एनसेल छानबिन समितिले काम गर्न सक्दैनः पूर्वकार्यवाहक महालेखापरीक्षक खत्री

काठमाडाैँ – पूर्वकार्यवाहक महालेखापरीक्षक सुकदेव खत्रीले सरकारले गठन गरेको एनसेलको शेयर खरिद, बिक्री प्रकरण छानविन समितिले विश्वसनीय ढंगले काम गर्नेमा आशंका व्यक्त गरेका छन्।

मानवअधिकार तथा शान्ति समाजद्वारा आइतबार आयोजित ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’ विषयक नागरिक संवाद कार्यक्रममा उनले छानबिन समितिको विश्वसनीयताप्रति आशंका व्यक्त गरेका छन्।  ‍उनले सरकारको वृत्तिविकास खाएको पदाधिकारीले काम गर्न सक्नेप्रति प्रश्न उठाए। उनले सरकारले गठन गरेको छानबिन समितिले काम नगर्ने बताए। सरकारले आफ्नो पक्षमा ल्याउनका लागि मात्रै समिति गठन गरेको उनको भनाइ छ।

उनले भने– ‘सरकारले छानविन आयोग गठन गर्ने रे तर यो गठन गरेर त्यसले काम गर्दैन । त्यसको विश्वसनीयता, नागरिकले विश्वास गरेको मान्छे छ, छैन त्यो पनि हेरौँ । सरकारी पदाधिकारी वृत्तिविकास खाएका मान्छे राखेर त्यसले केही गर्नसक्छ ? अर्को कुरा भएका कानूनहरु, आयकर ऐन, कम्पनी ऐन, दूरसञ्चार ऐनलाई अवमूल्यन गर्ने काम भएको छ । त्यो ऐनबाटै कार्यान्वयन हुनुपर्छ । आयोग गठन गर्ने भनेको आफ्नो पक्षमा ल्याउनको लागि हो । यहाँ त आवरण छ । यो एउटा चलखेलको माध्यम बनाएको भन्छु ।’

त्यस्तै कार्यक्रममा मानव अधिकारकर्मी कृष्ण पहाडीले स्थानीय तहमा भ्रष्टाचार भइरहेका कारण संघीयतामाथि प्रश्न उठेको बताए। उनले मधेश र जनजातिलाई विश्वासमा नलिइकन संघीयता खारेजीको एकोहोरो रटान गर्नु आत्मघाती हुनसक्ने धारणा राखे। उनले एनसेलको पैसा नखाएकाहरु सत्तामा पुग्ने कोही पनि नभएका भन्दै एनसेल प्रकरणको सम्बन्धमा आफूहरुले आन्दोलन गर्ने जानकारी दिए।

उनले भने – ‘सिंहदरबारको भ्रष्टाचार पनि गाउँ गाउँ गयो । त्यसकारण संघीयतामाथि प्रश्न उठ्यो । जड भनेको चाहीँ के हो त भन्दा भ्रष्टाचार नै हो । कुशासन नै हो । मधेश र जनजातिलाई विश्वासमा नलिइकन संघीयता खारेजीको एकोहोरो रटान गर्नुभयो भने आत्मघाती हुनसक्छ । देशमा एनसेलको पैसा नखाएका, विचौलियाले नचलाएका जो सत्तामा आएपनि धेरै कम मान्छे मात्रै छौँ । हामी आन्दोलन गर्दैछौँ एनसेलको कुरा लिएर ।’

राजनीतिशास्त्रका प्राध्यापक तथा लेखक लोकराज बरालले देशमा गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको मूल्यलाई भित्रैबाट आत्मसात् नगरिएको बताए। उनले नेपालीहरु परिवर्तन गर्न माहिर भएपनि परिवर्तनलाई संस्थागत गर्ने आचरण र संस्कृति भने नभएको बताए। सबैको दिमागमा अस्थिरता मात्रै रहेको भन्दै उनले त्यस्तो सोचाइ राख्नु नहुने बताए। उनले लोकतन्त्रप्रति सबैको प्रतिवद्धता आवश्यक भएको बताए।

मंसिर २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्