मिलिटरी क्रस तक्मा पाउने बहादुर नेपाली सैनिकहरुको सम्झनामा

युद्धभुमिमा दुश्मनबिरुद्ध अति प्रसंशनीय तरिकाबाट वीरता देखाई काम फत्य गर्ने बहादुर सैनिकलाई दिनको लागि २८ डिसेम्बर १९१४ बाट बेलायतले मिलिटरी क्रस (एम.सि.) विभूषणको सुरुवात गर्‍यो। कप्तानदेखि जमदारसम्मको लागि यो विभूषण प्रदान गरिने व्यवस्था थियो। यो विभूषण अर्थात तक्मा पाउने ब्यक्तिलाई राज्यले नै उच्च सम्मान दिने गर्छ। सैनिक बिज्ञानमा “मिलिटरी डिस्प्युट” र “मिलिटरी डिप्लोम्यासी” भन्ने हुन्छन्। पहिलो भित्र लडाईं – भिडाइ, झैझगडा पर्छन् भने दोस्रोमा लडाईं भिडाइ पटक्कै हुन्न र एक अर्कालाई सैनिक, भौतिक, आर्थिक सहयोग आदि लिनेदिने काम हुन्छ। नेपालले बि.सं. १८२४ देखि १८७२ सम्म बेलायतसँग मिलिटरी डिस्प्युटमा नै दिन बितायो भने बि.सं. १९१४ अर्थात भारतमा भएको सिपाही बिद्रोह (पहिलो भारतीय स्वतन्त्रता संग्राम) पछि भने मिलिटरी डिप्लोम्यासीमा सम्बन्ध बढेको पाइन्छ । सिपाही बिद्रोह, पहिलो र दोस्रो बिश्व युद्ध, अफगानिस्तान र वजिरिस्थानमा पठाइएका सैनिक सहयोग त्यसै अन्तर्गत पर्छन्। पहिलो र दोस्रो बिश्व युद्ध, अफ्गानिस्तान र वजिरिस्थानमा नेपालले बेलायतलाई दिएको सैनिक सहयोगमा युद्धभुमिमा खटिएकामध्ये धेरैले सहादात प्राप्त गरे भने केही नेपाली सैनिकले बहादुर कामको पुरस्कार स्वरुप मिलिटरी क्रस तक्मा पाए। यसबारे संक्षिप्तमा लेखिएको छ। पाठकहरुबाट पनि यो लेखमा थप सुझाव पाउने आशा राखिएको छ।

नेपाली सेनामा पहिलो मिलिटरी क्रस पाउने लेफ्टिनेन्ट कर्नेल चन्द्रबहादुर कार्की

सन् १९१७ मा तत्कालीन भारतको उत्तर–पश्चिम क्षेत्रमा रहेको नर्थ वेष्ट फ्रन्टियरमा बजिरीस्थानी मुसद नामका एउटा जाति थिए। बिसौँ शताब्दीका सुरूमा लर्ड कर्जनले उत्तर–पश्चिम सिमान्त प्रान्तको सिर्जना गरे, जसमा मसुदहरूले बसोवास गरेको क्षेत्र पनि समावेश गरिएको थियो। तर मसुदहरूले अङ्ग्रेजको निर्णयलाई स्वीकार गरेनन् । अङ्ग्रेज सरकार प्रथम विश्वयुद्धमा फँसेको अवसर पारी मसुदहरूले अङ्गेज विरूद्ध वजिरीस्तानमा पूरा तयार भएर सङ्घर्ष सुरू गरे । अफगानिस्तानमा अङ्ग्रेज फस्यो र कहिलै युद्ध जितेन । यस जाति विरूद्ध गरिएको सैनिक अभियानमा महिन्द्र दल र रैफल पल्टनको सहयोग लिइएको थियो । मसुदहरू विरूद्धको अङ्ग्रेजी सैनिक अभियान सन् १९१७ को मार्च महिनामा सुरू भएको थियो र करिब ५ महिनापछि यो अभियान समाप्त भएको थियो । यस अभियानको दौरानमा रैफल पल्टनलाई अङ्ग्रेज फौजको त्रिचालिसौँ बृगेडमा सामेल गराई फौजको नेतृत्व मेजर जनरल वियनोको हातमा थियो ।

