सर्वोच्चमा प्रस्तावित न्यायाधीशद्वय ढुंगाना र सुवेदीमाथि गम्भीर अपराधका घटनामा संलग्न भएको आरोप

काठमाडैँ- सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शारंगा सुवेदी उच्च अदालतको न्यायाधीश पदमा रहँदा गैरकानूनी फैसला गरेको उजुरीकर्ताहरुले आरोप लगाएका छन् ।

आईतवार सर्वोच्च अदालतमा प्रस्तावित ६ जना सर्वोच्च अदालतका न्यायाधीशबिरुद्ध परेको उजुरीमाथिको छलफलमा भाग लिँदै उजुरीकर्ता पुष्पप्रसाद गुरागाँईले संविधान र कानुनविपरीत उच्च अदालत पाटनमा रहँदा ढुंगानाले भन्सारको मुद्दा, चमेलियाको मुद्दामा राज्यलाई करोडौं नोक्शान बनाएर मुद्दा फैसला गरेकाले उनको नाम सर्वोच्च अदालतको न्यायाधीश पदका लागि अनुमोदन नगर्न संसदीय समितिका सदस्यहरुलाई आग्रह गरे।

अर्का उजुरीकर्ता चिरिञ्जीविभक्त पौडेलको तर्फबाट बोल्दै खडकभक्त पौडेलले राकेशभक्त पौडेल हत्याकाण्डको फैसलामा पीडित पक्षको समेत सुनुवाई नगरेकाले सारंगा सुवेदीलाई पनि सर्वोच्च अदालतको न्यायाधीशमा गरिएको सिफारिस अनुमोदन नगर्न समितिसमक्ष आग्रह गरे। उनले ३३ किलो सुन प्रकरणका अभियुक्तलाई रिहा गर्ने फैसला पनि सुवेदीले गरेको आरोप समेत लगाए।

सर्वोच्च अदालतका लागि ढुंगाना, सुवेदीसहित ६ जना न्यायाधीश न्यायपरिषद्ले सिफारिस गरेको थियो । उनीहरुविरुद्ध १० वटा उजुरी संसदीय सुनुवाइ समितिमा परेको थियो । सो उजुरीमाथि छलफल सकिएको छ । संसदीय सुनुवाई समितिले उनीहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । समितिको अर्को बैठक मंसिर २९ गते बिहान ११ बजेका लागि बोलाइएको छ ।

मंसिर २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्