मनोपरामर्शदाता खिमा रिजालको अन्तर्वार्ता

द्वन्द्वको घाउले आउँदो तीन पुस्तासम्मलाई असर पार्ने छ

केन्द्रीय मनोविज्ञान विभाग कीर्तिपुरबाट मनोविज्ञानमा स्नाकोत्तर, पद्यकन्या क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर र नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेकी अधिवक्ता खिमा रिजालको नयाँ प्रकाशित पुस्तक “अन्तर्मनको रङ्गहरू”ले मानसिक समस्याबाट ग्रसित समस्या र त्यसको निराकरणको विधिलाई उजागर गर्छ । आफ्नो पेशागत सम्पर्कमा आएका सेवाग्राही मानसिक स्वास्थ्य समस्याबाट बाहिर निस्केर नयाँ सोचका साथ समाजमा स्थापित हुने र सहज जीवन व्यतीत गर्ने कोही सेवाग्राहीहरूको अनुभव र उपचार विधिलाई उनले पुस्तकमार्फत् बुझाउने चेष्टा गरेकी छन् ।

त्रिचन्द्र क्याम्पसबाट काउन्सिलिङ साइक्लोजीमा पोष्ट ग्रेजुएट गरेकी रिजालले विपद् व्यवस्थापनमा १४ महिनाको कोर्स गरेकी रिजालको यसअघि प्रकाशित पुस्तकहरू“अविचलित यात्रा” (२०७१), “कालजयी योद्धाहरु” (२०७३) “उज्यालोको खोजीमा संघर्षका पाइला संस्मरण संग्रह” (२०७६) छन् । २०५५ सालदेखि लेख्न थालेकी रिजाल मनोसामाजिक अवस्थालाई मनोवैज्ञानिक पाटोबाट प्रश्न गर्छिन् । वर्षेनी नेपालमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पर्वको रुपमा मनाइन्छ भने लैङ्गिक हिंसा न्युनिकरण भएको छ त ?कि बढ्दो अनुपातमा छ । सबै भन्दा बढी महिलाहरु यस्ता हिंसाको शिकार किन पुग्छन् ? अथवा महिला हिंसाका स्वरुप कस्ता हुन्छन् ? कुन उमेर, समुदाय, वर्ग, जात र क्षेत्रका महिलाहरू प्रभावित छन् ? मानसिक समस्याको बारेमा खुलेर किन कुरा गर्दैनन् ? मानसिक स्वास्थ्य समस्याबाट बाहिर ल्याउन के गर्नुपर्छ ? यिनै विषयमा केन्द्रित रहेर देश सञ्चारले उनीसँग कुराकानी गरेको छ:

तपाईंका चार पुस्तक आइसकेका छन् । अब हामीले तपाईंलाई लेखक भन्ने कि मनोपरामर्शदाता ?
म मनोपरामर्शदाता हुँ भन्न रुचाउँछ ।

कसरी ?

मैले धेरैवटा सेक्टरमा काम गरेँ । र, काम गर्दै जाँदा अहिले साइकोलोजी सम्बन्धी केही टपिकहरुमा आवश्यकता अनुसार अध्ययन गर्न पुगेँ र सेवा पनि यही क्षेत्रमा दिन थालेँ । त्यसैले म मनोविद् भन्न रुचाउँछु । र, पेशाले चाहिँ कानुन व्यवसायी पनि हुँ । लेखनकर्मलाई पनि अगाडि बढाइरहेको छु त्यसो हुँदा लेखकलाई तेस्रो स्थानमा राख्न चाहन्छु ।

समाज पहिलोको तुलनामा अहिले केही खुकुलो बन्दै गएको बुझाइ छ । त्यसो हो भने महिलाहरू मानसिक समस्याको विषयमा खुलेर कुरा गर्न सक्ने भएका छन् ?

