पर्सामा काठ र बालुवा तस्करी बढ्दो

काठ समातिन्छ, तस्कर पक्राउ पर्दैनन्

वीरगञ्ज – पर्सामा काठ र बालुवा तस्करी बढ्दो क्रममा रहेको पाइएको छ। जिल्लामा रहेका सामुदायिक वनबाट तस्करले काठ तस्करी गरिरहेका छन् भने खोलाबाट अवैध रुपमा गिट्टी–बालुवाको पनि तस्करी हुने क्रम बढ्दो छ। पछिल्लो १० दिनकै समयमा प्रहरीले सामुदायिक वनबाट चोरी गरी तस्करीका लागि राखिएको काठ बरामद गर्नुका साथै अबैध रुपमा खोलाबाट चोरी गरि तस्करी गरिएको अवस्थामा बालुवासहित ट्याक्टरसमेत नियन्त्रणमा लिएको छ।

सोही क्रममा पर्सा प्रहरीले मंगलबार साँझ साढे ५ बजे पर्सागढी नगरपालिका–१स्थित कोइलाभार टोलबाट सालको गोलिया बरामद गरेको छ। परालको टालभित्र राखिएको अवस्थामा ७ फिट लम्बाई, मोटाई ४० इन्चको एक थान, ४ फिट लम्बाई, मोटाई ३५ इन्च दुई थान र ४ फिट लम्बाई, मोटाई ३९ इन्च चार थान गरि सात थान सालको गोलिया काठ इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले बरामद गरेको थियो।

उक्त काठ कारवाहीको लागि सब डिभिजन कार्यालय सखुवनिया पर्साको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
यसैगरी १४ गते पनि सखुवा प्रसौनी गाउँपालिका–१ सथवलस्थित चौरमा लुकाई छिपाई राखेको अवस्थामा सालको काठ प्रहरीले बरामद गरेको थियो।
प्रहरी र वन गस्तीको टोलीले ६ फिट लम्बाई र ५ फिट चौडाइ भएको सालको काठ तीन थान बरामद गरी कारवाहीको लागि सब डिभिजन वन कार्यालय बडनिहार बुझाइएको थियो।

यसरी वनबाट काटेर ल्याइएको अवस्थामा पछिल्लो समय काठ बरामद हुनुले तस्करी बढेको स्थानीय बताउँछन्। काठ बरामद भए पनि तस्कर भने पक्राउ पर्ने गरेका छैनन्। काठसँगै तस्करलाई पनि समात्नका लागि डिभजन वन कार्यालयसँगै सब डिभिजन वन कार्यालय पनि लागेको डिभिजन वन कार्यालय पर्साका प्रमुख सुबास दासले बताए।

उनले तस्कर पक्राउ पर्ने गरेको तथा प्रहरी र वन गस्ती टोलीले संयुक्त रुपमा काठे तस्करी रोक्ने काम गरिरहेको दाबी गरे। ‘तस्करलाई पनि काठसँगै पक्राउ गरेका छाँै, सब डिभिजन वन कार्यालयका बन गस्ती टोली पनि तस्करी रोक्न लागेको छ,, उनले भने, ‘सब डिभिजन बन कार्यालयलाई पनि तस्करी रोक्न निर्देशन गरेको छु।’

पछिल्लो समय स्थानीय तहले ठेक्का नलगाएका पर्साको वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिकालगायतमा रहेका खोलाबाट ट्याक्टरमा लोड गरी दिउँसै बालुवा तस्करी हुने गर्छ। वीरगञ्ज महानगरको भेडाहा खोला, पर्सागढीमा रहेको सिँगयाही, करजिनिया खोलाबाट बालुवा तस्करी भइरहेको छ।

सोही क्रममा मंगलबार राति पर्सागढी नगरपालिका–२ छतिवन टाडिबाट करजिनिया नदीबाट चोरी गरी ल्याइरहेको अवस्थामा बालुवा लोड गरिएका तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो।

ट्याक्टरलाई कारबाहीका लागि पर्सागढी नगरपालिकामै पठाई प्रतिट्याक्टर पाँच हजार जरिवाना भएको तथा बालुवासमेत जफत गरिएको छ।

वीरगञ्ज महानगरपालिका र पर्सागढी नगरपालिका दुबै स्थानीय तहले हालसम्म पनि ती खोलाको ठेक्का लगाएका छैनन्। खोलाको ठेक्का लगाउन आईए गर्नमा केही समय लागेकाले भेडाहा खोलाको ठेक्का लगाउनमा ढिलाइ भएको तथा अबको १० देखि १५ दिनमा आइए रिपोर्ट आएपछि ठेक्का लगाउने काम शुरु हुने वीरगञ्ज महानगरका राजश्व शाखाका प्रमुख मनोज कर्णले जानकारी दिए।

पर्सामा तस्करी तथा चोरी–निकासी रोक्न प्रहरी परिचालन गरिएकाले अहिले काठसमेत पक्राउ गरिएको साथै बालुवासहित ट्याक्टरलाई कारवाहीको लागि सम्बन्धित स्थानीय तहमै पठाउने गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।

मंसिर २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्