यसरी सुरुवात भएको थियो २०६१ सालको दुल्लु विद्रोह

२०६१ सालको दुल्लु विद्रोह, जसले माओवादीलाई दैलेखबाट ‘पत्तासाफ’ गराइदियो

माओवादीले छमगाड खोलाका दुईवटा पुल भत्काइसकेको थियो। सदरमुकाम दैलेख र दुल्लुको सम्पर्क टुटिसकेको थियो। माओवादीको योजना थियो- पुल भत्काएपछि सदरमुकाम दैलेखबाट सेना दुल्लुतिर आउन सक्दैन र आफ्नो तरिकाले गाउँमा जनसरकार चलाउन सक्छौं।

दुल्लु बजारपूर्वको क्षेत्र प्रशासन तथा सेनाको नियन्त्रणमा थियो भने दुल्लुदेखि पश्चिममा माओवादीको दबदबा थियो। दुल्लु बजार सुगम थियो तर दुल्लुभन्दा पश्चिम क्षेत्र तुलनात्मक रूपमा विकट थियो। बाटाघाटा थिएनन्। त्यसक्षेत्रका जनता हरेक कुरामा दुल्लु बजारमा भर पर्थे।

सुर्खेत-तल्लो डुंगेश्वर-पाली-राकम हुँदै कालिकोट, जुम्लासम्म कर्णाली राजमार्ग सञ्चालनमा आइसकेको थियो। माओवादीको जनसरकारले योजना बनायो- कर्णाली राजमार्गमा दुल्लुलाई जोड्ने।

माओवादीको योजना थियो- पश्चिमका गाउँलाई दुल्लुसँग जोड्दै त्यो बाटो दुल्लुभन्दा उत्तरतर्फको डाँडीमाडी हुँदै कालीकोट जोड्ने। तल्लो डुंगेश्वरबाट करिब १७ किलोमिटरमाथि पालीबाट दुल्लु जोड्न बाटो खन्ने जनसरकारको निर्णय भयो। त्यसमध्ये करिब १० किलोमिटर जनपरिचालनमा खन्ने माओवादीको योजना थियो।

दुल्लु, पादुका, नाउले र नेपा गाविसका मान्छेले आधा खन्ने र कुरापानी, बडलग्जी, भैरीलगायतका जनतालाई आधाबाटो खन्न लगाउने योजनाअनुरूप फरुवा, कुटो-कोदालो, हँसिया जे-जे छन् बोकेर बाटो खन्न गाउँलेहरूलाई उर्दी जारी भयो।

२०६१ साल असारको एक बिहान नेपा गाविस सान गाउँ (हाल दुल्लु नगरपालिका-३) का कलम खनाल एक बिहान बाटो खन्न घरमाथिको पाखामा उक्लिए। त्यतिबेला उनी नारिकामूलपालीको श्री कृष्ण निमाविका शिक्षक थिए। ‘दिन ठ्याक्कै त थाहा छैन तर हामीले २२ दिनसम्म बाटो खनेका थियौं’, उनले भने।

खनालका अनुसार उनीहरूले पादुका, नाउलेकटवाल गाउँलगायत विभिन्न ठाउँबाट जनता लिएर आएका थिए र यहाँदेखि यहाँसम्म यो गाउँको भनेर छुट्याइदिएका थिए।

कलम खनाल, उनी श्री कृष्णमाविका पूर्व शिक्षक तथा दुल्लु नगरपालिका वडा न. ३ का नेकपा एमालेबाट पूर्वअध्यक्ष हुन्।
कलम खनाल। उनी श्री कृष्णमाविका पूर्वशिक्षक तथा दुल्लु नगरपालिका वडा न. ३ का नेकपा एमालेबाट पूर्वअध्यक्ष हुन्।

‘हरेक दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म हामीले बाटो खन्थ्यौं। आफ्नो काम छोडेर हरेक दिन त्यसरी जानु पर्दा स्थानीयमा केही आक्रोश थपिएको  थियो। त्यतिबेला द्वन्द्व चरम उत्कर्षमा थियो। माओवादीको अन्य ज्यादती त थियो नै, त्यसमाथि बाटो खन्ने काम थपियो,’ खनालले अनुभव सुनाए।

