स्वधर्ममा बसेर समाज बदल्न खोजेका नृत्य निर्देशक

तीसको दशकको सुरुवातीतिर पोखरास्थित राजाको चौतरा भन्ने गाउँमा नौ वर्षीय महेश्वर सुनार एक पसल अगाडि क्यारमबाेर्ड खेलिरहेका थिए। उभिँदा उभिँदा थाकेपछि बस्न मन लाग्यो उनलाई। यताउता हेरे। पसलअघि बेन्चीमा बसेर तरकारी केलाइरहेका साहुको छेउमा पुगेर उनले सोधे- ‘अंकल म यो बेन्चीको छेउमा बस्न सक्छु?’

तब ती साहुले भनेछन्- ‘मान्छे छस् कामी, सिट खोज्छस् दामी।’ साहुजीका कुरा सुनेर क्यारम खेल्ने र हेर्नहरू गलल हाँसे। उनको मजाक उडाए। उनलाई लाजले खपिसक्नु भएन, तर के गर्न सक्थे र? उनी चुपचाप फर्किए घर।

पोखराको चाउथेमा विवाहको जन्ती भएर जाँदा पानी हुक्ने मग छोइदियो भनेर गोठमा घन्टौं थुनिदिए महेश्वरलाई। पछि दुलाहाले नै ती गैरदलितको खुट्टा समाएर माफी मागेपछि महेश र उनका साथी मध्य राति लुकीलुकी घर फर्किनु परेछ। ३८ वर्ष अगाडि छुवाछुत भोग्ने महेश्वर सुनार नै आजका चर्चित नृत्य निर्देशक महेश गोदार (४८) हुन् । बाल्यकालमा भोगेको दुई घटनालाई महेशले अझै बिर्सिन सकेका छैनन्। बिर्सिनै सक्दैनन्। उनी भन्छन्,  ‘त्यो घटना सम्झियो कि मलाई अहिले पनि रुन आउँछ।’

महेश बाल्यकालदेखि नै नाच्थे। गाउँथे। नाच्न पाएपछि भोक-तिर्खा पनि बिर्सिदिन्थे। कतै बाजा बज्यो भने हुर्रिएर पुग्थे। कसैले नाच भन्नु पर्दैनथ्यो, बरु स्वयं हौसिन्थे नाच्न। गीत र बाजाको सुरमा हातले पारा लगाउन थालेपछि सिंगै गाउँ नै फिदा भइजान्थ्यो।

आज पनि समाजमा नाच्ने गाउनेकाे सफलतालाई हेयकाे दृष्टिकाेणले हेर्ने गरिन्छ। परम्परागत सोचका कारण मनोरञ्जनमै सीमित हुन पुगेको छ- नृत्य। तर महेश कलालाई समग्र राष्ट्र पहिचानसँग जोड्छन्।  ‘राज्य, समाज अथवा व्यक्तिले कलालाई राम्ररी नबुझेको अवस्था छ। हुन त कलाको विकास भएको धेरै भएको छैन र कलालाई व्यवसाय बनाउन थालिएको पनि भर्खर-भर्खर हाे,’ उनी भन्छन्, ‘कलाको जे-जति विकास र उन्नति भएको हाे, त्यो व्यक्तिगत पहलबाट भएको छ। विश्वका विकसित देशहरूमा कलाको माध्यमबाट राष्ट्रलाई चिनाउने काम भइरहेको छ। पर्यटन, विकास र अर्थतन्त्र बढाउने माध्यम कला नै भएको छ। कलाले त देशकै बौद्धिक अनि प्राज्ञिक स्तरलाई बढाइरहेको छ। तर हाम्रोमा अझै सम्मान गर्न सकिएको छैन। यो दुखद् पक्ष हो।’