उक्त सैनिक कारवाहीमा राइफल पल्टनको भने अति नै राम्रो भूमिका रह्यो । उक्त पल्टनका सुबेदार (पछि लेफ्टिनेन्ट कर्नेल) चन्द्रबहादुर कार्कीले देखाउनु भएको अदम्य साहसको कदरस्वरूप तत्कालीन बेलायत सरकारले उनलाई मिलिटरी क्रस (एमसी) तक्मा प्रदान गरेको थियो । नेपाली सेनामा मिलिटरी क्रस पाउने पहिलो व्यक्ति सुवेदार चन्द्रबहादुर कार्की हुन् भने उनी लेफ्टिनेन्ट कर्नेल भई सेवानिवृत्त भएका थिए । तात्कालीन पूर्व ३ नं चिसखुं जिल्ला, हाल ओखलढुङ्गा बुग्नाम, चौलाबोटमा रणजोर कार्कीका नाति र रुद्रवीर कार्कीको माहिला छोराको रूपमा वि.सं. १९३५ मा चन्द्रबहादुर कार्कीको जन्म भएको थियो।

जमदार होमबहादुर गुरूङ

सन् १९३९ देखि ४५ सम्म भएको दोस्रो विश्वयुद्धमा बर्मा क्षेत्रमा भएको लडाईंमा कालीबहादुर पल्टनका जमदार होमबहादुर गुरूङले बर्माको चामु र ससक भन्ने ठाउँहरू हुँदै चिन्डविन नदी पार गरी डिफेन्स पोष्टमा बसेका जापानीहरूमाथि हमलाको योजनाअनुसार रातको ११ बजे आफ्नो नेतृत्वमा एक सेक्सन जवानहरू लगी उत्तम योजना र बहादुरीपूर्वक भीषण सङ्घर्ष गरी शत्रुको डिफेन्स पोष्टलाई बरबाद गर्न सफल भएकोले बृटिश सरकारले उनको बहादुरीको सम्मानको लागि एमसी तक्माले विभूषित गरेको थियो। उनले नेपालबाट पनि थुप्रै तक्माहरू पाएका थिए। चितवन भरतपुरमा जमदार होमबहादुरको परिवारसँग सम्पर्क राखी उनको विवरण सङ्कलन गर्ने प्रयास गर्दा केही पनि प्राप्त हुन सकेन। पछिल्लो समयमा होमबहादुर चितवनको नारायणगढ बजारमा बस्दै आएका थिए, हाल उनको मृत्यु भई सकेको छ।

लेफ्टिनेन्ट कर्नेल जगतबहादुर खत्री

भक्तपुर जिल्ला नलिनचोक निवासी रत्नवीर खत्रीका नाति, इनसेन वीरबहादुर खत्रीका छोरा लेफ्टिनेन्ट कर्नेल जगतबहादुर खत्रीको जन्म वि.सं. १९७९ आषाढ महिनामा भएको थियो। दोस्रो विश्वयुद्धमा श्री महिन्द्र दल बटालियनमा हवल्दार पदमा बर्मा लडाइँमा उनले भाग लिएका थिए। भारतको आसामबाट पैदल हिँडाइ गरी करिब ५०० माईल पूर्वतर्फ अगाडि बढेर बर्माको मण्डलेबाट १५÷१६ माइल पश्चिममा रहेको सिआई गाउँमा १९४३ मार्च महिना (फागुन २० गते) को दिन श्री महिन्द्र दलको डि. कम्पनीको जमदार जगतबहादुर खत्रीले नेतृत्व गरेको २८ जनाले जापानी डिफेन्समाथि २० फिट अग्लो ढिस्कोमा बनेको सुख्खा नहरलाई पार गरी हमला गर्नुपर्ने बहुतै कठिन कार्य थियो। तापनि सो उचाइको सुख्खा नालालाई पार गरी हमला गरिएकोमा जापानी फौजले जवाफी हमला गरेको थियो। सो प्रत्याक्रमणलाई विफल पारी ठूलो बहादुरीपूर्वक दुश्मनसित करिब ४५ मिनेटको अवधिसम्म युद्ध गरी धेरै दुश्मनहरूलाई नोक्सान पार्न सफल भएको थियो। यसरी डि. कम्पनीका जम्मा ३ जनाको मृत्यु भएको र दुश्मनतर्फ १७ जना मारिएको थियो। जापानी डिफेन्समा अनुमान गरेको भन्दा धेरै नै बढी फौज तैनाथ गरेको थियो। यसरी अदम्य साहस प्रदर्शन गरी युद्धमा दुश्मनको हमला गर्ने योजनासमेतलाई विफल गरिएकोमा जमदार जगतबहादुर खत्रीलाई बृटिश सरकारबाट एमसी तक्माले विभूषित गरिएको थियो । कर्नेल जगत बहादुरका नाती मदन खत्री पनि नेपाली सेनामा १९ औं अधिकृत बेसिकको कर्नेल थिए। उनको अमेरिकामा निधन भइसकेको छ।