मनोपरामर्शदाता भएर सेवा दिन थालेको दश वर्ष भयो मैले । यो दश वर्षको अनुभवका अनुसार भन्ने हो भने महिला अथवा पुरुष (दुवै) खुलेर मनोसमस्या बताउँदैनन् । जस्तै मलाई टिबी लाग्यो भनेर सजिलै भन्न सक्नुहुन्छ । तर मेरो चित्त दुःखेको छ, मन दुःखेको छ, मेरो भावना भड्किदै छ, मन स्थीर छैन, मेरो सोचाइहरू विकेन्द्रीकरण भएको छ, मलाई केन्द्रीकरण गरिदिनुपर्‍यो भन्ने हिम्मत बनाउन अझै पनि दुई चार वर्ष लाग्दोरहेछ । अहिलेको ठूलो जटिला यही हो जस्तो लाग्छ । अहिले पनि महिलापुरुष खुलेर कुराराख्ने भइसक्नु भएको छैन । शारीरिक रूपमा अशक्त हुँदा जसरी उपचारका लागि अस्पताल र डाक्टर समक्ष पुगिन्छ । त्यसैगरी मनमा हुने विचलनहरूलाई “मनको फ्याक्चर” भन्छु यसलाई उपचार गर्ने ठाउँ छ ।

तपाईं अरुको मनोविज्ञान बुझेर उपचार गर्नु हुन्छ । तर तपाई आफैले आफ्नो मनोविज्ञान कति बुझ्नु भएको छ ? कहिले लैङ्गिक हिंसा भोग्नु भयो ?

मलाई लाग्छ ९९ प्रतिशत महिलाहरु लैङ्गिक हिंसाबाट गुज्रिने समाज हो हाम्रो । जेन्डरको हिसाबमा नभए पनि भायलेन्सका रुपमा। जन्मेदेखि अहिलेसम्म भायलेन्सको फिल गर्नु हुन्छ । अझ म त सिंगल छु । दशतिर चाहर्छु । जेन्डर भायलेन्सका रुपमा म पनि छु ।

जीवनमा लैङ्गिक हिंसा परेको कुनै स्मरणयोग्य घटना छ ?

मैले खुलेर भन्नुपर्दा मेरो विवाह भएको केही समयमै श्रीमान बित्नु भयो । म एक्लो भएँ । त्यसपछि उच्च पदमा कार्यरत व्यक्तिदेखि चटपटे बेच्ने व्यक्तिसम्मले वान नाइट स्टे गर्न पाए हुन्थ्यो भन्ने नजरले हेरेको म सम्झिन सक्छु । कसले कुन नजरले हेर्‍यो भन्ने महसुस गरेको थिएँ । त्यो मान्छेको इन्टेन्सन यस्तो छ भनेर थाहा पाएपछि मैले त्यो मान्छेसँग फेस गरेको छैन । मैले आफ्नो रणनीतिहरु चेन्ज गरेको छु । मैले भागेर होइन लडेर अगाडि बढ्नु पर्छ भन्ने हो। अहिले त म टेबलटक गर्न सक्छु । जसले समस्या निम्त्याउन खोजेको छ, ऊ चाहिँ स्वतन्त्र भएर हिँड्ने म चाहिँ अपराधी जसरी भाग्नु पर्ने ? किन ? अब भाग्नु हुँदैन भन्ने भएपछि म लड्न सक्नु भएको हुँ । सोसाइटीको सक्षम महिला हुनुपर्छ भन्नका लागि तपाईको समस्याहरु यस्ता छन् है भनेर सम्झाउँछु गलत नजरले हेर्नेलाई ।

तपाईं त आफै समक्ष हुनुहुन्छ । निडर हुनुहुन्छ । साथै कसले कसरी हेरिरहेको छ, त्यसको अन्दाज लगाउन सक्नुहुन्छ । तपाईलाई गलत नजरले हेर्ने व्यक्तिको मनोविज्ञान बुझेर तपाई आफूलाई सचेत गराउनुहुन्छ तर मनोविज्ञान बुझ्न नसक्ने दिदीबहिनीले कसरी प्रतिरोध गर्ने । कसरी सचेत हुने ?

