कोशी प्रदेश सरकारको ०८०/८१ को बजेट प्रदेश सभाबाट पारित

मोरङ – कोशी प्रदेश सरकारको ०८०/८१ को बजेट प्रदेश सभाबाट पारित भएको छ। विराटनगरस्थित प्रदेश सभा बैठकमा सरकारबाट बुधबार ल्याइएको ०८०/८१ को विनियोजन विधेयक पारित भएको हो।

गत शनिबार प्रदेश सभामा टेबल भएको विधेयकउपर प्रदेश सभामा घनीभूत छलफलपछि बजेट पारित भएको हो।

प्रदेश सरकारले टेलब गरेको कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको ०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० विनियोजन विधेयकउपर ८ जना सांसदले खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए।

सो प्रस्तावमा प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बजेटमा कानुनको सुविधा प्रयोग गर्दै नमिलेको अवस्था र अन्याय परेको भनिएको स्थितिलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

मुख्यमन्त्री कार्कीको सो अभिब्यक्तिसँगै प्रदेश सभासदस्यहरूले पेश गरेको खर्च कटौतीको प्रस्ताव फिर्ता भएको हो। खर्च कटौतीको प्रस्ताव फिर्ता भएसँगै प्रदेश सभाबाट बजेट अध्यादेश प्रतिस्थापन विधेयक सहमतिमा पारित भएको हो। यसअन्तर्गत मुख्यमन्त्री कार्कीले प्रदेशका लागि ३६ अर्ब ७४ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएका छन्। जसमा बजेटको चालुतर्फ १२ अर्ब ६८ करोड १० लाख विनियोजन गरिएको मुख्यमन्त्री कार्कीले बताएका छन्।

मुख्यमन्त्री कार्कीले पुँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख, वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६६ करोड ७३ लाख विनियोजन गरिएको जानकारी दिए।

त्यसैगरी, खर्च व्यहोर्ने स्रोतका रुपमा आन्तरिक राजस्वमार्फत ४ अर्ब ५७ करोड ७८ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघीय सरकारबाट हासिल हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ८४ करोड २९ लाख तथा नगद मौज्दातबाट ४ अर्ब २५ करोड १ लाख तथा वैदेशिक अनुदानबाट १५ करोड ४ लाख उल्लेख छ।

मंसिर १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्