लेफ्टिनेन्ट कर्नेल गुप्तबहादुर गुरूङ

उनी वि.सं. १९६१ मार्ग १० गते गण्डकी अञ्चल, स्याङ्जा जिल्ला, काहुलेमा जम्मेका सुवेदार मनशाहा गुरूङको नाति र लेफ्टिनेन्ट कर्णेल चित्रबहादुर गुरूङको कान्छा छोरा थिए । महिन्द्र दल गण ‘डि’ कम्पनीका क्याप्टेन गुप्तबहादुर गुरूङको कमाण्डको कम्पनीलाई बर्मामा जापानी फौजलाई एम्बुस थापी बरबाद गर्ने जिम्मा दिइएको थियो । जब जापानी फौजको टोली मार इलाकामा आइपुगे तब एम्बुस पोजिशनमा भएका फौजले फायर खोलेका थिए र धेरै जापानी दुश्मनलाई हताहत गरी र ज्युँदै जापानीलाई पक्रेर जङ्गी कैदी बनाउनसमेत सफल भएका थिए । त्यस एम्बुस कारवाहीमा आफ्नो पक्षमा ३ जना मृत्यु भएको थियो । दुश्मनको धेरै लाशहरू एम्बुस क्षेत्रमा जताततै थिए । उक्त एम्बुस कारवाही बहादुरीताकासाथ सम्पन्न गरेकोले क्याप्टेन गुरूङलाइ मिलिटरी क्रस प्रदान गरिएको थियो ।   २००२ साल फागुन महिनामा भारतको दिल्लीमा आयोजित भिक्ट्री परेड समारोहमा गुप्तबहादुरले भाग लिएका थिए । लेफ्टिनेन्ट कर्नेल गुरूङ सैनिक सेवाबाट अवकाश प्राप्त भएपछि गुल्मी जिल्लाको बडाहाकिम बने भने २०४५ वैशाख १० गते ८४ वर्षको उमेरमा उनी स्वर्गीय भएका थिए । उनको छोराहरु मध्य रथी कृष्णबहादुर गुरुङ र १८औं अधिकृत बेसिकका प्रमुख सेनानी महेन्द्र गुरुङ नेपाली सेनामा कार्यरत थिए।

लेफ्टिनेन्ट कर्नेल शैलेन्द्रबहादुर महत

बागमती अञ्चल, नुवाकोट जिल्लाको खोलेगाउँमा वि.स. १९७६ मा जन्मेका महतका बाजे मेजर कप्तान नारायणबहादुर महतले श्री ३ देवशम्शेरको हजुरिया भई काम गरी पछि पू. १ नं. चौतरा र प. १ नं. नुवाकोटमा बडाहाकिमसमेत भइ काम गरेका थिए भने भने बुबा महेन्द्रबहादुर महत राणाकालमा र पछि पनि प्रधान न्यायालयको न्यायाधीश थिए। महतले वि.सं. १९९६ भाद्र ५ गते श्री शेर गणको ७ पट्टी, नं. ३ हुद्दामा भर्ना भई शेर गणबाट नै दोस्रो महायुद्धमा भाग लिएका थिए । त्यतिखेरको खास स्थितिलाई पुनः स्मरण गर्दा २०५३ साल चैत ११ गते महतले लेखकसँग शेर गणलाई ‘बहादुर शेर’ को उद्गार गरेका थिए । तर अन्य पल्टनका उच्च पदका केही राणा गफाडी अधिकृतहरूको सेर पल्टन लडाईबाट भाग्यो भन्ने हल्ला गरेर आफ्नो पल्टनलाई माथि पार्ने काम गरेकोमा दुःख व्यक्त गरेका थिए । उनको भनाइमा कर्नेल क्षेत्रविक्रम राणा र श्री ३ का छोरा जनरल किरणसम्सेर राणा मिली उनले कमाण्ड गरेको पल्टनलाई अङ्ग्रेज गभर्नर जनरल माउण्ट बेटनले ‘दि फेमस’ टाइटल दिएको भन्ने गफ लगाएको र बर्मा फ्रन्टमा लड्ने कुनै पनि पल्टनलाई कुनै पनि टाइटल नदिएको समेत बताएका थिए ।

