श्रद्धाञ्जलि

मेरो प्रिय अभियान सर, अलविदा!

ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस्

सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस्

त्यो फूल हरे मलाई दिई कसरी पछारिस्

कहिलेकाहिँ मनभरि शब्दका बहार आउँदा ती शब्द लेख्न हात काँप्दो रहेछ। मनभरी पिडा र वियोगका छालहरु तैरिँदा पनि लेख्न सुरुवात गर्दा शब्दविहीन हुनुपर्दो रहेछ। लक्ष्मीप्रसाद देवकोटाका माथिका यिनै हरफ मेरा लागि आज प्रिय बने। हो, मेरो राजा, मेरो हिरो, मेरो अभि, मैले सधैँ प्रेमले बोलाउने मेरो प्यारो भतिज, अभियान सरलाई ईश्वरले कसरी लतारिदियो!

चोटले हातमात्र कमाउँदो रहेनछ, दिउँसै अँध्यारो बन्दो रहेछ, दिमाग घुम्दो रहेछ, सोच्ने कुरा हराएर शून्यता मात्र बाँकी रहँदो रहेछ। मेरो सम्बन्धले भतिज तर मैले सम्मान र मायाले सधैँ बोलाउने अभियान सर तिमीलाई किशोर अवस्थामा नै हामीमाझ नरहेको यथार्थ आँखाअगाडि देख्दापनि भावशून्य म कसरी भनौँ अलविदा!

तिमी सवैका प्रिय थियौ, गत ८ मंसिरमा तिम्रो जन्मोत्सव पहिलोपटक हामी सबै सँगै बसेर मनाउन पाएनौँ। भौतिक रुपमा सँगै भएर मनाउन नपाए पनि तिमिलाई धेरै सम्झँदै वर्तमान प्रविधिले नजिक बनाएको सामाजिक सञ्जालमा खुसी साटासाट गरेका थियौं हामीले। एक महिना पनि त भएको छैन।

१८ वसन्त पार गर्दासम्म यो पहिलोपटक थियो जहाँ तिमी हामीबाट टाढा भएर जन्मदिन मनाउँदै थियौ। हामी सम्झनाले निथ्रुक्कै भएका थियौं। प्रविधिले जति नजिक बनाए पनि भौतिक रुपमा सधैँ भइरहने मान्छे नहुँदा नरमाइलो र खल्लो त लागि हाल्दो रहेछ।

तर हामीले सामाजिक सञ्जालमार्फत तिम्रो सुस्वास्थ्य, दिर्घायू र प्रगतिको कामना गरेका थियौं। हाम्रो पुकारमा खै योपटक के कमी भयो, अब तिमी जिन्दगीभरका लागि हामीलाई यादमात्र छोडेर सधैँका लाग अलप भयौ। निष्ठुरी दैवले हाम्रो पुकारलाई लत्याएर जिन्दगीभरका लागि हामीबाट तिमीलाई खोसेर लग्यो।

सायद हाम्रो यो छोटो भेट तिम्रो छैटीको लेखान्त थियो, हाम्रा लागि दुई दिनको पाहुना बनेर यादहरुमा वर्षौं कटाउनका लागि हाम्रो भाग्यमा लेखेको थियो। जो हामी भोग्न विवश भएका छौं। हाम्रो परिवारमा २०६१ मा तिमी हाम्रो परिवारको दोस्रो पुस्ताको पहिलो सन्तान खुशी र हर्ष लिएर आएका थियौ। त्यो हाम्रो खुसी दैवलाई सह्य भएन। १९ वर्ष नपुग्दै तिमी दैवको प्यारो भयौ।

मृत्यु सत्य हो, स्विकार्नु पर्छ तर यस्को पनि नियम, समय र उमेर हुनुपर्ने। यो त हाम्रो सोचाइ रहेछ। यो शून्यताको नियममा कसैको जोर चल्दो रहेनछ। असल थियो, नम्र थियो, सबैसँग मुसुक्क हाँस्ने, मिठो बोल्ने, यी त हाम्रो स्मृतिमा तिमीलाई सम्झिने पक्षका रुपमा सधैँ बाँच्नेछन् अब। तर तिम्रा यिनै मृदु स्वभाव र बोलीले अबका हरेक वर्षहरु तिम्रो विस्मृत अनुहार हाम्रा अगाडि ताजा भएर पटकपटक मुटु गाँठो पारेर अश्रुतुल्य बनाउनेछन् हामीलाई।

