवालाई दुई हप्तासम्म सम्पूर्ण हेरचाह गरिने गैँडाकोट नगर अस्पताल प्रमुख जनस्वास्थ्य निरीक्षक पुष्पराज श्रेष्ठले बताए। “दुई वडाका गर्भवती र उनका कुरुवालाई सुत्केरी हुने मितिले सात दिनअघिदेखि सात दिन पछाडिसम्म खाने र बस्ने सबै सुविधा यहीँ उपलब्ध हुन्छ, त्यसका लागि नगरपालिकाले प्रतिदिन रु आठ सय उपलब्ध गराउँछ”, उनले भने।
“यहाँ राखेको बेलामा जटिल समस्या देखियो भने तत्काल हामीले उपचार गर्न सक्छौँ”, उनले भने, “यहाँबाट समाधान भएन भने पनि भरतपुर सिफारिस गरेर सुत्केरी र नवजात शिशुको ज्यान बचाउन सकिन्छ। गत आर्थिक वर्षबाट सुरु भएको आमाघर कार्यक्रमबाट हालसम्म गैँडाकोटको वडा नं ३ र १८ का ४१ जना लाभान्वित भइसकेका श्रेष्ठले बताए। उनका अनुसार आव २०७९र८० मा २९ जना र चालु आवमा १२ जनाले आमाघरबाट सेवा लिएका छन्।
गैँडाकोट नगरपालिकाभित्र भौगोलिकरूपमा विकट क्षेत्र वडा नं ३ र १८ मा बसोबास गर्ने गर्भवतीलाई लक्ष्य गरी नगर स्वास्थ्य शाखाले ग्रामीण भिडियो एक्स–रे कार्यक्रम सञ्चालन गर्दै आएको नगर स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए। त्यस्तै नगर स्वास्थ्य शाखामार्फत ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रमअन्तर्गत नगरभित्रका प्रतिसुत्केरी रु पाँच हजारका दरले रकम उपलब्ध गराउँदै आएको उनले जानकारी दिए।
मंसिर १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्