खार्पुनाथको शिवालयमा पुजारीको व्यवस्था गरियो

सिमकोट – खार्पुनाथ गाउँपालिका– ५ को खार्पुमा रहेको शिवालयमा पुजारीको नयाँ व्यवस्था भएपछि मन्दिर दर्शनका लागि भक्तजनलाई सहज भएको छ।

मन्दिरमा पुजारीको व्यवस्था नहुँदा भक्तजनले पूजा र मन्दिर दर्शन गर्न समस्या भएको गुनासो गरेपछि गाउँपालिकाले पुजारीको व्यवस्था गरेको हो।

शिवालय क्षेत्रको नल्न गाउँका स्थानीय रत्नबहादुर शाहीले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको खार्पुनाथ शिवालय क्षेत्रमा रहेको शिव मन्दिरमा पुजारीको व्यवस्था भएको बताए।

यसअघि पुजारी नहुँदा मन्दिर दर्शनका लागि आउने भक्तजनले मन्दिरको दर्शन र पूजाआजा गर्नबाट वञ्चित हुनुपर्ने अवस्था थियो।

सबैतिरबाट गुनासो आएपछि गाउँपालिकाले शिव शर्मा उपाध्यायलाई पुजारीका रुपमा राखेको हो। अहिले पुजारीको व्यवस्था मन्दिरमा भएपछि भक्तजनलाई सहज भएको छ।

पुजारी नहुँदा कतिपय भक्तजनले मन्दिरको बाहिरबाटै दर्शन गरेर फर्कनुपर्ने अवस्था थियो। गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले मन्दिरलाई नियमित सञ्चालन गर्न र पूजापाठ गर्नकै लागि नयाँ पुजारीको व्यवस्था गरिएको बताए।

पुजारीले मासिक गाउँपालिकाले पारिश्रमिक दिने गरी व्यवस्था गरेको छ। यसअघि पनि पटक–पटक पुजारी राख्ने प्रयास गरिए पनि त्यो सफल हुन सकेको थिएन। नयाँ पुजारी मन्दिर राखिएपछि हाल दैनिक रूपमा पूजाआजासमेत सुरु भएको छ।

मंसिर २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्