आम जनतामा गुम्सिएकाे त्यो रिस दुल्लु विद्रोहको तिल्का थियो। त्यतिबेलाका दैलेख जिल्ला जनसरकार प्रमुख त्यहींका स्थानीय थिरबहादुर कार्की थिए। उनी यो घटनालाई दुल्लु विद्रोहोको सुरुवात मान्छन्। उनी भन्छन्, ‘वास्तवमा यताका स्थानीयमा बाहिरबाट आएकाहरूलाई खाना खुवाउनुपरेको पनि आक्रोश थियो भने बाहिर गाउँकाहरूले राम्रोसँग बस्न पाएनौं, खान पाएनौं, पढ्न पाएनौं भन्न थालेका थिए। त्यतिबेलाका इन्चार्ज गोपाल रिजालले जनतालाई साथमा लिन सक्नु भएन।’

एक दिन बाटो खन्ने क्रममा विवाद भयाे र स्थानीयले इन्चार्ज रिजालमाथि नै आक्रमण गरे। हातपात गरे। रिजाल त्यहाँबाट भागे। त्यसपछि त्यहाँ बाटो खन्ने काम बन्द भयो।

माओवादी कार्यकर्ताविरुद्ध स्थानीय प्रतिकारमा उत्रिएको खबर चारैतिर फैलिसकेको थियो।

***

२०६१ साल, दसैं आयो।

रूढिवादी परम्परा भन्दै माओवादीले जमरा कसैले राख्न नपाउने उर्दी जारी गरेको थियो। दुल्लु नपा- ३ (त्यतिबेलाको नेपा गाविसको वडा नं ७) मा मष्टाको मन्दिर छ, जुन दुल्लु बजारदेखि पश्चिममा पर्छ। मष्टा मन्दिरमा पुजारी गगनबहादुर महत थिए। उनका भाइ भीमबहादुर महत माओवादी गाउँ जनसरकार प्रमुख थिए।

मष्टाका धामी तथा पूजारी गगनबहादुरले आफ्नो घरमा ‍जमरा राखेको गाउँलेले थाहा पाए। अरूको घरमा जमरा राख्न नदिने तर माओवादीकै घरमा जमरा राखेको थाहा पाएपछि गाउँले आक्रोशित बने। उनीहरूले एक बिहान गगनबहादुरका भाइ भीमबहादुरलाई समाते र त्यही बेलुका गगनबहादुरलाई पनि समाते।

त्यतिबेलाका शिक्षक कमल खनाल भन्छन्, ‘हामीले त्यतिबेला मष्टा मन्दिरको जाहात (चमार, घण्ट, त्रिशुल लगायत पूजा सामग्री) सहित महतलाई सिमलतोरीबाट धार्खोला लिएर ल्याएर आयौं। गाउँको बीचमा रहेको पिपलको बोट छेउमा नलाग्ने आँसीले धामी (गगनबहादुर) को लट्टा (टुप्पी) काटिदियौं।’

बाटो खन्दा निस्किएको सानो विद्रोहको चिङ्गारी यतिबेलासम्म आगो भइसकेको थियो।

त्यतिबेलासम्म माओवादीकै गाजस (गाउँ जनसरकार) प्रमुख तथा गगनबहादुरका भाइ भीमबहादुर गाउँलेको पक्षमा आइसकेका थिए र उनले पार्टीमा विद्रोह गरे। खनाल भन्छन्, ‘जसमा हामी सबैले साथ दिएका थियौं।’ उनीहरूले धार्खोलाबाट सूर्यनाथलगायतका माओवादी कार्यकर्तालाई लगेर भीमबहादुर कार्कीको घरमा थुने। ‘हामी सबै रातभरि गार्ड बसेका थियौँ,’ खनालले सम्झिए।

भोलिपल्ट नारीमूलपालीको विद्यालयको चौरमा ती माओवादी कार्यकर्तालाई राखियो। चार गाविसमा मान्छे जम्मा भए। माओवादी नेताहरूले त्यहाँ माफी मागे। ‘धार्मिक काममा माओले पनि हारेका थिए, हामीले पनि हार्‍यौं। हामीले यस्तो गर्नु हुँदैनथ्यो। यसका लागि हामीलाई माफ गर्नुहोस्’ भनेर उनीहरू निस्किएको खनालले बताए।