कहिले विवाह घर, कहिले पूजा घर, कहिले स्कुलको वार्षिकाेत्सव र पोखारामा हुने सांस्कृतिक कार्यक्रममा नाच्दानाच्दै महेशले धेरैको मन जिते। नृत्यलाई नसानसामा भर्दै, पढ्दै उनी हुर्किए। अनि पचासको दशकतिर देशमा जनयुद्धको लहर चलिरहँदा उनी नृत्यमा भविष्य खोज्न पोखराबाट काठमाडौं आइपुगे। काठमाडौंबाट भारतकाे गुजरातमा गइ प्रख्यात भारतीय नृत्य निर्देशक चिराग मैडासँग नृत्य सिके। भरतनाट्यम, हिपहप, बलिउड डान्स र इन्डियन कल्चरल डान्स र फ्रिलान्सर डान्स सिकी उनी काठमाडौं फर्किए अनि यही क्षेत्रमै आफ्नो करिअर खोज्न थाले।

नेपाली माटो सुहाउँदो नाचलाई महेशले धेरै म्युजिक भिडियो, चलचित्रमा कम्पोज गरे। राष्ट्रिय अन्तर्राष्ट्रिय मन्चहरूमा आफ्नो प्रस्तुति देखाए। सयौंको संख्यामा उनले विद्यार्थीहरू जन्माए। त्यो निरन्तरता अहिले पनि जारी छ उनको। तीस वर्षको अनुभव सुनाउन उनी अहिले खासै लालायित छैनन्। कर्म गर्दै जाऊँ भन्ने मनसाय सुनाउँछन्।

कुनै समय हाेटल तथा डान्स बारमा नाचेर जीविकाेपार्जन गरेका महेशका लागि नृत्य मनोरञ्जनको साधन मात्रै होइन, जीवनको कठोर साधना पनि हो। ‘नृत्यमा के छैन? भन्छु म। नृत्य एउटा साधना हो। नृत्य बाहिरी दुनियाँ, आफूभित्रको ‘म’ लाई बुझ्न सक्ने र परम तत्वभित्र गहिरिन सक्ने माध्यम हो’, उनी भन्छन्, ‘नृत्य शारीरिक चेष्टाद्वारा अभिव्यक्त गर्न सक्ने साहित्य हो। शब्द अक्षरबाट एउटा साहित्य सिर्जना हुन्छ भने शरीरका विभिन्न अंगबाट नृत्यको साहित्य तयार पारिन्छ।’

आजका पुस्ताले नृत्यलाई स्वास्थ्यसँग पनि जोड्न थालेकोमा औधी खुसी छन् महेश। गास, बास, कपाससँगै स्वास्थ्य आम मान्छेको लागि अपरिहार्यजस्तो भयो। उहिले धेरै मोटो-घाटो देख्यो भने पुगिसरी मान्छे भनिन्थ्यो। दुब्लो पातलो मान्छे त गरिब, दुखी, भन्ने गरिन्थ्यो। अहिले मोटो शरीर घटाउने माध्यम नृत्य नै भइरहेको छ। ध्यान र योग भइरहेको छ। मोटोपन त रोग पो रहेछ। फिटनेस हुनु पर्ने रहेछ। महेश जुम्बा फिटनेश पनि चलाउँछन्। उनी हरेक बिहान जुम्बा कक्षामा बस्छन्।

तर आज पनि समाजमा नाच्ने गाउनेकाे सफलतालाई हेयकाे दृष्टिकाेणले हेर्ने गरिन्छ। परम्परागत सोचका कारण मनोरञ्जनमै सीमित हुन पुगेको छ- नृत्य। तर महेश कलालाई समग्र राष्ट्र पहिचानसँग जोड्छन्।  ‘राज्य, समाज अथवा व्यक्तिले कलालाई राम्ररी नबुझेको अवस्था छ। हुन त कलाको विकास भएको धेरै भएको छैन र कलालाई व्यवसाय बनाउन थालिएको पनि भर्खर-भर्खर हाे,’ उनी भन्छन्, ‘कलाको जे-जति विकास र उन्नति भएको हाे, त्यो व्यक्तिगत पहलबाट भएको छ। विश्वका विकसित देशहरूमा कलाको माध्यमबाट राष्ट्रलाई चिनाउने काम भइरहेको छ। पर्यटन, विकास र अर्थतन्त्र बढाउने माध्यम कला नै भएको छ। कलाले त देशकै बौद्धिक अनि प्राज्ञिक स्तरलाई बढाइरहेको छ। तर हाम्रोमा अझै सम्मान गर्न सकिएको छैन। यो दुखद् पक्ष हो।’

