(नेपालमा हुने शल्यक्रिया नेपालको सरकारी कार्यशैली जस्तै भएको भए…)

बिरामी बेहोस छ, मुटुको अप्रेशन चलिराको छ। एकाएक धमनीमा सानो प्वाल पर्छ। रगत बग्न सुरु हुन्छ! माहौल टेन्स!

सर्जनले अस्पताल परिसरमै भएका विभागीय प्रमुखलाई सोध्ने विचार गर्छन्। टिमका कनिष्ठ रेजिडेन्टले सोध्छन्, “सर उहाँलाई म आफै गएर बोलाम्।”

सर्जनले सम्झाउँछन्, “यस्तो काम कुरा औपचारिक रूपमा, नियमानुसार अगाडि बढ्नुपर्छ।”

सर्जनले पञ्जा फुकालेर चिठ्ठी लेख्छन्, “श्रीमान हजुर, प्वाल पर्‍यो, तनाव छ, के गरौं?” असिस्टेन्टले भन्छ, “सर नीलो मसी परेछ, बोधार्थ पनि छुटिएछ!”

चिठ्ठी फेरि लेखिन्छ, कालो मसीले, दस्तखत र लाहाछापसहित चिठ्ठी हुलाकी मार्फत पठाइन्छ।

विभागीय प्रमुख एउटा मिटिङमा व्यस्त, ढोका बाहिरको पिउनले हुलाकीलाई “एकछिन है, सर बिजी हुनुहुन्छ” भन्दै कुराउँछन्।

प्रमुखलाई चिठ्ठी बुझ्न एक घण्टा लाग्छ। चिठ्ठी पढी भ्याउँछन्। सेक्रेटरीले सोध्छिन्, “सर स्थिति गम्भीर जस्तो छ फोन गरम् अस्पताल प्रमुख सरलाई?”

“हुन्न, औपचारिक तरिकाबाट जानु पर्छ, तुरुन्तै चिठ्ठी पठाउनुस्!” अर्को एक घण्टा बित्छ। अस्पताल प्रमुखले चिठ्ठी बुझ्छन्, आफ्ना पाँच जना सल्लाहकार साथीलाई मिटिङ डाक्छन्।

यता बिरामीको एक लिटर रगत बगिसक्छ। उता १० सदस्यीय कार्यदल खडा गर्ने निर्णय हुन्छ। कार्यदलको प्रमुखमा विभागीय प्रमुख, सदस्यमा एनेस्थेसियाका विभागीय प्रमुख, मेट्रन सिस्टर, प्रशासनका १, मानव अधिकारका १, प्रमुख दलसँग आबद्ध कर्मचारी १, विपक्षी दलसँग आबद्ध कर्मचारी १, स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालय बाट १/१ जना अनि बेसार जस्तो जता मिलाए नि हुने मुटु सम्बन्धी सेलेब्रिटी  डाक्टर – १। उनीहरूलाई २४ घण्टा भित्र रिपोर्ट बुझाउन आदेश दिइन्छ। बाहिरबाट हेर्दा काम निकै द्रुत गतिमा भइराको देखिन्छ।

यो खबर पाएपछि अप्रेशन गर्ने टिमले रिपोर्टलाई कुरेर मात्र काम अघि बढाउने निर्णय गर्छ। कुर्दै गर्दा बिरामीको शरीरमा भएको पाँच लिटर मध्ये दुई लिटर रगत बगिसक्छ। प्वाल झन् ठूलो हुन्छ! रेसिडेन्ट अत्तालिदै भन्छ, “सर ब्लिडिङ धेरै भो, प्वाल बन्द गरौं न!” सर्जनले फर्काउँछ- “माथिको निर्णय न आएसम्म केही गर्न सकिन्न।”

यो खबर पाएपछि अप्रेशन गर्ने टिमले रिपोर्टलाई कुरेर मात्र काम अघि बढाउने निर्णय गर्छ। कुर्दै गर्दा बिरामीको शरीरमा भएको पाँच लिटर मध्ये दुई लिटर रगत बगिसक्छ। प्वाल झन् ठूलो हुन्छ! रेसिडेन्ट अत्तालिदै भन्छ, “सर ब्लिडिङ धेरै भो, प्वाल बन्द गरौं न!” सर्जनले फर्काउँछ- “माथिको निर्णय न आएसम्म केही गर्न सकिन्न।

सर्जरी रेजिडेन्ट, एनेस्थेसिया रेसिडेन्ट र सिस्टरलाई छोडेर सब जना चिया पिउन विश्राम लिन्छन्।

यता यमलोकबाट यमराजले दूरबिनबाट हेर्दै चित्रगुप्तलाई सोध्छ, “ओए चित्रे, त्यो नेपाली रोल नं २ करोड ५६ लाख ४ सय ३ नम्बरको समय आएको हो र भनेको?

चित्रगुप्त ढड्डा पल्टाउँदै भन्छन्, “हैन हजुर, मुटुरोग त हामीले कडा नै हालिदिएका थियौं तर त्यसको अझै ६ वर्ष ५ महिना ९दिन ५ घण्टा २४ मिनट बाँकी छ, त्यो भन्दा अगाडि त त्यो सेलेब्रिटी डाक्टरलाई नै लिन जानु पर्ने थियो! यमराज भन्छन्, “लौ, यिनीहरुले काल आउनु अघि नै मार्ने भए!”