तर, उनीहरू त्यहाँबाट बदलाको भावना बोकेर निस्केका थिए। माथि डाँडातिर देखाउँदै खनालले भने, ‘उनीहरू त्यसैदिन बेलुका माथि अभिचन्द्र नेपालको घरमा बैठक बसेछन् र दिउँसोका कार्यक्रमबाट बनाएर ल्याएको लिष्टमध्ये ६ जनालाई सफाइ (मार्ने) गर्ने र १६ जनालाई अंगभंग गर्ने निर्णय भएछ। हत्या गर्ने भनिएका ६ जनामा उनीहरूकै कार्यकर्ता, जसले विद्रोह गरेका थिए- भीमबहादुर महत, सिमलतोरीकै भोटे महत, कलमबहादुर खनाल, तलिपाउँकी पिट्टु भण्डारी, पानसेनको डिले कामी, र एक जना अर्को नाम थियो।

धार्खोला
धार्खोला।

भोलिपल्ट बिहानै त्यही घरका एकजना आएर खनालका अघि ‘भदै तपाईं अब यहाँ बस्नु भएन’ भनेर रुन थाले। ‘मलगायत केही साथी ज्यान जोगाउन पाकेको बाली, घर परिवार सबै छोडेर दुल्लु गयौं’, खनालले भने।

दैलेख गएपछि प्रशासनले तपाईंहरूलाई केही हुँदैन भन्ने आश्वासन दियो। उनीहरूलाई त्यतिबेलाको शाही नेपाली सेनाले त्यहाँबाट माथिल्लो डुङ्गेश्वर पुर्‍यायो र रानीमताको सेनाले लादेसम्म पुर्‍यायो। उनीहरू हिँडेरै सुर्खेत पुगे। खनालले पछि थाहा पाए- पार्टीविरुद्ध विद्रोह गरेका भीमबहादुर महतलाई श्रम जेलमा हालेछन्। उनले जमिन जोत्ने, खन्ने, गाउँलेको घरमा गएर काम गरेछन्।

यता, दुल्लुमा के हुन्छ? अब नेपा गाविसमा के हुन्छ भनी अरू गाविसकाले भन्न थालेका थिए। नेपा गाविसमा कोही बाँच्दैनन् भन्ने धेरैले अनुमान गरेका थिए। तर त्रासका बीच विद्रोहको आगो भित्र-भित्रै सल्किसकेको थियो जसले डढेलोको रूप दुल्लुमा भएको एक घटनाले लियो।

***

माओवादीकाे सशस्त्र द्वन्द्व चरम उत्कर्षमा थियो। सरकार र माओवादीबीच पटक-पटक भएका शान्तिवार्ता एकपछि अर्को गर्दै विफल भइरहेका थिए। त्यसको प्रतिक्रिया माओवादी र शाही नेपाली सेनाले ठाउँ-ठाउँमा ठूला-ठूला भिडन्त गरेर दिइरहेका थिए। माओवादीले देशैभरि गाउँ स्तरमा आफ्नो जनसरकार बनाएर शासन चलाइरहेको थियो। गाउँलेहरूसँग माओवादीको सम्बन्ध कतै सौहार्द्रपूर्ण थियो भने कतै माओवादीको ज्यादतीका कारण अवस्था नियन्त्रणबाहिर जाने स्थितिमा थियो।

स्थानीय भन्छन्, ‘त्यतिबेला माओवादीले दैलेखमा धेरै ज्यादती गरेको थियो।’ माओवादीका कार्यकर्ता स्थानीय नै हुन्थे र उनीहरूले आफन्तकै घरमा गएर लुटपाट गर्थे। कसैको जेठानले ज्वाइँको घरमा गएर लुटपाट गर्थे, कसैको भाइले दाइको घरमा हप्काउने-दप्काउने गर्थे।

भैरम मन्दिर जहाँ दसैको अष्टमीका दिन ठुलो पुजा लाग्छ।
भैरम मन्दिर जहाँ दसैको अष्टमीका दिन ठूलो पूजा लाग्छ।

