रैथाने बाली कोदोसम्बन्धी वृत्तचित्र तयार

सिमकोट – जिल्लामा बढी उत्पादन हुने रैथाने बालीमा पर्ने कोदो बाली बारे वृत्तचित्र तयार भएको छ। कोदोको प्रचार प्रसार र संरक्षण तथा बजारीकरणका लागि यो वृत्तचित्र तयार पारिएको हो।

कृषि विकास कार्यालयका प्रमुख धर्मबहादुर शाहीले स्थानीय रैथाने बाली कोदोको संरक्षण, प्रवद्र्धन र बजारीकरण गर्नका लागि वृत्तचित्र “ कोदो ” तयार पारिएको बताए। महत्व नबुझिकनै कोदो बालीलाई कुअन्नका रुपमा लिईदा यसको उत्पादन गर्न किसानले छोड्न थालेपछि यसको महत्व दर्साउन वृत्तचित्र तयार पार्नुपरेको उनले बताएका छन्। सोह्र मिनेट २२ सकेण्ड समय रहेको उक्त वृत्तचित्रमा स्थानीयले परम्परागत रुपमा कोदो लगाउनेदेखि उपभोग गर्ने अवस्थालाई समेटिएको छ।

त्यसैगरी, जग्गामा कोदाको बीउ छर्ने, जोत्ने, गोडमेल गर्ने, टिप्ने र प्रशोधन गर्ने कार्यलाई वृत्तचित्रमा समेटिएको छ। वृत्तचित्रमा किसानका भनाइ पनि समेटिएको छ। यसमा परम्परागत रुपमा कोदोबाट प्रयोग हुने रोटी, ढिडो, तातो, तुक्मालाई पनि समेटिएको छ भने आधुनिक रुपमा बन्ने परिकार मम, केक, सेलरोटी पाउरोटीलगायत तयार पारेर समेटिएको छ। कोदोको प्रकार र हुम्लाका फल्ने कोदोको प्रकारलाई पनि समेटिएको छ।

परम्परागत रुपमा खेती गरिँदै आएको बालीका साथै उच्च पोषणयुक्त बालीका रुपमा कोदोलाई लिइन्छ। साना किसान तथा कठिन भूगोलमा खेती गर्न सकिने बालीमा कोदो पर्छ। दिगो विकास तथा जलवायु अनुकूलनका लागि योग्य बालीका रुपमा पनि कोदोलाई लिइन्छ। कृषि जैविक विविधतामा यसको महत्वपूर्ण योगदान रहने गरेको छ।

कोदोजन्य बालीको जनचेतना जोगाउन आवश्यक देखिएको छ भने पोषण तथा स्वास्थ्य सुधारका लागि नीतिगत पैरवी गर्नु आवश्यक छ।

जलवायु परिवर्तनसँग जुध्नको लागि महत्वपूर्ण हुने अपेक्षा पनि गरिएको छ। नेपालमा कोदोजन्य बालीमा ११ प्रजाति रहेकोमा सात वटा प्रजाति जंगली छन् भने रैथाने प्रजाति ११ सय रहेको कृषि विज्ञले उल्लेख गरेका छन्। यद्यपि, हुम्ला जिल्लामा चार प्रजातिको कोदो लगाउने गरिएको कृषि प्राविधिकले उल्लेख गरेका छन्। कोदोको महत्व, उपयोगिता, स्वास्थ्यका लागि फाइदा, बजार मूल्यका कुरा विज्ञहरूको भनाइ समेटिएको छ।

उनले अब यो वृत्तचित्रलाई प्रचारप्रसारमा ल्याउने बताए। कोदो वृत्तचित्र अन्तर्राष्ट्रिय कोदो वर्षका अवसरमा तयार पारिएको हो।

हिमाली जिल्ला हुम्लामा एक हजार ३५० हेक्टर जग्गामा कोदो खेती गरेर वार्षिक एक हजार ५४० मेट्रिकटन कोदो उत्पादन हुने गरेको छ। पहिले पहिले दुई हजार मिटर उचाईसम्म फल्ने कोदो खेती हाल भने जलवायु परिवर्तनको कारण दुई हजार नौ सय पचास मिटर उचाइसम्म फल्ने गरेको छ।

यसका लागि जिल्लामा कृषि क्षेत्रमा काम गर्ने जिल्ला कृषि विकास कार्यालयदेखि विकास साझेदारमा जिआईजेट र ग्रेप परियोजनाको मुख्य सहयोग रहेको छ। वृत्तचित्र पत्रकार महासंघ हुम्ला शाखाले तयार पारेको हो। सञ्चारकर्मी अविनास लामाले वृत्तचित्रको जिल्लामै सम्पादन गरेका हुन्।

मंसिर २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्