मार्गकृष्णपक्षको चतुर्दशी तिथिलाई लोकोक्तिमा बालाचतुर्दशी भनिन्छ। दिवंगत पितृहरूको उत्तम गति प्राप्त होस् भन्ने उद्देश्यका साथ त्रयोदशीका दिन सायंकालीन समयमा महादीप दान गरिन्छ। शिवालयमा रात्रिकालीन समयमा जाग्राम बसी एकभक्त र एकचित्त रही शिवको आराधनासहित महादीप प्रज्वलन गरी चतुर्दशीको दिन दीपलाई जल प्रवाह गरिन्छ।

संहारकर्ता शिवजीका नाममा पितृहरूको सद्गतिका लागि दीप दान गर्नाले उत्तम गति प्राप्तहुने विश्वासका साथ मृत्यु वरण गरेको वर्षदेखि लगातार तीन वर्षसम्म दीपदान गरी उद्यापन गरिन्छ।

चतुर्दशीका दिन प्रातः स्नान गरेपछि पवित्र जलाशयमा गई महादीपलाई विसर्जन गरी शिवालय परिसरमा बीजारोपण गरिन्छ। भगवान शिव मृगको रुप धारणा गरी मृगस्थलीमा पशुरुपमा विचरण गरेको र उक्त स्थलमा छरेको शतबीज उम्री शिव स्वरुप मृगले खाएपछि सबै पितृहरूको उद्धार भएको प्रसंग उल्लेखित छ।

यवगोधूमधान्यानि तिलाः कङ्गुस्तथैव च।
श्यामाकं चणकं चैव सप्तधान्यमुदाहृतम्।।

जौं, गहूँ, धान, तील, कांगुनु, सामा र चना यी सात प्रकारका धानहरूलाई सप्तधान्य भनिन्छ। यिनै सयौं संख्याका बीजलाई शतबीज भन्ने गरिएको हो। बालाचतुर्दशीका दिन उम्रिन सक्ने स्थलमा पितृशक्तिको नाममा यस्ता बीजहरूलाई रोप्ने कार्य गरिन्छ।

सुवर्णरतिकातुल्यां ब्रीहिमेकं परिक्षिपेत्।
मृगस्थलीं परिभ्रम्य पुनर्जन्म नविद्यते।।

मृगहरू विचरण गर्ने पुण्य मृगस्थली जङ्गलमा परिक्रमागर्दै मनुष्यले एकलाल सुन वा एकरति बराबर धान छर्छ भने पुनर्जन्म लिइरहनु पर्दैन भन्ने शास्त्रीय वचन रहेको छ।

पुजयेत्पशुपं देवं गुह्येशीं परमेश्वरीम् ।
वासुकिंनागराजञ्च तद्दिने परिपूजयेत्।।

बालाचतुर्दशीका दिन देवाधिदेव महादेव पशुपतिका साथै जगताधिष्ठात्री गुह्येश्वरी भगवती र नागराज वासुकिको पूजाका साथ मृगस्थलीको परिक्रमा गर्दै शतबीजारोपण गर्नुपर्दछ। भगवानको पूजा सहित शतबीज छर्नाले समस्त पितृहरूको उद्धार भई आफ्नो पनि कल्याण हुने विषय हेमाद्रीमा उल्लेख भएको छ।
महादीपदान र शतबीजारोपण गर्ने नेपाली मात्राको मौलिक पर्व हो।

यस पर्वमा शतबीज आमाबाबु भएका र नभएका सबैले छर्न सक्छन्। उम्रियोस् भन्नका लागि सतबीऊ माटोमा छर्नुपर्छ। उम्रिएको शतबीज मृगहरूले खाँदा मात्र पितृहरूको उत्तमगति हुन पुग्छ। बालाचतुर्दशी नाम कसरी रह्यो भन्ने सम्बन्धमा निम्नानुसारको संकथन वा किंवदन्ती रहेको छ।

बालानन्द नाम गरेका व्यक्ति आर्यघाटमा मुर्दा पोल्ने ठाउँ नजिकै बसी खाजा खाइरहेका थिए। मुर्दाको टाउको फुटी गिदी निस्किएर खाजामा मिसिन पुग्यो। यसरी मिसिएको खाजा स्वादिलो मान्दै खाए। विस्तारै – विस्तारै मनुष्यको मांस भक्षणका प्रभावले मानवीय गुणले युक्त बालानन्दमा आसुरी स्वभाव हावी हुन पुग्यो र बालासुर नामको राक्षसका रुपमा परिणत हुन पुगे।

थकाली थरका व्यक्तिले आफ्नो साथी बालासुरमा राक्षसी स्वभाव व्याप्त भएको देखे। देख्दै डरलाग्दो विभत्सस्वरुप भएका बालासुरले गर्दा समाज आक्रान्त र भयभीत हुन थाल्यो। थकालीले बालानन्दका मित वृषसिंहलाई बालासुरलाई मार्न लगाए। मित्र बालासुरको हत्याका कारण लामो समय सम्म मानसिक रुपमा विक्षिप्त हुनपुगेका वृषसिंह शिवका भक्त थिए।

राति सपनामा शिवले दर्शन दिंदै त्रयोदशीका दिन दीप दान गरी चतुर्दशीको दिन मृगस्थलीमा शतबीज छर्नाले शिवलोक प्राप्तहुने विषय वरदानका रुपमा प्राप्त गरेका वृषसिंहले बालासुरका नाममा पाशुपत क्षेत्रमा त्रयोदशीका दिन बत्ती बाली चतुर्दशीको दिन शतबीज छर्नाले वैतरणी नदी पार गरी शिवलोक प्राप्त गरेको विषयका आधारमा मार्ग कृष्ण चतुर्दशीलाई बालाचतुर्दशी भन्न थालियो भन्ने लोकोक्ति रहेको छ। विशेष गरी पशुपति, गुह्येश्वरी, वासुकीनाथ र मृगस्थलीको प्रसंग उल्लेख भएतापनि देशभरका शिवालयहरूमा दीपदान र शतबीज छर्ने गरिन्छ। यो पर्वले पितृहरूको मोक्ष र जनावर प्रतिको प्रेमलाई उजागर गर्छ।

मंसिर २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्