जिल्ला तथा वडा स्तरमा माओवादीले जनसरकार गठन गरेका थिए। उनीहरूले नै त्यहाँको स्थानीय सरकार चलाउँथे। दुल्लु नगरपालिका वडा न. ३ का पूर्व अध्यक्ष कमल खनाल भन्छन्, ‘त्यतिबेला उनीहरूको सामान कब्जा गर्ने, वस्तुभाउ कब्जा गर्ने, रुपैयाँ-धानमाल कब्जा गर्ने, मान्छे कब्जा गर्ने र कुटपिट गर्ने छुट्टाछुट्टै समूह हुन्थ्यो। जसकारण त्यतिबेला यहाँको माहोल एकदमै त्रसित थियो।’

माओवादीले जागिर खाएकाहरुको घरमा गएर पार्टीलाई सहयोग गर्नु पर्‍यो भन्दै चन्दा असुल्थे। ‘तिमीहरूले कमाएको यति प्रतिशत हामीलाई दिनुपर्‍यो’ भन्थे। आर्मी-पुलिसमा भएकाहरूको घरमा गएर आफ्ना छोराछोरी फिर्ता बोलाऊ भन्दै परिवारलाई थर्काउथे।

खनाल भन्छन्, ‘त्यति मात्र होइन, माओवादीले त्यतिबेला दैलेखी जनताको आस्थामा चोट पुर्‍याउने काम गरेको थियो।’ माओवादीले धर्म र संस्कृतिमाथि आक्रमण गरेको स्थानीय बताउँछन्। माओवादीले पूजा गर्न नदिने, किरिया बस्न नदिने, कूल पूजा गर्न नदिने, पूजामा देउता बस्न नदिनेलगायतका काम गरेर स्थानीयको आस्थामा आक्रमण गरेका थिए, जुन कुरा उनीहरूको मनमा गहिरो गरी बसेको थियो।

***

०६१ कात्तिक २३ गते। ठाउँ-ठाउँमा भइरहेका साना विद्रोहोका बारेमा सुनिरहेको सेना दुल्लु गस्तीमा थियो। मिलिसियाको कम्ब्याट ज्याकेट लगाएर चिया पसलमा गफ गरिरहेका दुल्लुका राजु बज्राचार्य सेनालाई देखेपछि भाग्न खोजे। चिया पसलबाट ओरालो दौडिरहेकै बेला सेनाले गोली हान्यो। उनी ढले। त्यतिबेला कृष्णा शाह दुल्लु बजारदेखि केही माथि देवनबाडाको आफ्नो घरमै थिइन्। ‘म यहीं घरमै थिएँ, उ… त्यहाँ राजु गोली लागेर ढल्यो’, घरको पिँढीबाट उनले ठाउँ देखाउने प्रयास गरिन्।

गोली चलेको केहीबेरमा छिमेकी लक्ष्मी शाह ‘मान्छे मर्‍यो’ भन्दै कृष्णाको घरमा आइन्। ‘मान्छे  त मर्‍यो तर को मर्‍यो थाहा थिएन। बाहिर कोही निस्कन पाएका थिएनौं,’ सम्झँदै शाहले भनिन्, ‘मान्छेको चहलपहल घटिसकेको थियो। धेरै बेरपछि थाहा भयो, राजु बज्राचार्यलाई गोली लागेको रहेछ।’

भैरम मन्दिर जहाँ दसैको अष्टमीका दिन ठुलो पुजा लाग्छ।
कृष्णा शाह।

‘थाहा थिएन राजुलाई सेनाले मार्‍यो भन्ने,’ शाहले भनिन्, ‘तर केहीबेरमा खबर गाउँभरि फैलियो। राजुको मृत्यु भइसकेको रहेछ।’ राजुको शव सेनाले छेउमै खाल्डो खनेर गाडिदियो। र, स्थानीयलाई भन्यो, ‘यहाँ लाससँगै बम छ। नखोतल्नू।’

यस घटनापछि दुल्लुमा सर्वत्र त्रास फैलियो। शव उधिन्न कसैले आँट गरेनन्। आफन्त र गाउँलेले माओवादी गुहारे। जबरजस्ती वडा जनसरकार प्रमुख (वजस) बनाइँदा राजु मारिएकाले माओवादीले नै शव निकाल्नुपर्ने उनीहरूको माग थियो। शाहका अनुसार राजुलाई माओवादीले केही दिनअघि मात्र जबर्जस्ती वडा इन्चार्ज बनाएका थिए।

