विराटनगरको अमाही मार्टले सुरु गर्‍यो सुजुकीको दुईपांग्रे सवारी बिक्री–वितरण

मोरङ – विराटनगरमा अमाही मार्ट प्रालिले सुजुकीको दुईपांग्रे सवारीको आधिकारिक रुपमा बिक्रीवितरण सुरु गरेको छ।
आइतबार विराटनगरमा अमाही मार्टको उद्घाटन गर्दै प्रतिनिधि सभासदस्य योगेन्द्र मण्डलले प्रतिस्पर्धात्मक बजारमा मार्टले जनतालाई लाभान्विन हुने गरी व्यवसाय गर्न आग्रह गरे।

मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित सांसद मण्डलले मार्टले सुरु गरेको नयाँ व्यवसायले जनतालाई सरल र सुविधायुक्त सेवा दिनुपर्नेमा जोड दिए।

मण्डलले नयाँ सामानको बिक्रीभन्दा पनि बिक्रीपछिको सेवा राम्रो र प्रभावकारी बनाउन आग्रह गरे। नेपालका लागि सुजुकी दुई पांग्रे सवारीको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सका महाप्रबन्धक धीरज भट्टराईले बिक्री र सेवा दुवै विषयलाई कम्पनीले विशेष ध्यान दिँदै आएको बताए।

कार्यक्रममा मार्टकी बिक्री प्रमुख सरिता चौधरीले सर्वसाधारणलाई सहज रुपमा मोटरसाइकल तथा स्कुटरका बिक्री–वितरण गर्ने उद्देश्यसहित विराटनगरमा पहिलोपटक नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको जानकारी दिइन्।

मार्टमा सुजुकीले सञ्चालन गरिरहेको महाएक्सचेन्ज मेलाअन्तर्गत पुरानो मोटरसाइकल तथा स्कुटर साटेर नयाँ मोटरसाइकल र स्कुटर खरिद गर्दा आकर्षक छुट पाउने बताइएको छ।

मार्टको उद्घाटनका क्रममा राजेश शर्मा र रञ्जित बहरदारले मोटसाइकल खरिद गरेका थिए। उनीहरुलाई प्रमुख अतिथिसमेत रहेका सांसद मण्डलले चाबी हस्तान्तरण गरेका थिए।

मंसिर २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्