ठ्याक्कै संकेत यस्तो हुन्छ भनेर म भन्न सक्दिनँ । फरक मान्छेका फरक संकेत हुन सक्लान् । तर किशोरी दिदीबहिनीहरुलाई तालिम दिइरहेको कारण शरीरको निजी अंगहरुमा जसले ध्यान दिएर हेरिरहेको छ, जुन किशोरीले अनुभत गर्‍यो, कसैले हेर्ने, कसैले टच गर्ने भयो भने प्रतिरोध गर्नुस् भनेर सिकाउँछु । अहिलेको समाजको जटिलता हेर्ने हो भने भर्खर मुख बोल्न सक्ने बच्चाहरुलाई पनि यी कुराहरु सिकाउन आवश्यक छ । शरीरको कुन अंगलाई छुन हुने र छुन नहुने भनेर सम्झाउन सकिन्छ । यो सिकाइ परिवारका सदस्यले र स्कुल परिवारले सिकाउन आवश्यक छ । किशोरीको प्राइभेट अंगमा छोयो भने त्यसलाई परिवारका अन्य सदस्यलाई भन्नुपर्छ भन्ने लाग्छ। छोरा बच्चाहरुलाई पनि पढाउन आवश्यक छ । छोरीलाई मात्रै होइन किशोरकिशोरीलाई “इक्वल्ली ट्रेन” गर्नुपर्छ।

हाल दिदीबहिनीहरुले कस्ता खालका हिंसा झेल्नु परेको छ ?

माथिल्लो तहबाट हेर्ने हो भने, एउटा राजनीति क्षेत्रमा लागेको दिदीबहिनीहरुले टिकट सजिलै पाउँदैनन् । टिकट पाए हार्नु पर्छ । जहाँ हार्नेजस्तो छ त्यहाँ टिकट दिइन्छन् । भायलेन्स माथिबाटै छ । अर्को कुरा — व्यक्तिमा निर्भर हुन्छ । महिला र पुरुषको कुरा गर्दा भायलेन्सबाट बाहिर निस्किन गाह्रो हुन्छ । सकस हुन्छ ।
अझ परिवारभित्र महिला हिंसा बढी छ । सम्पत्तिका कारण, अधिकारका कारण, स्वतन्त्रताका कारण, जस्तै फलानोकी श्रीमान त खत्तम रहेछ, त्यही भएर उसको घरबार टिकेन । उसको बुढो त धेरैसँग लागेको रहेछ, त्यसैले ऊ टिकिन । तरभित्रको रियालिटी अरु नै केही छ । हामीले खोज्दैनौं । घरभित्रै विभिन्न खालको साइको सोसल प्रोब्लमबाट गुज्रिनु परेको छ।

सम्बन्धमा दरार केले ल्याइरहेको छ ? सम्बन्ध विच्छेद बढी किन भइरहेका छन् । कस्तो मनोविज्ञानबाट गुज्रिँदा प्रहरी प्रशासनमा उजुरी परेका छन्?