राजुमाथि गोली चलेपछि भागेका माओवादी फर्किएर आउन डराए। त्यसपछि धेरै दिनसम्म उनीहरू गाउँमा देखा परेनन्। हत्याको केही दिनपछि गाउँलेहरूले आफैं शव उधिन्ने निर्णय गरे। ‘हामीलाई डर तर थियो, किनभने सेनाले लाससँगै बम छ भनेर गएको थियो,’ लामो सास फेर्दै शाहले भनिन्, ‘लास त निकाल्नु पर्‍यो। अन्त्येष्टि त गर्नु पर्‍यो।’ उनीहरूले सबैको ज्यान जोखिममा नहाल्ने र जोखिमै मोलेर एक जना जाने र शव निकाल्ने निर्णय गरे।

चार दिनपछि गाउँलेहरूले शव निकाले। शाहले भनिन्, ‘बम भेटिएन, सेनाले तर्साउन बम राखेका छौं भनेका रहेछन्। लास निकालेर घर छेउको बाटोमा राख्यौं।’

‘माओवादीकै कारण राजुको मृत्यु भएको हो। आफ्नो मान्छे मर्दा यी माओवादी आएनन्। माओवादीले राजुलाई मर्न पठाए,’ गाउँलेहरूको एकै स्वर थियो।

शव निकालेको थाहा पाएका माओवादीले आफूले शव लिने जानकारी गाउँलेलाई पठाए। गाउँले झनै आक्रोशित बने। यत्रो दिनसम्म चालचुल नगरेका माओवादी शव लिन आए लखेट्ने योजना गाउँलेहरूले बनाए। आक्रोश मिसिएको स्वरमा शाहले भनिन्, ‘पुरुष एक-दुई जना मात्र मलामी जाने र बाँकी सबै महिला जाने योजना हाम्रो थियो। मरे पनि मर्ने तर माओवादी आए भने सबै महिला लड्ने आँट हामीले गरेका थियौं।’

भोलिपल्ट राजुको शव दाहसंस्कारका लागि दुल्लुदेखि उत्तर पश्चिमको पादुका खोला लगियो। चितामा राखिएको राजुको शवमा झण्डा ओढाउन माओवादी कार्यकर्ता आए। त्यो दिन सम्झँदै शाहले भनिन्,  ‘म अलि ढिला पुगेकी थिएँ, उक्त एरियाका सचिव मानबहादुर कार्कीसहित तीन जना आएका रहेछन् र उनीहरूले झण्डा ओढाएछन्।’

झण्डा ओढाइसकेपछि गाउँलेको माओवादी कार्यकर्तासँग विवाद भयो। विवादले हिंसाको रूप लियो। घरेलु हतियार बोकेर गएका महिलाहरूले माओवादी कार्यकर्तामाथि आक्रमण गरे। माओवादी त्यहाँबाट भागेछन्। त्यसपछि माओवादी डराए। शाह भन्छिन्, ‘सायद उनीहरूलाई लागेछ– अब जनतालाई फकाउनु पर्छ।’

भोलिपल्ट माओवादी कार्यकर्ता गाउँमा आए। उनीहरू दुल्लु बजारभन्दा केही माथिको दरबारमा जम्मा भए। प्रायः कार्यक्रमहरू उनीहरूले त्यहीं गर्ने गरेका थिए। माओवादी गाउँमा आएका छन् भन्ने खबर सबैकोमा पुग्यो। गाउँमा माओवादी आएका थाहा पाएका जनता आक्रोशित थिए। ‘के भन्न आए त? मरेको मान्छे जीवित पार्छन् त? भनेर हामी गयौं,’ केही आक्रोश मिसिएको स्वरमा कृष्णा शाहले भनिन्।

१२ जनाको संख्यामा आएका माओवादीले गाउँलेलाई सम्झाउन थाले। ‘उनीहरूले उल्टै तपाईंहरू आक्रोशित हुनुभएन भनेर हामीलाई सम्झाउन पो थाले,’ आक्रोश मिसिएको हाँसोमा उनले भनिन्, ‘सबैले लठ्ठीले हानेर लखेट्यौं।’

