आठौं पर्वतीय महोत्वस ५ दिनसम्म चल्ने

पोखरा – यो बर्षको पर्वतीय महोत्सव ५ दिनसम्म चल्ने भएको छ। नेपाल पर्वतारोहण संघको आयोजनामा आठौं पर्वतीय महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म हुन लागेको हो। पोखराको रातोपैरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा परिसरमा महोत्सव हुनेछ।
संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस घोषणा गरेपछि नेपाल पर्वतारोहण संघले ८ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आइरहेको छ।

महोत्सवमा बर्डस कन्जरभेसनसँगको सहकार्यमा ‘मिसअन्डरस्टुड बर्डस’ नामक नाटक प्रर्दशन मुख्य आकर्षणको रुपमा रहने महोत्सवका निर्देशक जिनेश सिन्दुल्करले जानकारी दिए।

उक्त नाटक ललितपुरको परोपकारी विद्यालय चिल्ड्रेन एन्ड युथ फस्र्टका विद्यार्थीले मञ्चन गर्नेछन्।
विद्यार्थीहरुले स्टेजमा गिद्धहरुको भेषमा मास्क लगाई गिद्धको महत्वबारे साथसाथै नेपालका चरा तथा जैविक विविधतासम्बन्धी ज्ञान जनसाधारणमा पुर्‍याउने उनको भनाइ छ।

महोत्सवमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र प्रदर्शन गरिने भएको छ। महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र मञ्चन हुनेछन्।

महोत्सवमा पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको फोटो प्रदर्शनीसमेत गरिने महोत्सवकी सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन्।

प्रतियोगितामा यो वर्ष ‘टग अफ वार’ पहिलो पटक समावेश गरिएको छ। ‘यसबाहेक छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको छ,’ उनले भनिन्।

 

मंसिर १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्