बैंकहरू मिटरब्याजी जस्तो हुनु हुँदैनः अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका बैंकहरू मिटरब्याजी जस्तो हुन नहुने बताएका छन्।

आइतबार झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बैंकले निर्मम साहु, मिटरब्याजी तरिकाले नभएर विकासको लागि सहयोगी र अनकुल संस्थाको रुपमा काम गर्न आवश्यक रहेको बताए।

उनले बैंकहरुले जुन शर्तमा व्यवसायीहरुलाई ऋण दिएको हो त्यो शर्त पालना गर्न आवश्यक रहेको बताए।

उनले बैंक र ऋणहरुबीच ब्याजदर लगायतका विषयमा शर्त पालना नभएर दुवैपक्षबीचको सहमतिमा ब्याजदर घटबढ गर्नुपर्ने बताए।

उनले पछिल्लो समय बैंक र ऋणीहरुबीचको सहमतिमा ब्याजदर घटबढ गर्ने नियमावलीमा लेखिएको भएपनि घट्ने हुँदै नहुने तर बढ्ने मात्रै भइरहेको टिप्पणी गरे।

उनले बैंकले एकलौटी ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरे।

अध्यक्ष ओलीले बैंकहरुले कर्जाको ब्याजदरलाई सिंगल डिजिटमा ल्याउनु पर्ने बताए।

उनले अफ्ठ्यारोमा परेका व्यवसायीहरुलाई केही समयको लागि म्याद थप गरेर उद्यम व्यवसायहरू सहयोग गर्न आग्रह गरे।

उनले बैंकहरुले व्यवसायीको व्यवसाय डुब्न लाग्यो भने साहेयता गरेर त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने अवस्था सिर्जना गर्नुपर्ने बताए।

अध्यक्ष ओलीले अफ्ठ्यारोमा परेको बेला ऋणीहरुको गज्जबको जग्गा रहेछ भन्दै लिलामीमा राख्ने तरिका उपयुक्त नभएको बताए।

उनले निक्षेपकर्ताहरू र ऋण लिएर बैंक चलाइदिनेहरू नै बैंकका आधार भएको बताए।

उनले बैंकमा ऋण लिनेहरू फालाफाल भएकाले अहिले बैंकहरूले ऋण लिनेहरूको महत्व बुझ्न नसकेको बताए।

उनले ऋण लिनेहरुले नै बैंकहरु चलाइदिने, ब्याज तिरिदिने पैसा गतिशील बनाइदिने भएको भन्दै बैंक र ऋणीहरुको सम्बन्ध तनावको रुपमा नभएर सुमधुर हुन आवश्यक रहेको बताए।

उनले भने, ‘बैंकहरुबाट जुन शर्तमा ऋण दिएको छ त्यो शर्त पालना हुनुपर्छ । कुनै कारणवस त्यो शर्त पालना हुनै नसक्ने अवस्था आयो भने दुई पक्षको सहमतिपछि मात्रै बैठकले घटबढ गर्नेछ भन्ने लेख्या हुन्छ । तर, घट् भन्ने त लेख्या मात्रै हो कहिल्यै हुँदै हुँदैन । बढमात्रै हुने हो । त्यो बढ एकलौटी बढ्न नपाउने व्यवस्था हुनुपर्छ । अहिलेको अवस्थामा रहेको ऋणको ब्याजलाई सिंगल डिजिटमा ल्याउनुपर्छ । रिस्टक्चरिङ गर्नुपर्छ । अलिकति म्याद थप गरेर उद्यम व्यवसायहरू अप्ठ्यारोमा परेको बेलामा सहयोग गर्नुपर्छ । कहिले कहिले व्यवसाय डुब्न लाग्यो भने साहेयता गरेर त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने गर्नुपर्छ ।’

उनले अप्ठ्यारो पर्‍यो भने लिलाम गरिहाल्यौं भन्ने खालको भन्ने तरिका उपयुक्त नहुने बताए।  ‘बैंकले निर्मम साहुजी होइन, मिटरब्याजी तरिका होइन बैंकले विकासको लागि सहयोगी र अनकुल संस्थाको रुपमा काम गर्नुपर्छ । बैंकले के बुझ्नुपर्छ भने डिपोजिट कर्ताहरू र ऋण लिएर बैंक चलाइदिनेहरू नै बैंकका आधार हुन् । लोन लिए न बैंक चल्छ पैसा थुपारेर बैंकले के गर्छ ?’ उनले भने।

अध्यक्ष ओलीले वर्तमान सरकारले सर्वभम सत्ताको सम्मान गर्न नसकेको टिप्पणी गरे।

उनले आफू प्रधानमन्त्री भएको बेला बनाएको पोखरा विमानस्थलमा वर्तमान सरकारले उडान भर्न नसकेको भन्दै आपत्ति जनाए।

उनले पोखरा मात्रै नभएर भैरहवा विमानस्थलमा समेत वर्तमान सरकारले जहाज उडाउन नसकेको बताए।

उनले चिनियाँ ठेकेदारले विमानस्थल बनायो भन्दैमा उडान गर्न नदिने विषयलाई सरकारले मान्ने काम राम्रो नभएको बताए।

उनले भने, ‘हामीले हाम्रो सर्वभौम सत्ता हामी सर्वभम देश हौं । सार्वभौम सत्ताको आफैले सम्मान गर्न सकेनौं अरु कसले गरिदिने ? हाम्रो स्वाधिनता र स्वतन्त्रताको आफैँले सम्मान गर्न सकेनौं र त्यसमा आफैँ उभिन चाहेनौं भने कसले उभिने ? हामीले पोखरामा विमानस्थल बनायौं । यो अहिलेको लुते सरकारले किन प्लेन उडाउँदैन त्यहाँबाट ? नउडाएको किन ? मेरो आपत्ति यो हो । हामीले भैरहवामा विमानस्थल बनायौं । किन उडाउँदैन । चिनियाँ ठेकेदार कम्पनीले सस्तोमा ठेक्का पार्‍यो उसले निर्माण गर्‍यो त्यसकारण हुन दिन्न । उडान भर्न दिन्न कसैले भन्छ भने त्यो कुरा नेपालले मान्ने ? जसले सस्तोमा बनाई दिन्छ त्यसैलाई बनाउन दिनुपर्छ । जसले सस्तोमा सामान दिन्छ त्यसैको सामान किन्नुपर्छ ।’

अध्यक्ष ओलीले नेपाल विकासको फड्को मार्न चाहेकाले जसले सस्तोमा बनाइ दिन्छ उसैलाई बनाउन दिनुपर्ने बताए।

उनले जसले सस्तोमा सामान दिन्छ उसको किन्ने र महँगोमा जसले हाम्रो सामान किन्छ उसैलाई सामान बेच्नुपर्ने बताए।

मंसिर २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्