पहिलेको भन्दा अहिले बढी उजुरी पर्नुको कारण हो महिला स्वतन्त्रता र हकअधिकारको सवाल। हाम्रो आमाको पालमा के थियो भने श्रीमानले रातदिन झगडा गरे पनि कुटाइ खाए पनि आमा मौन बसिदिनुहुन्थ्यो । प्रतिवाद गर्नु हुन्थेन । सर्वस्व यही हो, यहाँबाट बाहिर जानु भनेको दुःख पाउनु हो भन्ने हुन्थ्यो । त्यसो हुँदा सम्बन्ध स्थायी हुन्थ्यो । श्रीमान श्रीमती भइरहन्थे । अहिले त्यसरी युवाहरु बढ्न सक्दैनन् । अहिले समानताको कुरा उठाउने युवा पुस्ता भएकाले उजुरी बढी परेको हो । साथै आजको दिदीबहिनीहरु आवाज उठाउने भएका छन् । समानता खोज्दै छन् । उनीहरू श्रीमान अथवा घर परिवारमा निर्भर हुनु परेको छैन । बैदेशिक रोजगारको कुरा हो । रिलेशन सिप भनेको समझदारी हुनुपर्छ । व्यक्तिगत स्वभाव मिलाउने हो । मन मिलेको छैन तर छुटिन नचाहेको खण्डमा हत्यासमेत गर्न पुगेको घटना सुन्नमा आयो । समझदारी हुन सक्दैन भने जबरजस्ती केही हुन सक्दैन ।

महिला हिंसा विरुद्धको विभिन्न अभियान चलिरहेको छ तर हिंसाका घटना न्यूनीकरण हुन सकेको छैन, किन ?

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान त वर्षभरि नै चलाउनु पर्छ भन्ने हो । यसलाई उत्सवको रुपमा मनाइरहेका छन् । यो भायलेन्सको कुरा मात्रै होइन अन्य हिंसाको कुरा पनि छ । परिवारमा राम्रो वातावरण हुुनु पर्‍यो । दिनदिनै झैझगडा भयो भने बच्चाले पनि त्यस्तै सिक्छ । समाजमा हामीले मानसिक रुपमा स्वस्थ्य खालको समाज निर्माण गर्न गर्भवती महिलालाई पनि सचेतना गराउनु पर्‍यो। पेटमा बच्चा हुने दिनदेखि नै राम्रो काम गराउनु पर्‍यो।

तपाईंले दश वर्षे जनयुद्धलाई नजिकबाट देख्नु भएको छ । भुक्तभोगी पनि हुनुहुन्छ । तपाईँलाई द्वन्द्वपीडित पनि भन्न सकिन्छ । यसरी हेर्दा द्वन्द्वले पारेको मानसिक आघात कस्तो खालको छ ?

तपाईंले सोधेको प्रश्नमा एउटा शब्द करेक्शन गर्न चाहन्छु म । त्यो के हो भने— म आफूलाई द्वन्द्वपीडित भन्न रुचाउँदिन । किन भने द्वन्द्वमा म स्वेच्छाले लागेको हुँ । मेरो परिवारको सहयोद्धा सहकर्मी मेरो जीवनसाथी द्वन्द्वमा गुम्नु भएको हो । त्यो अर्थमा म सहिद पत्नी भन्न रुचाउँछु आफुलाई ।

अब द्वन्द्वको आघातको कुरा गर्दा अहिले पनि समस्याहरु झन् भंयकर ठूलठूला भएर देखा परेको छ । जुन अहिले पनि फेस गरिरहनु परेको छ। धेरै प्रतिशत त राज्यबाट महिलाहरू बलात्कृत भए भने केही प्रतिशत विद्रोहीबाट पनि बलात्कृत हुन पुगे । अन्तर्मनका रङ्गहरुमा पनि मैले धेरै कथाहरु उठाएको छ । चरम खालको डिप्रेशनबाट पनि गुज्रिएको देख्न सकिन्छ । जस्तो भित्री कुरा होइन कि जेल पर्ने, तहसनहस हुने । अंगभंग हुने । परिवारको सदस्य गुम्यो । अथवा द्वन्द्वसँग नजोडिएको गाउँलेहरुमा पनि आघात पु¥यो । यसको मतलब धेरै व्यक्तिहरु एन्जाइटिक, चिन्ताजनक बिकारमा पनि पुगेको पनि देख्न सकिन्छ । चरम निराशाबाट गुज्रिनु भएको छ । कतिलाई निको पनि भएको छ, कति निको हुनै सक्नु भएको छैन । यति प्रतिशत भनेर म भन्न सक्दिनँ तर धेरैथोर द्वन्द्वले स्वास्थ्यलाई मानसिक असर चाहिँ पारेको छ।

तपाईंको परिवारमा राज्य पक्षबाट तपाईको श्रीमान मारिनु भयो त्यसपछि तपाई अहिलेसम्म एकल हुनुहुन्छ । यो यात्रामा तपाईले भोगेको मानसिक यातना कस्तो थियो ?एक्लै संघर्ष गर्न कत्तिको सकस हुँदोरहेछ ?

