ऋणीले धम्की दिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आपत्ति

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले झापाको भीरपाखा रिसोर्ट एण्ड फनपार्क प्रालि तथा बास्कोटा कृषि तथा पशुपालन प्रालिका राजेश बास्कोटाले बैंकविरुद्ध गलत प्रचार गरेको बताएको छ।

बास्कोटाको दुईवटा कर्जामध्ये एउटा कर्जा पूर्ण रुपमा प्रवाह भइसकेको र अर्को कर्जा परियोजना आधारित रहेको र आंशिक प्रवाह भएको अवस्थामा कर्जाको सर्तअनुसार ऋणीको परियोजनाको प्रगति नभएकोले स्वीकृत गर्दाका सर्तअनुसार नै थप कर्जा नभएको बैंकले जनाएको छ ।

राजेश बास्कोटाले बैंकले स्वीकृत गरेअनुसारको कर्जा चार महिनासम्म प्रवाह नगरेको, किस्ता रकम असुल्नको लागि मात्र कर्जा प्रवाह गरेको, राज्यले दिँदै आएको अनुदान रकमबाट वञ्चित गरिएको आरोप लगाएका थिए ।

बास्कोटाले बैंकले व्यावसाय नै बन्द गराएको आरोप लगाउँदै १९ मंसिरमा फेसबुकमा लेखेका थिए ‘नेपाल इन्भेष्टमेन्ट बैंकको गलत नीति व्यवसायको कारण व्यवसाय पूर्ण रुपमा क्षति हुनुका साथै परिवारमा समस्या उत्पन्न गराइएको छ,’ उनले फेसबुकमा यस्तो व्यहोरा लेख्दै धम्कीपूर्ण शब्दहरु पोस्ट गरेका छन् ।

बैंकविरुद्ध विभिन्न आरोप लगाएपछि बैंकले भने बास्कोटाले लगाएको आरोप झुटो भएको भन्दै विज्ञप्ति जारी गरेको हो ।

मंसिर २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्