भीम रावललाई प्रश्न- मध्यपहाडी अभियानमा पार्टीले बोलाएन कि तपाईं जानुभएन?

फाइल तस्बिर।

काठमाडौँ- एमाले नेता भीम रावल पार्टीको दसौँ महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसँग पराजित भएपछि राष्ट्रिय राजनीति र पार्टीमा निष्क्रिय जस्तै छन्।

नेकपा एमालेको जारी मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत नेता रावलकै गृहजिल्ला अछाम र उनका भेगमा चलिरहेका कार्यक्रममा समेत रावल सरिक भएनन्। अछाममा एमालेको कार्यक्रम चलिरहँदा उनी काठमाडौँमा थिए।

संविधान सभा निर्वाचन २०६४(समानुपातिक) २०७० (प्रत्यक्ष) र २०७४मा (प्रत्यक्ष) निर्वाचित प्रतिनिधिसभा सांसद हुन् रावल। उनी संविधान निर्माणमा सक्रिय मस्यौदा समिति सदस्य मध्येका एक हुन्।

मुलुकका पूर्व उपप्रधान तथा गृहमन्त्री र एमालेका पूर्व अध्यक्ष रावल अहिले न त कुनै भूमिकामा छन् न त राजनीतिमा पनि पहिलेजस्तै सक्रिय। पार्टीले आफ्नै भेगमा आयोजना गरेको बिषेश अभियानमा नदेखिएका उनलाई यसको कारण र समसामयिक बिषयमा केन्द्रित भएर देस सञ्चारको लागि ईश्वरी बरालले गरेको कुराकानीको सम्पादित अंश।

एमालेको जारी मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियानका कुनै पनि कार्यक्रममा देखिनुभएको छैन पार्टीले नबोलाएको हो की तपाईं नजानुभएको?

अभियानका सन्दर्भमा पार्टीले एउटा निर्देशन जारी गरेर विभिन्न पदमा भएका व्यक्तिहरु संलग्न हुने भनिएको थियो। पदमा नभएका व्यक्तिको हकमा तोकिएका व्यक्ति भनिएको थियो।

न मलाई तोकियो, न पूर्व उपाध्यक्ष पनि सहभागी हुने भन्ने श्रेणी बनाइयो। यसरी कुनै पनि अवस्थामा म सहभागी हुने अवस्था बनेन। अभियान केन्द्रित प्रदेशका अध्यक्षले मलाई फोन गरेर सोध्नुभएको थियो, चिठी पठाउँ कि के गरुँ भनेर। मैले तपाईंहरुको आयोजनामा यो कार्यक्रम भएको भए तपाईंले फोन गर्दा म आइहाल्थे यो केन्द्रीय र राष्ट्रिय कार्यक्रम भएको हुनाले तपाईं पार्टी अध्यक्षसँग कुरा गर्नुस्, जानु भन्नुभयो भने म जान्छु भनें।

निर्देशन जारी नभएको भए खुला रुपमा जाने भए त म यत्तिकै जान्थें होला तर तोकिएको हुनाले म त्यसरी जान मिल्दैन भनेर मैले भनें। अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा कुरा गर्दा यो सबै महासचिवले हेरेको हुनाले महासचिवसँग कुरा गर्नुस् भन्नुभएछ।

महासचिवले ‘इच्छा भए गए भैहाल्यो नि’ भनेजस्तो कुरा गर्नुभएछ। तपाई झुलाघाट जानु परेन, अछाम आफ्नै किसिमले गए हुन्छ भनेर सम्बन्धित प्रदेश अध्यक्षले भन्नुभयो। यसबाट मलाई त्यो कार्यक्रममा सहभागी नगराउने भन्ने बुझेँ र म सहभागी हुन सकिन।

आफ्नै गृहजिल्लामा पार्टीको भव्य कार्यक्रम भइरहँदा तपाई चाहिँ कहाँ हुनुहुन्थ्यो?
म अछामको कार्यक्रममा सहभागी भइन। त्यो दिन म काठमाडौँमा नै थिएँ।