१९ वसन्त आइपुग्दासम्म तिम्रो र मेरो सम्बन्ध काका-भतिजभन्दा नजिकको साथी जहाँ सबैथोक एकअर्कालाई बाँडिन्छ, साटिन्छ, सम्म पुगिसकेको थियो। यस्तै भएर बाँच्यौँ, कहिले पनि नमिठो र नराम्रो भएन। तिमी ससाना कुरामा हामीले गर्ने गालीहरुमा सधैँ मुस्कुराउँथ्यौं। अहँ, तिमीले हाम्रा सल्लाह र सुझावलाई कहिले पनि नाइ भनेनौ। सायद हामीलाई जिन्दगीभरी यिनै याद सँगाल्नलाई रैछ क्यार। कहिलेकाहिँ बनावटी कुरा गर्दै तिम्रो मन चोर्दा ‘हावा जे पायो त्यही’ भन्दै हाम्रो विश्वासलाई कायम राख्थ्यौं, परिवारका लागि तिमीले कहिलेपनि कुनै गुनासो गर्ने अवसर दिएनौ। साथीभाइमाझ पनि तिमीले छोडेको छाप जीवनभरका लगि अमिट रहने छन्। कलिलै उमेरमा साथीभाइमाझ परिपक्क थियौ, साथीभाइमाझ तिमी सबैको सहयोगी र परममित्र थियौ। सायद सधैँ टाढा हुनलाई र जीवनभर मिठा सम्झना छोड्नलाई रैछ।

Abhiyan Bhandari
अभियान भण्डारी। (जन्म: २०६१, स्वर्गारोहण: २०८०)

तिमी जिन्दगीको लामो यात्रालाई सम्झेर र स्वास्थ्यका हरेक कुराहरु ख्याल गरेर अहिलेबाटै शरीरका लागि आवश्यकमात्र खानेकुराहरु खान्थ्यौं। स्वास्थ्यलाई यति धेरै ख्याल गर्थ्यौ कि जुन हामी गर्दैन थियौ। यो सबै तिमीले आफ्नो जिन्दगीको दिर्घकालीन समयका लागि थियो होला है। तिमी चाँडै उठेर जिम जाने, फुट्सल खेल्ने, यो बानीले तिमी स्वस्थ थियौ नै, प्रतियोगिताहरुमा तिमीबिनाको टिम नै तयार हुँदैन थियो। सायद साथीहरु तिम्रो प्रतीक्षामा हुन्थे अनि मैदानमा आफ्नो सहभागिताको चिनो स्वरुप तिम्ले जितेर ल्याएको मेडलमा हामी आफूलाई मैदानमा पाउँथ्यौं।

तिम्रो खुसीमा खुसी साँट्दा तिम्रो सदाबाहार मुस्कानले हामीलाई भुतुक्कै पार्थ्यौ। अहिले तिमीबिनाका मेडलहरु तिम्रै पर्खाइमा बसेझै भितामा झुन्डिएका छन्। सायद यिनीहरुले पनि तिम्रो शान्तिको कामना गरिरहेका छन्। अस्ति भर्खरजस्तो लाग्छ तिमीलाई उच्च शिक्षाका लागि अस्ट्रेलियातर्फ बिदाइ गरेको। तिमी सबै थोकमा परफेक्ट थियौ। तर, स्विमिङ तिम्रो लागि नौलो थियो। आज तिमीले त्यही स्विमिङ पुलमा आफ्नो प्राण त्याग्न पुग्यौ। सायद जीवनको गहिराइ बुझेको तिमीले पुलको गहिराइ बुझेनौ कि!

विमानस्थलबाट हामीले जीवनमा प्रगति नै प्रगतिको अशेष शुभकामना दिएर फर्किएको अहिलेजस्तो लाग्छ। सायद ५ महिना तिम्रो यादले वर्षौं जस्तो भएको भएपनि यो छोटो समय हाम्रा लागि बरु नबितिदिएको भए हुन्थ्योजस्तो लाग्छ। हामी थुप्रै नेपालीको नियतिजस्तै ठूलो जहाजमा पठाएर बाकसमा फर्किएको समाचारका साक्षी थियौं। भोगाइको गहिराइमा कति निम्छरो बनिँदो रहेछ है। तिमीले उच्च शिक्षा पूरा गरेर स्वागत गर्न एयरपोर्ट गएको सम्झिँदा मन कस्तरी शीतल हुन्छ। तर तिमि पाँच महिनामा नै यसरी फर्कन्छौ भनेर कुन चाहिँ आमाबुवाले सोच्छ र? तिम्रो मृत शरीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाकसमा देख्दा अर्धचेत बनेका मनहरुबारे के लेखौं, तिमीले भए त केही न केही शब्द भन्थ्यौ होला तर म निशब्द छु।