तत्कालीन बृटिश सरकारको अनुरोधमा नेपालबाट खटिई गएको पल्टनहरूमध्ये श्री शेर बटालियन पनि रहेको थियो । बि स २००२ साल अर्थात सन् १९४४ अप्रिल ५ तारिखका दिन भारतको नागाहिल डिष्ट्रिक (नागाहिल जिल्ला) को ट्रेजरी हिल कब्जा गर्ने बहादुरी काम शेर बटालियनको ‘वि’ कम्पनीले गरेको थियो । सोही ‘वि’ कम्पनी ट्रेजरी हिल कब्जा गर्न दुश्मन विरूद्ध अगाडी बढ्दै जाँदा उक्त कम्पनीको नं. ११ सेनामुख (से.मु.) पति सुवेदार शैलेन्द्रबहादुर महत मातहतका सेनाहरू अचानक दुश्मनको एम्बुसमा पर्न गए । बडो आपतको बेलामा पनि महतले धैर्यताकासाथ दुश्मन विरूद्धको कारवाही गरी दुश्मनलाई सखाप पारे । मिर्मिरे उज्यालो नहुँदै महतको नेतृत्वद्वारा ट्रेजरी हिल कब्जा भएरै छाड्यो । जुन घटना अङ्ग्रेजहरुका लागि जादु गरेकोझैँ भयो । यस बहादुरीबापत महतले बृटिश सरकारकोतर्फबाट एमसी तक्मा पाएका थिए। श्री श्रीनाथ गणको गणपति छँदा कान्ति राजपथ (टिकाभैरब बाटो) निर्माण कार्य र उत्तरी सीमा प्रशासक हुँदा मुस्ताङ जिल्लामा भएको खम्पा निःशस्त्रीकरण कार्यमा उनको अतुलनीय योगदान रहेको छ । कर्नेल सैलेन्द्रका छोरा दिनेश महत एअरलाइन्सको काममा थिए।

सहायक रथी दयाबहादुर खांड

ललितबहादुर खाँडका नाति, गोविन्दबहादुर खाँडका छोरा सहायक–रथी दयाबहादुर खाँड वि.सं. १९७१ असार १० मा तानसेन पाल्पामा जन्मेका खाँडले वि.सं. १९९४ वैशाख ६ गते सिधै सुबेदार पदमा नियुक्ति भई सहायक रथीसम्म पदोन्नति भएर २०२२ साल आश्विन १५ गते अवकाश प्राप्त गरेका थिए र २०४१ कात्तिक ३ गतेका दिन निधन भएको थियो । बर्माको सन्जी–नाक स्थानमा रहेको दुश्मनको डिभिजन हेडक्बार्टरमा हमला गर्नु थियो । जसमा श्री महिन्द्र दल को क्याप्टेन दयाबहादुर खाँडकै कम्पनी खटिएको थियो । यस लडाइँमा गएको कम्पनीलाई चारैतर्फबाट दुश्मनले घेरामा हालेका थिए । तर कम्पनी कमाण्डरको कुशल रणनीतिबाट उल्टै दुश्मनलाई नै घेरामा पारेर सो ठाउँमा हमला गरी आपूmलाई दिएको टास्क (काम) सफलताका साथ फत्ते गरेबापत उनलाई ‘मेन्सन इन ए डिसप्याच’ द्वारा कदर गरिएको थियो । त्यस्तै मायोटा नामक डिस्ट्रिकको रेल्वे स्टेशनमा दुश्मनसँगको भिडन्तमा उनले देखाएको बहादुरीको कदरस्वरूप उनलाई बृटिश सरकारले एम.सी. तक्मा प्रदान गरेको थियो । उनी २०१४ सालमा श्री कालीबहादुर बटालियनको कमाण्डिङ अफिसर पनि भएका थिए । उनका सन्तानहरूमध्ये उपरथी (पाइलट) रबिचन्द्र शाह, न्यायाधीश लोहितचन्द्र शाह र सहायक रथी डाक्टर भानुचन्द्र शाह हुन्।

सहायक रथी चुत्रबहादुर थापा

उनको जन्म ललितपुर जिल्लाको इमाडोल गाउँमा १९७२ चैत ७ गते आइतबारको दिन भएको थियो । उनका बाजे कुलमानसिंह थापा, बुबा गुञ्जमानसिंह थापा र आमा इन्द्रकुमारी थापा थिए। चुत्रबहादुर १९९० पौष २२ गते नेपाली सेनाको सिपाहीमा भर्ना भएका थिए। उनको छोराहरु मध्ये तत्कालीन महाराजाधिराज वीरेन्द्रवीर विक्रम शाहको एडिसी उपरथी ताराबहादुर थापा र नाति बर्तमान उपरथी सागरबहादुर थापाले नेपाली सेनामा सेवा गरेका छन्। थापा काली बहादुर गणको डि कम्पनी, नम्बर १ प्लाटुनको नम्बर १ सेक्सन कमाण्डर भइ बर्मा गएका थिए। बर्मामा पुगेपछि नै वि.सं. १९९८ अषाढ ३२ गतेका दिन श्री थापा जमदारमा प्रमोशन भइ ‘ए’ कम्पनीको नम्बर एक प्लाटुनको, प्लाटुन कमाण्डर भएका थिए।