पहिलो कुरा त एकल भन्ने कुरा नै गाह्रो कुरा हो । २०६० फागुन ७ गते जब मारिनु भयो त्यसपछिका दिनमा मेरो श्रीमानको सम्बन्धलाई निरन्तरता दिन सकिनँ । सामाजिक संरचनाले कतिपय काम पनि पर्‍यो। त्यसपछाडिको यात्रामा सबैलाई थाहा भएकै कुरा हो । दुई जना मिलेर घर चलाउने र एकजनाले घर चलाउन गाह्रै हुन्छ । अझ विधवा महिलाले घर चलाउने दुःख त पहाड फोड्नु जस्तै भइहाल्यो । र पनि द्वन्द्वले हामीलाई केही नयाँ दिएको पनि छ । मसँग एकजना साथी मात्रै त गुमेको हो नि, मसँग बाँकी कुरा त छ नि भनेर मैले केही गर्नु पर्छ भन्ने लाग्यो । त्यो केही गर्नु पर्छ भन्ने चाहिँ द्वन्द्वले नै सिकाएको हो । म थाक्नु हुँदैन । आत्तिनु हुँदैन भन्ने लाग्छ । द्वन्द्वले मलाई लड्न मात्रै सिकाएन बलियो भइरहन पनि सिकायो । अलि बढी घचघचायो । त्यो प्वइन्टबाट नगुज्रिएको भए यहाँसम्म पुग्थिन होला ।

एकल महिला भइसकेपछि दुई कित्तामा समाज उभिन्छ । एउटाले सहयोग गर्छ भने अर्कोले होच्याउने गर्छ । तपाई एकल भइसकेपछि तपाईँलाई सँगसँगै लिएर हिँड्ने कोही छन् ?

कोही पनि छैनन् । मैले जहाँ जहाँ सहयोग खोजे कहीँ पनि रित्तो हात फर्किनु परेन । एकाध दिदी हुनुहुन्छ उहाँहरुबाट सकारात्मक सल्लाह पाइरहेँ । म संघर्ष गरेर अगाडि बढेको हुँ । मलाई इन्करेज गर्ने दिदीबहिनीलाई यतिखेर सम्झिन चाहेँ । अर्को कुरा मेरो जीवन साथी मेरो श्रीमानलाई सेकेण्ड मदर भन्छु— दश महिना ऊसँग म बसेको थिएँ । छोटो समयमा उसले मलाई धेरै कुरा सिकाएर गयो । राजनीतिकर्मी भन्दा पनि एकेडेमिक हुनुपर्छ है भन्ने गर्थ्यो।  फिजिकल्ली रुपमा ऊ नभए पनि उसले छोडेर गएको ती स्मरणहरू मलाई मार्गनिर्देशन गरिरहन्छन् । उसले भनेको धेरै कुराहरु अहिले लागू गरेको छु भन्ने लाग्छ ।

समाजमा कमजोरमाथि बढी हिंसा हुन्छ । नेपालको सन्दर्भमा के छ ?