पर्सिपल्ट फेरि ८ जना माओवादी कार्यकर्ता गाउँमा आए। दुल्लुमाथिको कीर्ति खम्बामा बैठक बस्ने निर्णय भयो। आक्रोशित हुँदै शाहले भनिन्, ‘माओवादीकै अगाडि मैले सबैले सुन्ने गरी भनें- आँसी, लाठी, डोरी, बरिया जे-जे छन् लिए आउनु भनें। मलाई साह्रै रिस उठिसकेको थियो।’

त्यसअघिका माओवादी ज्यादती सम्झिँदै उनले भनिन्, ‘गाउँमा छोरा मान्छेहरू घरमा बस्न पाएनन्, महिलाहरू बस्न पाएनन्। अपहरण गरेर कहिले कहाँ, कहिले कहाँ लिएर जान्थे। भोकै हिँडाउँथे। जंगलमा बसाउँथे। गाउँमा सारै दु:ख थियो। गाउँघरमा कोही मान्छे हुन्थेनन्। कि साना केटाकेटी हुन्थे, कि हामीजस्ता बुढाबुढी।’

पाहुना आउनै पाउँदैनन् थिए घरमा, माओवादी आएर केरकार गर्थे। साँझ पर्‍यो कि गाउँ सुनसान हुन्थ्यो। जागिर खाएकाहरूको घरमा गएर माओवादीले भन्ने गर्थे ‘कि तिम्रो छोराको जागिर देऊ कि हामीसँग पठाऊ।’ परिवारलाई सताउँथे। हरेक दिनजसो माथिको दरबार अगाडि उनीहरूको कार्यक्रम हुन्थ्यो। गाउँलेहरू त्यहाँ उपस्थित हुनै पर्थ्यो।

‘वास्तवमा हामीहरू सबै कुराहरुबाट वञ्चित भएका थियौं। माओवादीहरू भन्ने गर्थे-  सबैको सुख र सम्मृद्धिका लागि लडेको लडाइँ हो यो। तर उनीहरू हामी गाउँलेहरूलाई दु:ख दिइरहेका थिए,’ उनले सुनाइन्।

माओवादीका यी क्रियाकलापले गर्दा गाउँलेहरूको मनमा आक्रोश बसेको थियो। उत्साहित हुँदै शाहले भनिन्, ‘एक दिन मौका मिल्यो। हामीले बदला लियौं। हामीले सबैले हातमा केही न केही बोकेर कीर्ति खम्बाको बैठकमा गएका थियौं। हामी सबैले उनीहरूलाई घेरेर राखेका थियौं।’ उनीहरूले फेरि गाउँलेहरूलाई आक्रोशित हुनुभएन भनेर सम्झाउन थाले। राम्रो कुरा गरे मान्ने, उही लुट्ने, कुट्ने, मार्ने, कुरा गरे प्रतिकारमा उत्रिने मनसायले कीर्तिखम्बाको बैठकमा उक्लिएका महिलाहरूको माओवादीसँग विवाद भयो।

‘फेरि पनि त्यस्तै कुरा गर्न थालेपछि हामी विवादमा उत्रियौं, एउटा बोल्यो, अर्काले बोल्यो, अर्को बोल्यो, बोल्दाबोल्दै उग्र भयो र महिलाहरू माओवादीमाथि जाइलागे। एक जनाको लाठी लागेर चन्द्रबहादुर ‘दर्शन’ भन्ने घाइते भए। त्यहाँबाट माओवादी भागे,’ सम्झिँदै शाहले भनिन्। त्यस घटनापछि दुल्लु विद्रोहले उग्र रूप लियो। ‘हामी यत्तिकैमा रोकिएनौं, ‘ शाहले थपिन्, ‘भोलिपल्टबाट हामीले नाराबाजी गर्न थाल्यौं।’

