नेपालगञ्ज – बाँकेमा एचआइभी/एड्स संक्रमितको संख्या घटेको पाइएको छ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा १७ हजार ३ सय २८ जनामा जाँच गर्दा १०९ जना संक्रमित फेला परेका छन्।

आर्थिक वर्ष २०७८/७९ मा ११ हजार ७ सय ४५ जनाको जाँच गर्दा १५७ जना संक्रमित फेला परेका थिए।

स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन रवीन्द्र शाहले भेरी अस्पतालमा ५ सय ५६ जनाले एआरटी खाइरहेको जानकारी दिए। एड्सबाट अहिलेसम्म बाँकेमा १ सय ७२ जनाको मृत्यु भएको छ।

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा नेपालगञ्जमा नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा स्वास्थ्य कार्यालयलगायतले पत्रकार अन्तरक्रिया गरेको थियो। भेरी अस्पतालका डाक्टर संकेत रिसालले एचआइभी/एड्सका बारेमा जानकारी दिएका थिए।

मंसिर १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्