आरती साहका पतिलाई थुनामा फर्काउन सर्वोच्चको आदेश

काठमाडौँ – गर्भवती अवस्थामा हत्या भएको दाबी गरिएकी धनुषाकी आरती साहकी पति मोतिबाबुलाई पुर्पक्षका लागि थुनामा फर्काउन सर्वोच्चले आदेश दिएको छ।

बुधबार न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उच्च अदालत जनकपुरको आदेश उल्ट्याउँदै मोतिबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

धनुषा जिल्ला अदाललते पति मोतिबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। तर जनकपुर उच्च अदालतले जिल्लाको आदेश उल्ट्याउँदै पति र ससुरा दुवैलाई साधरण तारिखमा छाडेको थियो।

ससुरा मदनमोहन ब्याहुत सुडीलाई भने सर्वोच्चले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीसमेतको इजलासले साधरण तारिखमा छाडेको थियो। उनले अनुचित प्रभावमा परेर त्यस्तो आदेश गरेको भन्दै सुनुवाइ समितिमा उजुरीसमेत परेको छ।

गत जेठ ७ गते आरती घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। उनलाई परिवारले हत्या गरेर झुण्याएको आरोप माइति पक्षले लगाएको छ।

गत असार ५ गते जिल्ला अदालत धनुषाले पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियोे। आरती साहको न्यायका लागि भन्दै माइतिघरमा एक सय दिनभन्दा बढी समयदेखि आन्दोलन हुुँदै आएको छ।

मंसिर २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्