छुट्टाछुट्टै हत्याको घटनामा श्रीमान् र ससुरा पक्राउ

जनकपुरधाम – सिरहा प्रहरीले छुट्टा छुट्टै दुई महिलाको हत्या घटनामा श्रीमान र ससुरालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा नगरपालिका – १५ सुखचैनाका ४० वर्षीय देवेन्द्र यादव र कल्याणपुर नगरपालिका ८ बडकी मझाउ टोलका ५१ वर्षीया रामअशिष दास रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

गत बिहीबार राति आफ्नै श्रीमती ३० वर्षीया संजिता कुमारी यादवको हत्या पश्चात फरार रहेका उनलाई शनिबार प्रहरी चौकी खिरौना, इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले माडर–खिरौना बोर्डर आसपासबाट यादवलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए।

गत बिहीबार यादवले आफ्नो श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गरी उपचारको लागी भारतको जयनगर तर्फ लगेको भनी प्रहरीमा सूचना प्राप्त भएको थियो।

प्रहरीले अनुसन्धान गर्दा संजितालाई सोही राति करिब १० बजेको समयमा घरमा रहेको ईट्टा तथा बाँसको भट्टाले कुटपिट गरी हत्या गरेर लाशलाई लिएर भारत तर्फ गएको खुलेको प्रवक्ता पाण्डेले जानकारी दिए।

भारतीय प्रहरीसँग समन्वय गरी खोजतलास गर्ने क्रममा संजिताको शव आइतबार बिहान भारतको मधुबनी जिल्लाको सलरा भन्ने स्थानमा फेला परेको थियो।

यस्तै, गत कार्तिक २७ गते साँझको समयमा कल्याणपुर ८ बड्की मझाउ स्थितमा बस्ने राजकिशोर दासको श्रीमती २७ वर्षीया संगिता कुमारी दासलाई घरायसी बादबिवादका कारण उनका ससुरा दासले छोरा मेला हेर्न गएको अवस्थामा धारिलो हतियार बन्चरोले संगिताको टाउकोमा प्रहार गर्दा घटना स्थलमै उनको मृत्यु भएको थियो। घटना पश्चात दास फरार थिए।
दुबै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

मंसिर १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्