मसँग जति पनि काउन्सिलिङ गर्न आउनु भएको छ उहाँहरु भायलेन्समा हुनुहुन्छ। उहाँहरुले यातना पाएको चार पाँच वर्षपछि घटना बाहिर निकाल्न बाध्य हुनु भएको छ। कतिपय घटना त बिस बाइस वर्षबाट बाहिरिएका छन् । त्यो अवस्था यति ढिलो भइसकेको हुन्छ कि सुसाइड नै गर्न पुगेका छन् । महिला मात्रै नभएर पुरुष पनि यस्ता समस्याबाट प्रताडित छन् । भायलेन्सको प्रकृति विचित्र विचित्र हुन्छ ।

तपाईँले मनोपरामर्श तालिम पनि दिँदै आउने क्रममा अहिले लैङ्गिक हिंसा कुन समुदाय, जाति, वर्ग, क्षेत्र र उमेर समूहमाथि बढी हुन पुगेको छ ? र हिंसा हुनुको पछाडि राजनीति, सामाजिक कसको प्रभाव छ ?

यो चाहिँ हाइ प्रोफाइल भएका महिलाहरूमा बढी लैङ्गिक हिंसा भएको देख्छु म । जुन धेरै मात्रामा बाहिर ल्याउँदैनन् । भित्रैभित्र मिलाउँछन् । तल्लो तहबाट त छिट्टो बाहिरिन्छ, जुन समाधान पनि हुन्छ । भायलेन्सको कुरा गर्ने हो भने जनजातिमा सरल छ । मन मिल्यो भने केही कुरा हुन्छ । अन्य जातिमा कडा छ । खुकुलो कहाँ छ भन्ने पनि हो । भायलेन्सको परिभाषा नै जटिल छ। स्वअनुशासन भएन भने वा सोच्ने तरिकामा परिवर्तन भएन भने कार्यान्वयनमा लगिएन भने गाह्रो हुन्छ ।

मनोसामाजिक समस्या नै जोडेँ— द्वन्द्वको घाउ अहिले पनि चर्किरहेको छ कि सेलाइसकेको छ?

मेरो सोसोलोजीको थेसिस र साइकोलोजीको थेसिसबाट नै स्टार्ट गर्छु । राज्यद्वारा मारिनु भएको महिलाहरुको जिविकोपार्जन के छ ? र अर्को चाहिँ राज्यद्वारा मारिएका सहीद पत्नीहरू समाजमा अन्तरघुलन कसरी भएको छ । मैले कार्गिलको लडाइको थुप्रै आर्टिकल हेरेँ । श्रीलंकाको पनि हेरेँ । त्यो हेर्दा के देखे भने— द्वन्द्वको घाउ त तीन पुस्तासम्मलाई असर पर्दोरहेछ । जस्तै, मेरो उदाहरण दिन चाहेँ— मेरो बच्चा त्यो समय भइदिएको भए उसलाई प्रत्यक्ष असर पर्दोरहेछ । उसले बा भेट्न पाउँथेन । जब बा खोज्थ्योद्धन्द्धको कथा सुरु हुन्थ्यो । मलाई जन्माउनु भएको बाआमा पनि मेरो कारण प्रभावित हुनुभएको छ । किनकि द्वन्द्वकै कारण मेरो श्रीमान गुमे, जसको असर बाआमालाई सधैं चिन्ताको विषय बन्यो । मेरो अवस्थामाथि चिन्ता गर्नुहुन्छ उहाँहरू । अब हामीलाई साइकोलोजी हिसाबले ट्रिट गरिएन भने त यसको लेबल त धेरै बढ्ने क्रम छ । हाम्रो नाङ्गो आँखाले तीन पुस्तालाई नै असर परेको देख्न सकिदोरहेछ । र पनि सिंगल महिलाहरुको सोसाइटीमा अन्तरघुलन सकारात्मक छैन ।

तपाईँ पद्यमकन्या क्याम्पसबाट समाजशास्त्रमा स्नातक र नेपाल ल क्याम्पसबाट स्नातक गर्नु भएको छ । अधिवक्ता पनि हुनुहुन्छ । द्वन्द्वका कारण प्रभाव परेको महिलाहरुको मनोसामाजिक अवस्थालाई सुधार गर्न कानुनी उपचार के हुन्छ ?