महेशका अनुसार नृत्य मनोरञ्जनको साधन मात्र नभई सीपसहितको शिक्षा पनि हो। त्यसैले त उनी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन्। प्रज्ञा प्रतिष्ठान राज्यको महत्त्वपूर्ण अंग नै हो, जसबाट समग्र देशकै कला साहित्यको रूपान्तरण गर्न सकिन्छ। त्यसो हुँदा प्राज्ञसभा सदस्य भएको नाताले उनी आफूसँग गाडी त छ तर इन्जिन गतिलो नपरेको तर्क गर्छन्।

उनी भन्छन्, ‘नेपाल सरकारले एकेडेमीलाई जुन बजेट छुट्टाएको छ, त्यसले केही गर्न सक्ने अवस्था छैन। एउटा विभागमा वर्षको सात लाख बजेट छ। त्यसले कति काम गर्न सकिन्छ? के गर्ने ? हेर्नूस् नेपाल सरकारले कसरी हेरेको छ कलालाई। विचार भए पनि पैसा नभएपछि काम गर्न गाह्रो हुने रहेछ। समय, पैसा र बुद्धिको सही समयमा सही संयोजन हुन सक्यो भने सोंचेको आविष्कार हुन सक्छ। सोंचेको कुरा सफल गर्न सकिन्छ।’

अध्यात्मको यात्रामा करिब चार वर्ष बिताइसकेका महेशले व्यावसायिक नृत्य गर्न लागेकै तीन दशक बढी भइसक्यो। ‘बुगीबुगी रियालिटी शो’ हुँदै नेपालको चर्चित रियालिटी शो ‘छमछमी’ का एक मुख्य निर्णायकसमेत रहे उनी। तर नृत्यमा उनले गरेको संघर्ष भने पोखराको ‘राजा चौतरा’ बाटै जोडिन्छ। कलाकारिता यात्रालाई निरन्तरता दिँदै उनी अध्यात्मको बाटोलाई पछ्याउन पुगे। तीस वर्षपछि एउटा कलाकार एकाएक ध्यान र साधनाको पछाडि किन पर्छ? के लोकप्रियताप्रति वितृष्णा भएको हो? तर महेशका लागि कलाले जति सुकै लोकप्रियता कमाए पनि आफूलाई बुझ्न अध्यात्मले सहयोग गर्ने बताउँछन्। उनका अनुसार कलाकार बन्दै गर्दा दिनप्रतिदिन मन सङ्लो हुँदै जान्छ, पवित्र हुँदै जान्छ। मन पवित्र हुँदै जाँदा आफूलाई चिन्ने बाटो खोजिन्छ र चिन्ने माध्यम भनेको स्टारडम या  लोकप्रियता रहेनछ भन्ने हुँदाे रहेछ। अनि त्यो अन्तरमनले आत्माको पहिचान गर्ने बाटो खोज्छ अनि अध्यात्मतिर लागिन्छ।

सदस्यको नाताले वर्षमा एकाध पटक हुने भेलामा बसेर सल्लाह दिने काममात्रै हो। प्रज्ञा प्रतिष्ठानले स्थानीय कलाको पहिचान गर्ने केन्द्रसँग जोड्ने र त्यसलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्छ भन्ने लाग्छ। ‘मौलिक रैथाने गीत/संगीत दिनानुदिन मर्दै जाला भन्ने भएको छ। एउटा पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्दै पुस्तान्तरण हुनु पर्ने हो। तर हुन सकेन। किनकि नृत्य व्यावसायीकरण हुन सकेन,’ उनी भन्छन्,  ‘पश्चिमेली गीत/संगीत तथा वाद्ययवादनहरू व्यावसायीकरण हुन सकेकोले नै त्यो संसारमा अगाडि छ। राज्यको अर्थतन्त्रमा टेवा पुर्‍याएकाे छ।’