कार्यदलको पहिलो मिटिङ बस्छ, केही समय भलाकुसारीमै बित्छ। अनि सुरु हुन्छ, प्वालको कुरा। कसरी भयो प्वाल, कसले गर्‍यो प्वाल, किन भयो प्वाल, प्वालको आकार आदि इत्यादि। दुई घण्टा प्वाल विशेषका बारेमा कुरा हुन्छ तर प्वाल कसरी सिलाउनेबारे खासै कुरा हुँदैन। अन्त्यमा अर्को मिटिङमा सम्पूर्ण ओटी टीमलाई बोलाई अन्तर्वार्ता गर्ने निर्णय हुन्छ। सबैलाई पत्र काटिन्छ।

यतातिर बिरामीको लगभग ३ लिटर रगत बगिसक्छ। चिठी पाएपछि, सर्जरी रेसिडेन्ट, सिस्टर र एनेस्थेसिया रेसिडेन्टबाहेक सम्पूर्ण टीम कार्यदलसामु उपस्थित हुन्छन्। कार्यदलले उनीहरूको केरकार सुरु गर्छ।

यता यमराज र चित्रगुप्तलाई हेरी नसक्नु हुन्छ। यमराज भन्छन्, “जाम चित्रे, पृथ्वीलोकतिर, त्यसलाई बचाम!”

दुवैजना सिधै ओटीभित्रै अवतरण गर्छन्। रेजिडेन्ट र सिस्टरहरु अत्तालिएर एकातिर रगत चढाउँदै, अर्कोतिर प्वालमा गजले थिच्दै असिनपसिन भएको देख्छन्।

यमराज भन्छन्, “यिनीहरूको शरीरमा छिरम्, चित्रे तँ सर्जन बन् म एनेस्थेटिस्ट।”

हत्त न पत्त मानव शरीरमा छिर्छन्। अनि यमराजले बिरामीलाई धमाधम औषधि र रगत चलाउँछन्, चित्रगुप्तले सर्जन बनेर प्वाल सिलाउँछन्। आधा घण्टा जतिको प्रयासपछि बल्लतल्ल बिरामी बचाउन सफल हुन्छन्!

उता मिटिङबाट सम्पूर्ण टिमलाई दोषी ठहर गर्ने निर्णय हुन्छ। ५ लिटर नै बगिसकेको बिरामी करिब करिब मर्ने नै भइसकेकाले, दस लाख रुपैयाँ अस्पताल कोषबाट दिने सुझाब दिइन्छ। यो सब छानबिन र सुझावहरूलाई अक्षरश: लेखिन्छ र हतार हतार कार्यदल अस्पताल प्रमुखकोमा ब्रिफिङ गर्न पुग्छन्।

सर्जन र उसको टीम निराश हुँदै ओटीतिर फर्किरहेका हुन्छन्। सर्जनले सान्त्वना दिँदै भन्छन्, “भरसक कोशिश गरेका नै थियौं, चलनचल्तीको नियमअनुसार नै सबै थोक गरेका नै थियौँ।”

“कालो मसी र लाहा छाप, बोधार्थ सब राखेका नै थियौं। केही परेमा हामी मुद्दा लडौँ साथीहरु!”

यो सब भइराको अनलाइन पत्रिकाहरुले सुइँको पाइहाल्छन्। अनि फोनको घण्टी बझ्न थाल्छ। अनलाइनले समाचार प्रेषित गर्छ, “मुटुको प्वाल यस्तो थियो! हेर्नुहोस् पुरा समाचार।”

अर्को चर्चित टिभी प्रोग्रामका लागि इन्टरभ्यु दिन सर्जनलाई फोन आउँछ। प्रस्तोताले आफ्नै ढंगले सोध्छन्, “कसरी पर्‍यो प्वाल डाक्टरसाब, जनता जान्न चाहन्छ!”

सर्जनको टीम ओटी छिर्दा त बिरामी लाई सकुशल उद्धार गरेर रेसिडेन्ट डाक्टर र सिस्टरहरु थकित भई भुइँमै लडेका पाउँछन्। सब आश्चर्यमा पर्छन्। “ल के गरिस्, कसरी बच्यो यो?”

कोही केही बोल्दैनन्। हर्षित हुँदै सर्जनले अस्पताल प्रमुखलाई फोन गर्छन्। रेजिडेन्टले सोध्छ, “सर चिठ्ठी काट्ने होइन?”

अस्पताल प्रमुखले प्रेस सम्मेलन डाक्छन्, सेलेब्रिटी डाक्टरले स्टाइलमा भन्छ, “नेपालमै पहिलोचोटि, हामीले आज अद्भुत शल्यक्रिया गरेर एक जना बिरामीलाई कालको मुखबाट बाहिर ल्याएका छौं।’

यता यमराज र चित्र गुप्त फर्किन लागेका हुन्छन्। चित्रगुप्तले प्रस्ताव राख्छन्. “महाराज धेरै पछि काठमाडौं आइया छ, केही खाएर जाम्।”

टन्न मम छोयला खाएर डकार हाल्दै यमलोकतिर जाँदै गर्दा यमराजको घडीमा अलार्म बज्छ, “चित्रे त जाँदै गर, त्यो सेलेब्रिटी डाक्टरलाई म लिएर आउँछु!”

माघ ६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्