मुलुकको पूर्व उपप्रधानमन्त्री तथा हिजोका दिनमा पार्टीको महत्वपूर्ण भूमिकामा रहनुभएको तपाईं आजको पार्टीले आफ्नै भेगमा सञ्चालन गरेको कार्यक्रममा सहभागी हुन नपाउँदा कस्तो महसुस भएको छ?
पाँच दशक भन्दा लामो राजनीतिक यात्रामा पार्टीका अनेक मोर्चाहरु निर्माण गरें। पार्टी विस्तार गरें,संकटको बेला यसको विस्तार गरेँ। पार्टीका नेताहरुबीच विवाद हुँदा ती अन्तरविरोधहरुको समाधान गरेँ।

यो कार्यक्रममा पनि पार्टीको पूर्व केन्द्रीय उपाध्यक्षको हैसियतले पनि बोलाउन सकिन्थ्यो यदि चाहेको खण्डमा। सैद्धान्तिक नीतिगत र देशभक्ति भावनाबाट अघि बढ्ने व्यक्तिलाई प्रश्रय दिनुभन्दा आफ्नो शक्तिलाई कसरी बलियो बनाउने र फरक दृष्टिकोण भएका र मन नपराउने व्यक्तिलाई किन सहभागी गराउने भन्ने मनस्थितिले काम गरेजस्तो लाग्छ।

नेकपा एमालेले जनताको बहुदलीय जनवाद अन्तर्गत यसले जुन मान्यता राखेको थियो हामी के भन्छौँ भने एउटा निर्वाचनदेखि अर्को निर्वाचनसम्मको कुरा गर्नु नै पूर्ण रुपमा गलत हो। यो एकदमै बुर्जुवा शैली हो।

मेरो हकमा मात्रै नभई पार्टीमा महत्वपूर्ण योगदान पुर्‍याएर पनि महत्वपूर्ण राष्ट्रिय कार्यक्रममा सहभागी नै हुन नदिने स्थितिको सिर्जना गर्दा, हामीले विगतमा सबैलाई समेटेर व्यापक रुपमा काम गर्ने फराकिलो सोच बनाएको नेकपा एमालेलाई जनताको बहुदलीय जनवादको सिद्धान्त अनुरुप निश्चित गन्तव्य तोकेर हिँडेर देशप्रेमी भएर मुलुकको स्वाधीनता र अखण्डतालाई बलियो बनाएको हो। आज मुखले मात्रै जतिसुकै बलियो बनाउँछु भनेपनि,समाजवाद ल्याउँछु भने पनि त्यो गन्तव्यमा पाइला अघि बढेको जस्तो महसुस हुँदैन।

एमालेले अहिलेदेखि नै आगामी चुनाव केन्द्रित अभियान गर्नु,नयाँ दलसँग एमाले हच्किएको अभिव्यक्ति आउनुलाई तपाईं कुन रुपमा बुझ्नुहुन्छ?
नेकपा एमालेले जनताको बहुदलीय जनवाद अन्तर्गत यसले जुन मान्यता राखेको थियो हामी के भन्छौँ भने एउटा निर्वाचनदेखि अर्को निर्वाचनसम्मको कुरा गर्नु नै पूर्ण रुपमा गलत हो। यो एकदमै बुर्जुवा शैली हो।

उनीहरुले देशका आधारभूत र मूलभूत समस्या समाधान गर्ने भन्दा एउटा चुनाव गर्छन्, त्यसपछि सरकार गठन, विघटन र को पदमा जाने भन्ने कुरा गर्छन्। अनि फेरि जनतालाई जल्दा बल्दा समस्याबाट बाहिर लैजान्छन्। त्यो पार्टीको सिद्धान्त, मूल्य मान्यतासँग मिल्छ कि मिल्दैन, अब विश्लेषण सबैले गरौँ।

