कथा हालेर मेलम्चीको पानी काठमाडौँ पुग्दैनः ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।
अध्यक्ष ओलीले मुहान सफा गरेर वा अन्यत्र सारेर भए पनि सरकारले काठमाडौंवासीका लागि सो पानीको व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने बताए।

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राको क्रममा आइतबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार नभएको भए मेलम्चीको पानी काठमाडौंमा पुग्ने अवस्था नै नहुने दाबीसमेत गरे।

त्यस अवसरमा अध्यक्ष ओलीले जनतालाई निरास नहुन पनि आग्रह गरे। एमालेले देशलाई बिग्रन नदिने भएकाले कसैले पनि निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।

अध्यक्ष ओलीले पार्टीको संकल्प यात्राको क्रममा लाखौं जनताको साथ, माया र सम्मान पाएको भन्दै आभारसमेत व्यक्त गरे। यात्राको क्रममा सोमवार (भोलि) उनले दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

मंसिर २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्