थानकोटमा ज्यान गुमाएकी युवतीको शरीरमाथिबाटै गुडेको थियो ट्रक

सांकेतिक तस्बिर ।

काठमाडौँ- शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका ३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोहीतर्फ जाँदै गरेको प्र.३–०१–००६ ख १३०८ नम्बरको ट्रक डिब्बा गाडीले ठक्कर दियो।

ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरी २ नागढुंगा बस्ने ४० वर्षीय श्रीधर भुर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भए। उनीहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्मिताको शुक्रबार अपराह्न साढे ४ बजे उपचारकै क्रममा मृत्यु भयो।  गम्भीर घाइते भएका श्रीधर भूर्तेलको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। हाल उनको अवस्था सामान्य रहेको परिवारजनले जानकारी दिएका छन्।

घटनापछि प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर थानकोट वृत्तमा राखेको छ।

ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि स्थानीयले शनिबार सडक अवरूद्ध गरे। अवरूद्ध सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो। झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका केही घाइते पनि भए। प्रहरीले चन्द्रागिरी नगरपालिका २ का वडाध्यक्ष भाइकृष्ण तामाङसहित केहीलाई नियन्त्रणमा लिएको थियो।

ट्रकको ठक्करबाट ज्यानै जाँदासमेत ट्रकसँग सम्बन्धित व्यक्तिहरूले पीडित पक्षसँग छलफल नगरेको भन्दै स्थानीय आन्दोलित भएका थिए। उनीहरूले ट्रकको सम्बन्धित समितिलाई छलफलमा बोलाउन माग गर्दै सडक अवरूद्ध पारेका हुन्

सडक अवरुद्ध भएपछि प्रहरीले यथाशीघ्र ठक्कर दिने ट्रकको सम्बन्धित समितिसँग छलफल गर्ने व्यवस्था मिलाउने भनेपछि स्थानीयले अवरोध खोलेका थिए।

घटनामा ज्यान गुमाएकी अस्मिता भण्डारीको माइली दिदीको घर गोकर्ण थलीमा सप्ताह लागेको थियो। सप्ताह सुनेर घर नागढुंगा फर्कने क्रममा थानकोटको खरिबोटमा पुग्दै गर्दा ट्रक र स्कुटर एउटै लेनबाट जाँदै थिए।

बाटो साँघुरो भएका कारण ‍मोडमा पुग्दा मोड्ने बेला ट्रकको बिचको भागले स्कुटरलाई ठक्कर दिँदा स्कुटर अनियन्त्रित भएर पल्टेको र चालक श्रीधर भुर्तेल नालीमा खसेका तथा स्कुटरमा सवार अस्मिता भण्डारी रोडतर्फ ट्रकको चक्का हिँड्नेतर्फ लडेको हुँदा उनको शरीर माथि बाट ट्रक हिँडेको थियो। उनको अवस्था गम्भिर भएकाले अस्मिताको शुक्रबार अपराह्न साढे ४ बजे उपचारकै क्रममा मृत्यु भएको उनका दाइ राधाकृष्ण भण्डारीले बताए। उनले भने- ‘मैलै प्रत्यक्ष नदेखे पनि स्थानीयले भनेको र सिसिटिभीमा देखिएको फुटेजका आधारमा थाहा पाएको हुँ।’

दुर्घटनामा ज्यान गुमाएकी भण्डारीको पशुपति आर्यघाटमा आइतबार दाहसंस्कार भएको पनि राधाकृष्णले जानकारी दिए।

उनले अहिले ट्रकको समितिले घाइतेको उपचारखर्च र शव जलाउनेलगायतका खर्च दिने सहमति गरेपछि शवको दाहसंस्कार गरेको बताए। उनले भने, ‘घाइतेको उपचार र लास जलाउने, पोस्टमार्टम र क्रिया खर्च बेहोर्ने सहमति भएपछि शवको दाहसंस्कार गरेका हौँ। हामीले यतिउति भनेर क्षतिपूर्ति मागेका छैनौँ। छलफलको लागि प्रहरीबाट जहिले खबर आउँछ, हामी जान्छौँ, समितिले के क्षतिपूर्ति दिन्छु भन्छ, त्यहीअनुसार अगाडि बढ्छौँ।’

मंसिर २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्