साँच्चिकै तिम्रो उमेरका हरेक युवाहरुले मोजमस्ती, रमाइलो, गाडी, मोटरसाइकलमा जिद्दी र रमाइलोका लागि अनेकन कुराहरु सुन्दा तिमी यी कुराहरुमा कहिले पनि झुम्मिएनौ, औसतभन्दा संधै माथि रह्यौ। जिम्मेवारीको त्यो हद बन्यौ जसको बयानमा कुनै शब्द छैन्, यही जिम्मेवार मान्छेको अभाव थियो र भगवानले तिमीलाई आफ्नो साथ लगेको?

८० वर्षीय हजुरबुवाले तिम्रो प्रगतिका खबर सोध्नु हुन्थ्यो। त्यसको जवाफ हामीसँग छैन। हामीले ओठ कमाउँदै तिम्रो दुखद समाचार सुनाउँदाको अवस्थाको बारेमा के भनौं, अब परम्पराअनुसार काजक्रियामा तिमीले मिठो शब्दले बोलाउने बुवा (हजुरबुवा) ले तिम्रो तरन-तारन गर्नु हुनेछ। सायद बुवाले मनमनमा तिमीलाई १६ वर्षअघि खस्नुभएको हजुरआमाको ख्याल गरेस् है भन्नु होला। बुवालाई लाग्दो हो, तैंले मैले जस्तो दीर्घजीवन बाँच्नु परेन अनि भोग्नु परेन आफूभन्दा सानाहरुको वियोग, जाँ छस् खुसी बस्। हामीले पनि सोच्ने र भन्ने त्यही नै हो, हाम्रो स्मृतिमा अब तिमी सधैँ १८ वर्षको नै रहिरहने छौं, सायद उमेरमै छाडेर जानेहरु सधैँ युवा नै हुन्छन् होला तिमीजस्तै।

साँच्चिकै तिम्रो उमेरका हरेक युवाहरुले मोजमस्ती, रमाइलो, गाडी, मोटरसाइकलमा जिद्दी र रमाइलोका लागि अनेकन कुराहरु सुन्दा तिमी यी कुराहरुमा कहिले पनि झुम्मिएनौ, औसतभन्दा संधै माथि रह्यौ। जिम्मेवारीको त्यो हद बन्यौ जसको बयानमा कुनै शब्द छैन्, यही जिम्मेवार मान्छेको अभाव थियो र भगवानले तिमीलाई आफ्नो साथ लगेको?

अनि मान्छेको दुखमा सबैभन्दा अघि उभिने स्वभाव तिमीले हामीलाई सिकाएका छौ। परिवारमा आमा, बुवा, काकाकाकीलगायत सबैलाई उत्तिकै प्रेम र माया दिने अनि सबैलाई नतमस्तक बनाउने तिम्रो कृयाकलापको हामी कायल थियौं। जतिसुकै व्यस्त भएपनि अह्राएको काममा सधैँ अगाडि बढेर गर्थ्यौं। मेरो लागि भतिज मात्र होइन, साथी, जिग्री दोस्त बन्यौ। मैले, यसो गरौं, यहाँ जाउँ, यति गर न राजा भनेपछि तिमीले नाइँ भन्नेको कहिले पनि सुन्नु परेन। यी राम्रा कुराहरुले पनि चोट दिँदो रहेछ जीवनमा।

तिम्रो दुखद खबर सुन्दा म जति भावुक भएँ, त्यत्तिकै कठोर पनि। आफ्नो सबैभन्दा नजिक र आफ्नो मनको मान्छे टाढा हुँदा लागेको सबैभन्दा ठूलो चोट सहन अचम्मकै हुँदो रैछ। सम्झिएँ कहिलेकाहिँ ठूलो चोट लाग्दा रगत बग्दैन, अनि दुखेको पनि पत्तो हुँदैन, त्यस्तै भयो सायद, म भावशून्य रहें। म तिम्रो खबरले सायद रित्तिएको थिएँ, खालि थिएँ, सम्झनका लागि र गर्नका लागि के नै थियो र जब तिमी नै थिएनौ। त्यही भएर म सानोसानो कुरामा स्तब्ध हुने र दुखी भइहाल्ने, मलाई पनि तिमीलाई जस्तै मान्छेका दु:खमा आँसु नथामिने तर तिमी नै नहुँदा म कसरी यति कठोर बनेँ, सायद दु:खमा मलाई सम्झाउन तिमी छेउमा पनि त थिएनौ।