यो संक्रमणकालिन न्यायसँग जोडिएको कुरा हो । कानुनको कुरा मात्रै होइन । यो राजनीतिक रुपमा समाधान हुन सक्छ । एउटा फौज्दारी कानुन र अर्को संक्रमणकालिन कानुन न्याय अथवा इन्डिभिज्यूल न्याय पनि भन्न सकिन्छ ।

फौजदारी कानुनबाट द्वन्द्वका समस्याहरु समाधान हुदैनन् । यत्रा मान्छेहरु मारिए । तिनलाई कति खोतल्ने ? सबैलाई सजाय दिएर सकिँदैन । खोतल्दै जाने हो भने अर्को द्वन्द्व स्थापित हुनेवाला छ । त्यसो हुनाले संक्रमणकालिन न्याय, सत्यनिरुपण आयोग र वेपत्ता नागरिक छानबिन आयोगमार्फत् समाधान गरिने मुद्दा हो यो । त्यसैले यो राजनीतिक मुद्दा हो । सम्बन्धित व्यक्तिलाई केन्द्रमा राखेर के गर्दा उसले न्याय पाउँछ भनेर शान्तिपूर्वक काम गर्नु पर्छ भन्ने लाग्छ । र मानसिक पाटोबाट पनि व्यवस्थापन गर्न आवश्यक छ । सय जना गर्भावस्थाका महिलाला मानसिक जाँच गर्ने हो भने चार जना बाहेक सबैलाई यो समस्या देखिन्छ ।

अहिलेको युवामा बढेको त्रासलाई न्यूनीकरण कसरी गर्ने ?

हामीले एक्सेप्ट गर्न जान्यो भने यो त्रास घट्छ । हाम्रो महत्वकांक्षा बढ्यो । हामीमा इकोनोमी क्राइसको अवस्था छ । भौतिक संरचनामा हामी बढी केन्द्रित भएका छौं । आजको भोलि नै सम्पन्न बन्न खोजेका छौ । मेहनत गर्न खोज्दैनौं । यसले मान्छेलाई असर परेको छ । जीवनमा आइपर्ने घटनाहरुलाई स्वीकार्नु पर्छ । भुइँचालो, कोभिड—१९ जस्ता प्राकृतिक घटनालाई स्वीकार्नुको विकल्प छैन । पैसा कमाए मात्रै सफल भइन्छ भन्ने सिकाइयो त्यसैले अहिले युवाहरु पलायन भइरहेका छन् । हिंसा बढिरहेका छ । हामी स—साना कुरामा खुसी हुन सक्यौं भने यस्ता समस्या समाधान हुन सक्छन् ।

तीनै तह सरकारको काम कर्तव्य कस्तो रह्यो भने लैङ्गिक हिंसा न्यूनीकरण हुन सक्छ ?

हामीले पढ्ने बेला सामाजिक शिक्षा र नैतिक शिक्षा पढिन्थ्यो । अब साइकोलोजी बिषय पनि अध्ययन गर्न गराउन जरुरी छ । त्यसो भयो भने सानैदेखि मनोविज्ञानलाई विद्यार्थीले बुझ्न सक्छन् ।

उहाँहरुले साइकोलोजी पढेर आएमा एउटा समस्या समाधान हुन्छ । साथै सचेतना कार्यक्रम चलाउनु पर्‍यो। त्यसपछाडि विभिन्न निकायहरुले आआफ्नो ठाउबाट भूमिका निर्वाह गर्नु पर्‍यो । स्वरोजगार बढाउनु पर्‍यो। राज्यले युवाहरूलाई निराश हुनबाट रोक्नु पर्‍यो । महिला पुरुष दुवैलाई सचेतनाको कार्यक्रम चलाउनु पर्‍यो।

भिडियो स्टोरी:

 

मंसिर २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्