जीवनमा लोकप्रिय र सफलता खोज्दाखोज्दै ध्यान र अध्यात्ममा ‘दिल्लगी’ गरेका धेरै कलाकार छन्। तीनै कलाकारमध्ये एक हुन् महेश पनि। जीवन बाँच्दै जाँदाको सँगालो हो- अनुभव। यही अनुभव पनि जीवनको कुनै मोडमा भारी भइदिन्छ। जीवनसँग दिक्दारिलो गुनासो हुन थाल्छ। यस्तै, विरक्तले छोएपछि वर्षौैवर्षदेखि गर्दै आएको काम र सफलतासँग पनि खुसी भइँदोरहेनछ। जब मनमा खुसी र अमनचैन हुँदैन तब लोकप्रिय र सफलता मिथ्या लाग्दै जाँदोरहेछ। अनि नयाँ मार्ग देखिँदोरहेछ- ध्यान र अध्यात्मको।

ओम श्री त्रिकुटा गुरुधाम नेपालका केन्द्रीय अध्यक्ष रहेका महेश नृत्यसँगै अध्यात्मको कुरा पनि गर्छन्। जीवन र जगतको कुरा गर्छन्। कपनस्थित पञ्चकुमारी चोक नजिकै ‘बज्रयोगिनी डान्स एण्ड एकेडेमी’ मा आउने विद्यार्थीलाई जुम्बा नाच पनि गराउँछन्। उनी भन्छन्,  ‘नृत्य पनि साधना नै हो, यसबाट टाढिन सक्दिनँ। तर अध्यात्मले भने मनको लय पक्रिँदोरहेछ। मनसँग सरोकार राख्दोरहेछ।’

अध्यात्मको यात्रामा करिब चार वर्ष बिताइसकेका महेशले व्यावसायिक नृत्य गर्न लागेकै तीन दशक बढी भइसक्यो। ‘बुगीबुगी रियालिटी शो’ हुँदै नेपालको चर्चित रियालिटी शो ‘छमछमी’ का एक मुख्य निर्णायकसमेत रहे उनी। तर नृत्यमा उनले गरेको संघर्ष भने पोखराको ‘राजा चौतरा’ बाटै जोडिन्छ। कलाकारिता यात्रालाई निरन्तरता दिँदै उनी अध्यात्मको बाटोलाई पछ्याउन पुगे। तीस वर्षपछि एउटा कलाकार एकाएक ध्यान र साधनाको पछाडि किन पर्छ? के लोकप्रियताप्रति वितृष्णा भएको हो? तर महेशका लागि कलाले जति सुकै लोकप्रियता कमाए पनि आफूलाई बुझ्न अध्यात्मले सहयोग गर्ने बताउँछन्। उनका अनुसार कलाकार बन्दै गर्दा दिनप्रतिदिन मन सङ्लो हुँदै जान्छ, पवित्र हुँदै जान्छ। मन पवित्र हुँदै जाँदा आफूलाई चिन्ने बाटो खोजिन्छ र चिन्ने माध्यम भनेको स्टारडम या  लोकप्रियता रहेनछ भन्ने हुँदाे रहेछ। अनि त्यो अन्तरमनले आत्माको पहिचान गर्ने बाटो खोज्छ अनि अध्यात्मतिर लागिन्छ।

कतिपय कलाकारले आफ्नो व्यभिचारी भावनालाई नियन्त्रण गर्न नसक्दा नै अध्यात्मको बाटो रोज्ने गरेकाे पनि पाइन्छ। यसमा महेश भने केही फरक मत सुनाउँछन्। ‘भावनालाई नियन्त्रण गर्नेभन्दा पनि राग र वैराग दुईवटा कुरा हुन्छन्। रागबाट कुनै यस्तो बिन्दुमा पुगेपछि अघाइँदाे रहेछ  अनि वैरागतिर लाग्छ,’ उनी भन्छन्, ‘वैराग भनेको कुनै आशक्ति वा लिप्त नहुनु हो। यत्रो कुरा पाएँ के भयो त? अब तत्वबाेधतिर लाग्छु। स्वयंको पहिचानतिर लाग्छ। त्यसपछि परम खुसीबाट परम आनन्दतिर लाग्छु।’

