बजार नपाउँदा बारीमै सुक्यो बन्दा

हुम्ला – किसानले फलाएको बन्दाले बजार नपाउँदा बारीमा चिसोले सुक्न थालेको छ। बन्दाको व्यावसायिक खेती किसानले गर्न थालेपछि उत्पादनमा वृद्धि हुँदा बजारको समस्या देखिएपछि किसान चिन्तित भएका हुन्।

सिमकोट गाउँपालिका– २ का अम्मर सिंह भण्डारीले बारीमा लगाएको बन्दाले बजार नपाएपछि बारीमै थन्किएको बताए। उनले तीन रोपनी जग्गामा फलाएको बन्दामध्ये १५ प्रतिशत मात्र बिक्री भएको र अन्य सबै बारीमै रहेको गुनासो गरे।

उनको १५ क्विन्टलभन्दा बढी बन्दा बारीमा चिसोले सुक्न थालेको छ। सिमकोट गाउँपालिका– ५ का धर्मराज रोकायाले पनि आफ्नो बारीको बन्दा बिक्री हुन नपाएपछि तुसारोले सुक्न थालेको बताए।

साढे दुई रोपनी जग्गामा बन्दा लगाएका उनले पहिलो लटको बिक्री गरे पनि यो दोस्रो लटको भने बिक्री नै नभएको बताए।

यसरी व्यावसायिक रूपमा बन्द खेती गर्ने किसान ३० जना भन्दा बढी छन्। उनीहरू सबैको मर्का भने उस्तै छ। बिक्री नहुने भएपछि चिसोका कारण बारीमै राख्न नसकिने भएकाले पशुलाई दिनुपर्ने बाध्यतामा रहेको किसान बताउँछन्।

उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष रामबहादुर भण्डारीले बजार सानो तर उत्पादन बढी भएकाले बन्दा बिक्री हुन नसकेको बताए।

उनले किसानले व्यावसायिक रूपमा खेती गर्न थालेको तर उत्पादित बन्दा जिल्लाबाहिर निकासी हुन नसक्ने भएकाले किसान समस्यामा परेको बताए। जिल्लामा एक सय बीस क्विन्टलभन्दा बढी बन्दा बिक्री हुन सकेको छैन।

मंसिर १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्