तर म तिमी नभएको पल र तिमीले बुनेका हरेक सपना आँखाअगाडि नाचिरहेको देख्छु। तिमी घुमेको, हाँसेको, खाएको, हिँडेको अनि बोलेका साना कुरा पनि तिमी नभएपछि सबैभन्दा धेरै आँखामा आउँदो रैछ।

‘उडायो सपना सबै हुरीले सपना सबै हुरीले।

निश्चल आँखामा सपनाको कस्तो अठोट थियो,

हिमाल जस्तो अचल रहने हाम्रो प्रीति थियो।’

सायद मुरलीधरले यो गीत कुनै बेला यस्तै संयोगका लागि बनाएका थिए होलान्, आज मेरै लागि लेखेझैँ लागेको छ, जिन्दगीमा ठूलो दाजु र भाउजुको, अनि बुवाको कति धेरै सपना थिए होलान्, हरिद्वारमा गएर ब्रतबन्धको विधि फुकाइएको थियो, धुमधामले विवाह गर्ने, अनि उसको पढाइ पूरा भएको दीक्षान्तमा उपस्थित हुने। उसका भविष्यका ठूला सपनाको सबैभन्दा नजिकको साक्षी बस्ने अनेक रहरहरु एक्कासी नमिठो कल्पना बनेर निमोठिँदा टेकेको पृथ्वी भाँसिएझैँ हुँदो रहेछ। सबै कुराहरु निरस र निरर्थक देखिँदो रहेछ। उच्च शिक्षा र असल चरित्रसँगै बुढेसकालको सहारा अप्रत्यासित रुपमा गुमाउनुको पीडा मर्नेलाई भन्दा बढी बाँच्नेलाई हुँदो रैछ अभियान सर!

तिमीले हामीलाई पिडा मात्र छोडेका छैनौं, जीवनको भ्रम र वास्तविकताको ठूलो पाठ दिएका छौ। हामी अनेक सपना बनाउँछौं, कतिको मन पनि दुखाउँछौं तर क्षणभंगुर संसारमा तिमीले जस्तो सम्बन्ध मात्र बनाउन सक्नु पनि आफैँमा ठूलो उपलब्धि रै छ। सपनाहरुको महलहरु ढल्न धेरै समय लाग्दो रहेनछ। त्यहाँबाट पनि उठ्नुको विकल्प त के नै रै छ र?

अनेक सपना आँखाअगाडि सिसा टुटेझैँ क्षणभरमै चकनाचुर भए। कसरी मन मान्छ दाजुभाउजु अनि बुवाको। जति चोट हामी सबैलाई छ त्यो उहाँहरुको अगाडि सायद फिक्का हुन्छ। सायद अरु कसैको भएको भए तिमले सम्झाउँथ्यौं होला, आज तिम्रो चोटमा अरुलाई समाल्नु पर्दाको अनुभुति साँच्चिकै हृदयविदारक छ। परिवारका आँखामा आँसुमात्र बगेका छैनन्, त्यहाँ सपना बगेका छन्, भविष्य बगेको छ, सबैभन्दा ठूलो कुरा सहारा बगेको छ।

परिवारको वियोगमा साथ दिन आउनेहरुसँग पनि सम्झाउने शब्द नै के हुँदो रहेछ र, सायद अल्पायू र दिर्घायूमा फरक यही होला। दिर्घायू बाँचेर गएकाहरुको परिवारमा सहानुभूति दिन जाँदा समवेदनाका शब्द हुने रैछ, तर अल्पायूमा नै जानेहरुको परिवारमा सहानुभुति दिन आउनेसँग फेरि फगत आँसुमात्रै हुने रैछ है।

तर तिमीले हामीलाई पिडा मात्र छोडेका छैनौं, जीवनको भ्रम र वास्तविकताको ठूलो पाठ दिएका छौ। हामी अनेक सपना बनाउँछौं, कतिको मन पनि दुखाउँछौं तर क्षणभंगुर संसारमा तिमीले जस्तो सम्बन्ध मात्र बनाउन सक्नु पनि आफैँमा ठूलो उपलब्धि रै छ। सपनाहरुको महलहरु ढल्न धेरै समय लाग्दो रहेनछ। त्यहाँबाट पनि उठ्नुको विकल्प त के नै रै छ र?