जीवनको लागि संघर्ष गर्नु नै साधना हो। तर महेश आफू स्वयंलाई पहिचान गर्न सक्नाले मात्रै सही संघर्ष हुने बताउँछन्। उनी भन्छन्, ‘संघर्षमा जीवन चल्यो। जब सबै कुरा ठीकै चलिरहेको छ भन्ने बेला अध्यात्मतिर लागियो। मनको पनि केही हुँदोरहेछ भन्ने लाग्छ।’

उनी अहिले चल्तीका गुरुमाथि विश्वास गर्न डराउँछन् र प्रश्न गर्छन्- भेषभुषाको आधारमा म कसरी गुरु मानौं? उनी भन्छन्, ‘स्वामी परमहंश रामकृष्णले स्वामी विवेकानन्दलाई परमात्मा देखाए झैं आजका गुरूहरूले सक्छन् मेरो मनस्थिति बुझ्न?’

जातीय विभेदले भरिएको यो समाजमा गुरु त केवल ब्राह्मण परिवारलाई मानिन्थ्यो तर उनी ओम श्री त्रिकुटा गुरुधाम नेपालका अध्यक्ष भएर काम गरिरहेका छन्। दलित समुदायको एक नृत्य निर्देशकलाई अध्यक्ष मानेर ओम श्री त्रिकुटा गुरुधामको विकास र उन्नतिमा लाग्नु आफैंमा एउटा फड्को  पनि हो।

महेशले गाउँदेखि सहरसम्म विभेद देखे। अझ कलामा अचाक्ली विभेद देखेपछि जीवनकाे यस्ताे माेडमा पुगे जहाँ आफू नबदलिइ समाज बदलिँदैन। तब त उनका अनुसार सम्पूर्ण मानवधर्मको लागि समर्पण भावले लाग्नुपर्छ। उनी भन्छन्- ‘त्यो विभेद जसलाई मनले जन्मायो। कुनै धर्म मान्ने मान्छेको मनले जन्मायो। तर मान्छेले स्व:धर्म बुझेन। स्व:धर्मलाई नबुझेर धर्मकाे नाममा गरियो अधर्म।’

‘ब्राह्मणवाद ब्राह्मणवाद भनिन्छ। कोही जन्मजात ब्राह्मण हुँदैनन्। बरु कर्मले ब्राह्मण हुने हो। तर धर्मका नाममा, रगतको नाममा ब्राह्मणबाद तन्काइरहेका छन्। त्यसैले ओम श्री त्रिकुटा गुरुधाममार्फत् समाजमा समभाव, सम्मानभाव र समर्पणभाव बोकेर यस्ता सामाजिक विकृतिका विरुद्ध वकालत गर्दैछु। छुवाछुत जबसम्म निमिट्यान्न हुँदैन तबसम्म राष्ट्र पनि बन्दैन,’ उनले भने।

महेश यतिखेर समाज बदल्ने र चलनचल्तीका विकृतिलाई तर्कसंगत सवालजवाफका साथ ‘गुरुमन्त्र’ खाेजिरहेका छन्। यही ‘गुरुमन्त्र’ नामक टेलिभिजन कार्यक्रम पनि ल्याउने तयारीमा छन् उनी। त्यसैले त उनी प्रश्न गरिरहन्छन्- ‘सामाजिक विकृति बदल्न त्यस्तो गुरुमन्त्र के छ त? राजनीतिक बदलाव मात्रै समाज परिवर्तन हो भने कहाँ चुक्यो त देश र नेतृत्व?’

भिडियाे:

पुस २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्