जनावरले टोकेर उपचारका लागि पुग्ने बिरामीको संख्या बढ्दै

मोरङ – कोशी अस्पताल विराटनगरमा जनावरले टोकेर उपचारका लागि पुग्ने बिरामीको संख्या बढ्दै गएको छ। कोशी अस्पताल विकास समितिका सदस्य हरि भट्टराईका अनुसार पछिल्लो समय अस्पतालमा कुकुर, बिरालो, बाँदरले टोकेर रोबिजविरुद्धको भ्याक्सिन लगाउनेको संख्या बढेको हो।

अस्पतालमा निःशुल्क रूपमा भ्याक्सिनको व्यवस्था रहेको बताएका सदस्य भट्टराईले गएको ४ महिनामा १ हजार ६ सय ७३ जना बिरामीले भ्याक्सिनको उपचार सेवा लिएको जानकारी दिए।

सडकमा खुला छाडिएको कुकुरसँगै घरमा पालेर राखिएको कुकुरको टोकाइबाट सर्वसाधारण उपचारका लागि अस्पताल पुग्ने गरेका छन्। कोशी अस्पतालमा विराटनगरसँगै आसपासका गाउँपालिकाबाट समेत कुकुर, बिरालो, बाँदरले टोकेका बिरामी भ्याक्सिनका लागि पुग्ने गरेको अस्पतालमा रहेको भ्याक्सिन लगाउने वार्डकी इन्चार्ज नर्वदा रजकले जानकारी दिइन्।

भ्याक्सिन लगाउने क्रम प्रत्येक दिन बिहान ८ बजेबाट दिउँसो २ बजेसम्म हुने गरेको बताएकी इन्चार्ज रजकका अनुसार छठ पर्वका समय कुकुरले टोकेर भ्याक्सिन लगाउनेको संख्या बढी रहेको बताइन्।

रजकका अनुसार यसपटकको छठ पर्वको समय दैनिक ४० देखि ४५ जनासम्म नयाँ बिरामी भ्याक्सिन लगाउन आएका थिए। जसमा बढीजसो केटाकेटी छन्।

त्यसैगरी, दुई सातायता अस्पतालमा बाँदरले टोकेर भ्याक्सिन लगाउनेको संख्यासमेत बढ्दै गएको उनको भनाइ छ। विराटनगरमा पर्ने जतुवा र त्यससँगै जोडिएको जहँदा गाउँपालिकाबाट बाँदरले टोकेर उपचारका लागि पुग्नेको संख्या दैनिक ५ जनासम्म पुग्ने गरेको उनले बताइन्।

रेबिजविरुद्धको भ्याक्सिन लगाएपछि तीन महिनाभित्र पुनः जनावरले टोकेको खण्डमा भ्याक्सिन लगाउन नपर्ने अस्पतालकी स्वास्थ्यकर्मी रजकले जानकारी दिइन्।

त्यसपछि पनि जनावरले टोकेको खण्डमा बुस्टर जोडका रुपमा दुईपटक भ्याक्सिन लगाउनुपर्ने उनको भनाइ छ।
कुकुरले टोकेर उपचारका लागि पुगेका जहदा गाउँपालिकाका एक बिरामीले भ्याक्सिन लगाउन समस्या नभएको बताए।

नियमित रूपमा तेस्रो तथा अन्तिम भ्याक्सिन लगाउन अस्पताल पुगेका ती बिरामी सडकमा रहेका कुकुर भन्दा पनि घरमा पालेको कुकुर र बिरालोबाट सतर्क रहनुपर्ने बताउँछन्।

रेविज रोकथामको भ्याक्सिन पर्याप्त रहेको अस्पतालमा रेविज इम्युनोग्लोविन लगाउने कार्य भने रोकिएको छ। असोज १४ गतेबाट अस्पतालमा इम्युनोग्लोबुलिन सकिएको बताएका अस्पताल विकास समितिका सदस्य भट्टराईका अनुसार अस्पतालले केन्द्र सरकार स्वास्थ्य मन्त्रालयमा करिब १० हजार भायल भ्याक्सिन माग गरेको छ।

अस्पतालले साउनदेखि कात्तिकसम्म १ हजार ६ सय ७३ जनाले भ्याक्सिन लगाएको जनाएको छ। जसअनुसार साउनमा ५ सय ४६, भाद्रमा ३ सय ७९, आश्विनमा ३ सय ७५ र कात्तिकमा ३ सय ७३ जनाले रेबिजविरुद्धको भ्याक्सिन लगाएको तथ्यांक अस्पताल रेडर्कमा छ। यस क्रममा ६ सय ५७ महिला र १ हजार १६ जना पुरुष छन्। अस्पतालका अनुसार ८७ महिला १ सय १३ जना बिरामीले रेबिज इम्युनोग्लोबुलिन लगाएका छन्।

मंसिर १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्