धेरै कुराहरु मनमा ल्याएर समालिएको मन विथोलिन के नै पो समय लाग्दो रै छ र? आधुनिक पुस्ताका तिमीहरुले पनि अति माया गरेर सुनेको र गुनगुनाएको सुगम पोख्रेलको यो गीत झनै ताजा भएर मानसपटलमा डुल्दिन्छ।

‘समालिन्छ कहिले मन, कहिले त्यसै अतालिन्छ।

साँच्न खोज्छु आँखामा सपना, आँसुले नै पखालिदिन्छ।’

थाहा छैन कसरी समालिने तर समालिनुको विकल्प पनि त छैन।जब म मान्छेको बिचमा हुन्छु, तिमीलाई नचाहेरै भुल्छु। मलाई तिमी हुँदा एकान्त प्रिय लाग्थ्यो। अचेल भिडभाड रुचाउने भएको छु। जब म भिडमा हुन्छु, काममा हुन्छु, तिमीलाई बिर्सिन्छु। जब एक्लै र एकान्तमा हुन्छु, हातखुट्टा फतक्कै गलेर आउँछन्। कतिपय कुरा त मनले पनि सम्झनु पर्दो रहेनछ। हात, खुट्टा र पैतालाहरुले पनि सम्झाइदिँदा रैछन्। तर म भित्र भावनामात्रै पनि रैनछ तिम्रो याद दबाउने क्रुरता र कठोरपन पनि रैछ। आजभोलि तिमीलाई मानसपटलबाट टाढा राख्न यिनै क्रुरता र कठोरता मेरो साथी बनेका छन्।

तिमीसँग अन्तरङ्ग कुरा गरेर रात कटाउने म अचेल कम्तीमा छिटो निदाउने कल्पनामा ओछ्यानमा ढल्केको हुन्छु। तर मलाई अहिले थाहा भयो निदाउन पनि यत्रो समय लाग्दो रैछ। जब निदाउँछु, तिमी मेरो सपनाको नियमित पात्र बनेका छौ। तिमी सपनामा आउँदा हाँसो, मिठास र खुशी छाएको हुन्छ। तर यो छोटा रातमा तिम्रो तृष्णा नमेटिंदै आँखाले बिहानीको संकेत गर्छ अनि तिमी कतै विस्मृतिमा विलीन हुन्छौ सम्झनाका तरेली छोडेर।

अब मसँग तिम्रो भेट यस्तै सपनामा हुने छ, कहिलेसम्म त्यो पनि थाहा छैन, मेरो मोबाइलमा तस्बीरका रुपमा जिवन्त बाँचेका छौं। तिमीसँग अब भेट हुन्न है भन्ने कुराले मन फेरि भारी हुन्छ। ओठ टोक्छु, आँखा चिम्म गर्छु, लामो श्वास तान्छु। मेरो बसमा बाँकी नै के छ र तिमीलाई स्मरण गर्नुबाहेक म सँग केवल निरीहतामात्र बाँकी छ।

‘हुने हार दैव नटार।’ हामी टार्न सक्दैनौ। तिमीसँग बिताएका हरेक पल स्मृतिमा ताजा बनाएर समालिने प्रयासमा सबै परिवारका सदस्यहरु शान्त र निश्चल छन्। सबैलाई एउटा ठूलो चोटले पिरोलेको नजिकबाट देख्दै गर्दा मन त भन्छ, तिमीलाई जस्ताको त्यस्तै यहाँ ल्याइदिन पाए। यी मनहरु कति खुसी हुँदा हुन् तर अहँ अब तिम्रो माया र मिठो बोलीको स्पर्श सम्झिने मात्र विकल्पमा हामी अभ्यस्त हुनै पर्छ।

तिमीले दिएको माया र प्रेम मैले महसुस गरेको छु। तर अब तिमीसँग बसेर सुखदुख र प्रणहरु र सम्झनाहरु साझा गर्न सक्दिन, यी कुराहरुले दिग्दार बनाउँछ। सबै कुरा अधुरा रहेको आभास दिन्छ। काका-भतिजको सम्बन्धमा मैले भनेजस्तो तिमी मेरो अभिमान सर थियौ। मेरो लागि संधै तिमी सरकै रुपमा रहनेछौ। जहाँ छौ, तिम्रो खुसी यहाँ हुँदाजस्तै रहोस् । तिम्रो आत्माको चिरशान्तिको कामना अभियान सर!

पुस ७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्