कात्तिक २८ देखि दुल्लुमा जुलुस निकालियो। बाजागाजा, शंङ्ख, घण्ट, सहनाईलगायतका बाजा र घरेलु हतियारसहित हरेक दिन दुल्लु बजारमा महिलाहरूले प्रदर्शन गर्न थाले। दुल्लुबाट सुरु भएकाे विद्रोह १३ गाविससम्म फैलियो। हरेक दिन कुनै न कुनै गाविसबाट बाजागाजासहित केटाकेटी, महिला र केही पुरुषहरू दुल्लु बजारमा जम्मा हुन्थे। माओवादी ज्यादतीविरुद्ध नाराबाजी गर्थे, शान्तिका लागि अनुरोध गर्थे।

विद्रोह दबाउन माओवादीले प्रयास गरे तर सकेनन्। महिलालाई उचालेर आफूविरुद्ध विद्रोह गरेको भन्दै एमाले समर्थित खड्कबहादुर खड्काको माओवादी कार्यकर्ताले हत्या गरे। मंसिर २ गते नाउलेकटुवाल गाउँमा जनसागर उर्लियो। जनसागरमा पादुकाका हिरण्य दाहाल, गमौडीका खड्कबहादुर खड्का र दुल्लुकी बिना कार्कीले अगुवाइ गरेका थिए। केहीदिनपछि खड्कबहादुर खड्कालाई माओवादीले मारिदिए। विद्रोह झनै चर्कियो जसको नेतृत्व दुल्लुबाट कृष्णा शाहले गरेकी थिइन्।

मंसिर ७ गतेसम्म प्रतिकार जुलुस निस्किए। विद्रोहोको खबर चारैतिर फैलिइसकेको थियो। विद्रोहका कारण माओवादी कार्यकर्ता दुल्लुमा देखा पर्न छाडे। महिला र बालबालिकाको अगुवाइमा मंसिर ७ गते पटांगिनीमा विशाल सभा भयो। त्यतिबेलाका गृहमन्त्री पूर्णबहादुर खड्का, स्थानीय विकासमन्त्री युवराज ज्ञवाली, विज्ञान तथा प्रविधिमन्त्री बालाराम घर्तीमगरलगायत केन्द्रीय स्तरका नेता आए। त्यसअघि कुनै पनि नेता त के सेना पनि दुल्लु क्षेत्रमा जान डराउँथे।

शाही सेनाले दुल्लुमा ब्यारेक बनायो। नेपाल पुलिस पनि दुल्लुमा आउन आँट गर्‍यो। उता दुल्लु विद्रोहले माओवादी पार्टीको केन्द्रमा हलचल ल्यायो। पार्टीले कारबाही गर्दै सबैलाई एक तह घटुवा गर्‍यो। माओवादी जनसरकार प्रमुखबाट थरबहादुर कार्की हटाइए। खगेन्द्र सेनलाई एक तह घटुवा गर्‍यो। राजकुमार शर्मा नयाँ जिल्ला इन्चार्ज भए। स्थानीय भन्छन्-  ‘घटनापछि माओवादीले जनताप्रति नरम रूपमा प्रस्तुत हुने नीति अपनाउन थालेको हो।’

कृष्णा शाह अहिले ७५ वर्षकी भइन्। उनलाई दमले सताएको छ। घरको पिँढीमै अक्सिजनको सहायताले उनी आराम गरिरहेकी छन्।

उनी राजनीतिक कुरा गर्न थाल्यो भने तर्किने प्रयास गर्छिन्। तर ‘यो राजनीतिक व्यवस्था मलाई मन परेको छैन’ भन्न भ्याइहाल्छिन्। ‘के दियो गणतन्त्रले? के हो यो धर्मनिरपेक्ष भनेको?’ सोध्न भ्याइहाल्छिन्।

***

त्यतिबेलाका जनसरकार प्रमुख कार्की अहिले निकै पश्चाताप गर्छन्। ‘वास्तवमा त्यतिबेला हाम्रा धेरै कमजोरी भए। हामीले धेरै नै ज्यादती गरेका थियौं। हाम्रो जनसरकार त्यतिबेला दैलेखमा केन्द्रित थियो। त्यसैले हामी चारैतर्फबाट घेराबन्दीमा थियौं,’ उनले भने, ‘ हामीले यहाँ हाम्रो सरकार त चलायौं तर गलत तरिकाले चलायौं। त्यतिबेला दैलेख जिल्ला इन्चार्ज खगेन्द्र सेन हुनुहुन्थ्यो, जो जाजरकोटबाट आउनुभएको थियो। जिल्ला सचिव रञ्जित नेपाली पनि बाहिरी जिल्लाको हुनुहन्थ्यो। त्यतिबेला जिल्ला इन्चार्जले भनेको सबैले मान्नुपर्थ्यो। उहाँहरूले यहाँका स्थानीयलाई बुझ्नुभएन र धार्मिक आस्थामाथि पनि आक्रमणको आदेश दिँदै जानुभयो र पार्टीका कार्यकर्ता र सेनाले कारबाही गर्दै गयो।’

