बुटवल लुम्बिनीले अन्त्य गर्‍यो काठमाडौंको अपराजित यात्रा

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौंको अपराजित यात्रा शनिबार अन्त भएको छ। साविक विजेता काठमाडौं रेजर्स फुटबल क्लबलाई सिजनको पहिलो हार चखाउने क्रममा बुटवल लुम्बिनीले २–१ को जित निकाल्यो।

दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा बुटवलले २ गोलको अग्रता लिएको थियो। जहाँ काठमाडौंले अन्तिम समयमा लगातार गोलको प्रयास गर्दै खेलमा फर्किन कोसिस गरेपनि अन्तिम एकमात्र गोल फर्काउन सक्यो।

पहिलो खेलमा जित हासिल गरेपछि लगातार बराबरी खेलेको काठमाडौंले चौथो खेलमा पराजित हुन पुग्यो। जितसँगै बुटवल ५ खेलमा ७ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। काठमाडौं भने ४ खेलमा ५ अंकका साथ पाँचौ स्थानमा झर्यो।

काठमाडौंलाई पराजित गर्न आफ्नै पूर्व खेलाडी स्टेफन बिनोङले सुरुवाती गोल गरेका थिए। २९औं मिनेटमा बुटवललाई अग्रता दिलाउने क्रममा तामाङको क्रस काठमाडौं गोलरक्षक अभिषेक बरालले राम्ररी क्लियर गर्न नसकेको बललाई बिनोङले जाली चुमाएका थिए। उनको प्रहार कुलदीप कार्कीले गोल लाईन बाट क्लियर गरेपनि दोस्रो पटकमा भने बिनोङको खुट्टामा लागेर बलले जाली चुमेको थियो।

४५औं मिनेटमा बुटवल अग्रता दोब्बर गर्ने राम्रो अवसर चुकायो। एरिक विष्टको फ्रिकिक क्रसबारमा लागेर फर्किदा बुटवलले अग्रता पहिलो हाफमानै दोब्बर बनाउने अवसर गुमाएको थियो।

तर दोस्रो हाफमा बुटवलले अग्रता दोब्बर बनायो। ६१औं मिनेटमा जिलेस्पीको पासमा एरिक विष्टले बक्सको बाहिरबाट गरेको प्रहार फस्टबारको कर्नरबाट गोलमा परिणत भएको थियो।

७ मिनेट थप गरिएको समयको छैठौं मिनेटमा काठमाडौँले गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरेपनि उसको प्रयास सफल भने भएन। एनकेन्गवे जुनियरको पासमा राजीव लोप्चनले काठमाडौंलाई १–२ को अवस्थामा ल्याए। अन्तिम सिटी बज्नु अघि काठमाडौंले गरेको प्रहार सदुपयोग नहुँदा काठमाडौंले सम्भावित बराबरीको मौका समेत चुकायो।

मंसिर २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्