दुई वर्षमा ३३ केभी प्रसारण लाइनसँग जोडिँदै हुम्ला

सिमकोट – हालसम्म स्थानीयस्तरमा उत्पादित विद्युत्बाट काम चल्दै आएको हिमाली जिल्ला हुम्लामा अब ३३ केभी प्रसारणलाई चाँडै जोडिने भएको छ। यसका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भई त्यसमाथि राय, सल्लाह र सुझाव लिने कार्य पूरा भए पनि प्रसारण लाइनको निर्माण अगाडि बढेको हो।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीको जिम्मा पाएको एनइए इञ्जिनियरिङ लिमिटेडले दुई वर्षभित्र हिमाली जिल्ला हुम्ला ३३ केभी प्रशारण लाइनसँग जोडिने जनाएको छ।

यसका लागि नेपाल विद्युत् प्राधिकरणले टेण्डर आह्वान गरेर निर्माण कम्पनीसमेत छनोट गरी दुई अर्ब ९६ करोडमा सम्झौतासमेत भइसकेको छ।

प्रसारण लाइनअन्तर्गत सदरमुकाम सिमकोट र अदानचुली गाउँपालिकाको तुम्चमा गरी दुई वटा सवस्टेसन निर्माण गरिनेछ।

इन्फ्रास्टक्चर बैंकको सफ्ट लोन भएको कारण दुई वर्षमा निर्माण पूरा हुन नसके प्राधिकरणले बजेटको व्यवस्था आफँै गर्नुपर्ने भएकाले निर्धारित समयमा काम सम्पन्न गर्नुपर्ने बाध्यतात्मक अवस्था छ। ९८ दशमलव २५ किलोमिटर वितरण प्रसारण लाइनमा तार टाँगिनेछ। चंखेली, सर्केगार्ड, अदानुची, खार्पुनाथ र सिमकोट गाउँपालिकाका सात हजार ७६० घरधुरी लाभान्वित हुनेछन्।

सुनुवाइ कार्यक्रममा जिल्ला जनप्रतिनिधि, राजनीतिक दललगायत नागरिक समाजका प्रतिनिधिले प्रसारण लाइनलाई जति सक्दो चाँडो सम्पन्न गरेर हालको लोडसेडिङको समस्याबाट मुक्ति दिलाउन आग्रह गरेका थिए।

मंसिर २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्