परम्परागत सैन्य सन्धि भएका मुलुकबाहेक नेपाली नागरिकलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति छैनः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री एनपी साउद। फाइल तस्बिर ।

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले परम्परागत सैन्य सन्धि भएका मुलुकहरु भन्दा बाहेक नेपाली नागरिकलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति नरहेको स्पष्ट पारेका छन्।

शुक्रबार बसेको संसदीय समितिको बैठकमा बोल्दै उनले रुस युद्धमा मारिएका नेपालीहरुको शव स्वदेश फर्काउन र सुविधा, सम्बन्धित परिवारमा उपलब्ध गराउनका लागि पनि पहल भइरहेको बताए।

उनले कुनैपनि मानिस सेनाबाट छुट्टिएर बाहिर आएका खण्डमा पनि फिर्ता गराउने काम भइरहेको पनि बताए।

उनले रुस जाने र सेनामा भर्ती हुने अधिकांशहरु विद्यार्थी भिसा, भिजिट भिसा र केही कामदार भिसामा गएको पाइएको बताए।

उनले जुन प्रयोजनले गएका हुन्, त्यो प्रयोजन बाहेक काम गरेको देखिएको हुनाले सरकारको तर्फबाट कन्सुलर डिपार्टमेण्टले दिने गरेर एनओसी लिनुपर्ने प्रवन्ध मिलाइएको बताए।

उनले भने, ‘रुसमा नेपालीहरु भर्ना भएको सन्दर्भमा पनि केही साथीहरुले जिज्ञासा राख्नुभएको छ । रुसमा केही नेपालीहरु हताहत भएको बारेमा यो रुस सरकारले हाम्रो राजदुतावाससँग कन्भर्सेसन गरेको छ । कन्भर्सेसनपछि हामीले वक्तव्य नै निकालेर वक्तव्य दिइसकेका छौँ । हामीले केही परम्परागत सैन्य सन्धी भएका मुलुकहरु भन्दा बाहेक नेपाली नागरिकलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति छैन । जुन दिवंगत युद्धमा मारिएका व्यक्तिहरु छन्, उनीहरुलाई नेपाल फिर्ता गर्नको लागि पाउने सुविधा, सम्बन्धित परिवारमा उपलब्ध गराउनका लागि पनि लेखि पठाइसकिएको छ । नेपालीहरु जुन सेनामा भर्ना भएका छन्, कति संख्यामा छन्, भर्ना भएका नेपालीलाई नेपाल फर्काउन आग्रह गरिसकेका छौँ । कुनैपनि मानिस सेनाबाट छुट्टिएर बाहिर आएका खण्डमा पनि फिर्ता गराउने काम भएरहेको छ । यसो डिटेल हेर्दा विद्यार्थी भिसामा, केही मानिसहरु भिजिट भिसामा र केही कामदार भिसामा गएको पाइएकाले जुन प्रयोजनले गएका हुन्, त्यो प्रयोजन बाहेक काम गरेको देखिएको हुनाले सरकारको तर्फबाट कन्सुलर डिपार्टमेण्टले दिने गरेर एनओसी लिनुपर्ने प्रवन्ध मिलाइएको छ ।’

मन्त्री साउदले रुसी सेनामा भर्ना भएकाहरुलाई फर्काउन रुस सरकारका अधिकारीहरुसँग कुराकानी गरेको बताए।

मंसिर २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्