एनसेलले अब डिजिटल नेपाल बनाउन सरकारलाई सहयाेग गर्ने

काठमडाैँ- एनसेलले अब डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गरेर सरकारलाई योगदान पुर्‍याउने बताएको छ ।

एनसेलको ८० प्रतिशत स्वामित्व स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मूलका शेयरधनी सतिशलाल आचार्यले लिएसँगै अब एनसेल आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्न सरकारलाई योगदान पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ ।

आचार्यले भने, ‘रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो । शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो । सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ । यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीेले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ।’

यस्तै एनसेलले आवश्यक सहमतिहरुका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेको बताएको छ । मोबाइल कनेक्टिभिटी सेवामा मात्र सीमित नभई विभिन्न सेवाहरु प्रदान गर्ने, नेटवर्कको पूर्वाधार विकासलाई निरन्तरता दिने र देशमा प्रविधिले ल्याउने महत्वपूर्ण अवसरहरुको पनि सिर्जना हुने एनसेलले बताएको छ ।

मंसिर २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्