पार्टी अध्यक्ष ओली अलि बढी प्रचारमुखी भएको जस्तो लागेको हो तपाईँलाई?
म मान्छेका व्यक्ति र स्वभावमा टिप्पणी गर्न चाहन्न। प्रचारमुखी हुनुभयो, भएन वा किन हुनुभयो त्यो स्वयम् उहाँलाई नै थाहा हुने बिषय भयो। अन्तर्य के हो, मध्यपहाडी अभियानकै सन्दर्भमा कुरा गर्नुपर्दा पनि त्यहाँको परिवेश कस्तो थियो त्यो मलाई थाहा भएन। म त खालि पार्टीको सिद्धान्त, विधि, प्रणाली र निश्चित गन्तव्यमा विश्वास गर्छु। आज देश बाह्य हस्तक्षेपबाट आक्रान्त छ, हाम्रा सीमा अतिक्रमणमा परेका छन्। पर्यावरण र अर्थतन्त्रमा प्रतिकूल असर परेको छ। महिलाको स्थिति दर्दनाक छ, युवा बाहिरिनु परेको छ। रुस र युक्रेनको युद्धमा नेपालीले ज्यान गुमाएका छन्, त्रिभुवन विश्वविद्यालय र अदालत लगायतका निकायमा बाँडीचुँडी खाउँ भन्ने मात्रै छ।

जुन हामीले संघीयता ल्याएका थियौँ त्यसको विपरीत राष्ट्रिय राजनीति गएको छ। नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सुनकाण्डमा मुछिएका सबैलाई कारबाही भएको छैन, उल्टो अहिले एनसेल प्रकरण आएको छ। यस्तो स्थितिप्रति मेरो चासो र चिन्ता हो।

व्यक्ति हाबी हुँदा पार्टी विभाजन हुनेदेखि प्रभावशाली नेताहरु पाखा लगाउनेसम्मका काम भएका छन्, पार्टी अध्यक्ष ओलीसँग हिजोका दिनमा सँगै काम गर्दा र आज केही पर बसेर पार्टी गतिविधि नियाल्दा कस्तो पाउनुभएको छ?
केपी ओलीसँग मेरो व्यक्तिगत समस्या केही पनि होइन तर गएको निर्वाचनमा उपेन्द्र यादवलाई १७ वटा निर्वाचन क्षेत्रमा छोडियो। कमल थापा अर्को पार्टीको अध्यक्ष हुँदाहुँदै सूर्य चिन्हबाटै टिकट दिइयो, राजेन्द्र लिङदेनलाई झापामा एमालेले सहयोग गर्दा विद्रोह भएको थियो,अर्कै दलको अध्यक्ष एकनाथ ढकाललाई पनि एमालेमा स्थान दिइयो यस्ता क्रियाकलाप पार्टीको सिद्धान्तसँग मिल्दैन।

सिद्धान्तको विकृत मान्यता राख्नेलाई पार्टीमा स्थान दिइयो, तर अछाम जिल्लाबाट मेरो नाम एकल र सर्वसम्मत उमेद्वारमा पठाउँदा चुनावमा बञ्चित गरियो। सुदूरपश्चिम प्रदेशको अधिवेशनमा मलाई बोलाइएन। अछाम जिल्लाको अधिवेशन हुँदा म प्रतिनिधिसभाको बहालवाला प्रत्यक्ष निर्वाचित सांसद थिँए तर त्यहाँ पनि बोलाइएन। फरक मतको कदर गरिनेछ भनेर हाम्रो पार्टीको प्रस्तावनामा लेखिएको छ। पार्टीका सदस्यहरु सार्वभौम हुनेछन् भनेर लेखिएको छ, त्यसलाई अनुशरण गर्नुभन्दा पनि विगतको विकृत राजनीतिलाई प्रश्रय दिएको घटनाक्रम र तथ्यहरुले देखाउँछ।

 

मंसिर २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्