थिरबहादुर कार्की समाथमा रोटी पकाउँदै साथमा श्रीमती सेतु कार्की
थिरबहादुर कार्की साथमा रोटी पकाउँदै श्रीमती सेतु कार्की।

कार्की पहिलो र दोस्रो संविधानसभा चुनावमा दैलेख क्षेत्र नम्बर २ बाट लडे। तर दुवै पटक हारे। उनलाई लाग्छ, ‘हामीले त्यतिबेला गरेको गल्तीको सजाय जनताले दिइसकेका छन्।’ त्यसपछि उनलाई पार्टीले टिकट कहिल्यै दिएन। ‘यता जनताले सजाय दिए, उता पार्टीले मभन्दा कनिष्ट नेतालाई राम्रो जिम्मेवारी दिएर मलाई सल्लाहकार केन्द्रीय सदस्यमा खुम्च्याएर पाखा लगाउने प्रयास गर्‍यो,’ निराश हुँदै उनले भने।

***

माओवादीले भत्काएका छमगाड खोलामा रहेका श्रीस्थान र नाविस्थानका दुईवटा पुल पक्की भएका छन्। माओवादीले खन्न सुरु गरेको पालीको बाटो दुल्लुमा जोडिएको छ। तर पक्की भएको छैन। तल्लो डुङ्गेश्वरबाट दुल्लु कच्चीबाटोले जोडिएको छ। गाउँमा बिजुली पुगेको छ।

थिरबहादुर कार्की राजनीतिबाट निष्क्रियजस्तै छन्। उनको कर्णाली राजमार्गको छेउमै कर्णाली नदीमाथिको पाखोमा सानो टहरो छ। उनी श्रीमती सेतु कार्कीसँग खेतीपाती गरेर बसेका छन्। सेतु कार्की द्वन्द्वका कुरा हुँदा रुन थाल्छिन्।

भन्छिन्, ‘सेनाले धेरै दु:ख दिन्थे। हरेक दिनजसो राति आर्मी आउँथे। म त्यतिबेला छोरा-छोरीसँग सुर्खेत बस्थें। काहीं केही भयो भने सेना म बसेको घरमा आउँथे। छोरा-छोरी काखमा च्यापेर चामचुम हुन्थे। तँ कमाण्डरकी श्रीमती, तँलाई मार्छन् भनेपछि म त्यहाँबाट निस्किएँ। मरे पनि सँगै मरिएला भनेर श्रीमान्‌सँगै पार्टीमा भूमिगत भएँ।’

सेतु १६ महिना जेल पनि परिन्। देशद्रोहको मुद्दा लाग्यो। अहिले त्यो मुद्दा के छ उनलाई थाहा छैन। दुई छोरामध्ये एक जना गाउँमै शिक्षक छन् भने एक जना वैदेशिक रोजगारीका क्रममा खाडीमा छन्। छोरीको विवाह भइसकेको छ।

गाउँलेहरू भन्छन् – थिरबहादुर कार्की अहिले मष्टाका धामी भएका छन्। जुन कुरा उनी अश्विकार गर्छन्।

वर्तमान व्यवस्थाप्रति थिरबहादुर निराश छन्। उनी भन्छन्, ‘हामीले व्यवस्था परिवर्तन त गर्यौं तर परिपाटी बदलेनौं। वास्तवमा यो व्यवस्था दोषी होइन, व्यक्ति र परिपाटी दोषी हो।’

बारीमा पनी हाल्दै थिरबहादुर कार्की। पृष्ठभुमिमा कर्णाली नदी देखिन्छ।
बारीमा पनी हाल्दै थिरबहादुर कार्की। पृष्ठभूमिमा कर्णाली नदी।
पुस १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्