नेपाली पल्टनलाई सैनिक तालिम दिनको लागि बृटिश गोर्खा राइफलका तल्ला तहका कमाण्डरहरू र तालिमको सुपरभाइजरका लागि कप्तान मुलाले, छैंटौँ गोर्खा राइफलका कप्तान म्यालकलिनहरू आएर कालीबहादुर गणलाई विभिन्न किसिमका सैनिक तालिमको साथै बडो कडाइकासाथ पेशावर भन्ने ठाउँमा लगियो । त्यहाँ गर्मी, जाडो, भोक, प्यास, निन्द्रा खप्नसक्ने खालका युद्धकला, हमला गर्ने र डिफेन्स पोजिसनमा रहँदा आफ्नो बचाउ राख्ने, ओभर हेड प्रोटेक्शनसहितका बङ्कर र ट्रेन्चहरू खन्ने र बनाउने आदि कामको कडा तालिम दिइयो । पलेल भन्ने ठाउँको ‘लङ ट्री हिल’ र ‘टेंगोफल’ भन्ने ठाउँ कालीबहादुर गणको जिम्मेवारी एरियामा परेको थियो । शत्रु पक्षको सबैभन्दा अगाडिको र खतरनाक डिफेन्स पोजिशन ‘लङ ट्री हिल’ का शत्रुहरूलाई मार्ने र भगाउने काम गरी उक्त पोजिशन कब्जा गर्नु भन्ने बटालियन कमाण्डरबाट ‘ए’ कम्पनी कमाण्डरलाई आदेश प्राप्त भयो । आदेशअनुसार जमदार चुत्रबहादुरले आफ्नो मातहतका बहादुर सेनाहरूलाई साथमा लिएर सन् १९४३ को जुन ११ तारिखका दिन हमला गर्ने योजनाअनुसार पूर्ण तयार गरी अलराउण्ड डिफेन्स पोजिशनमा राखे । त्यसबेला शत्रु सेनाहरू आ–आफ्ना हातहतियार र इक्युप्मेन्टहरू एक ठाउँमा जम्मा गरी सेन्ट्रीहरूको रेखदेखमा छोडेर डिफेन्स पोजिशनलाई अझै बलियो बनाउने उद्देश्य लिएर रूखहरू काटेर ल्याइ ओभर हेड प्रोटेक्शन सहितका बङ्कर र ट्रेन्चहरू बनाउन लागेका थिए । सोही मौका छोपी उनंले बनाएको एट्याक प्लानबमोजिम आफ्ना बहादुर सेनाहरूलाई “छिटोसँग अगाडि बढ्ने र शत्रुहरूलाई मारेर दुश्मनको पोजिशन कब्जा गर्ने” भन्ने आदेश दिई मध्य दिनमै अचानकसँग दिनको हमला गरी शत्रुहरूको डिफेन्स पोजिशनभित्रै पसेर २० जनाभन्दा बढी शत्रुहरूलाई मारी बाँचेकाहरूलाई भगाई उक्त पोजिशन र थुप्रै हातहतियार कब्जासमेत गरे । सोही विवेकी, बहादुरी र जोखिमपूर्ण  कार्य गरेको कदरस्वरूप बृटिश सरकारबाट चुत्रबहादुर थापालाई एम.सी. को तक्मा प्राप्त भएको थियो।

वि.सं. २००१ श्रावण ३ गते तदअनुसार सन् १९४६ अप्रिल १९ का दिन नेपाली फौज विश्वयुद्धबाट फर्केर आएको थियो । २०५३ साल चैत्र १९ गते जनरल थापाको निवास काठमाडौंको नक्साल नारायण चौरमा लेखकले उनको टिपोट पुस्तिका हेरेअनुसार बर्माको लडाईंमा कालीबहादुर गणबाट वीरगती पाउनेहरूको विवरण अनुसार कोहिमा सिमेट्रीमा : हुद्दा कृष्णबहादुर गुरूङ, हुद्दा मानबहादुर गुरूङ, हुद्दा रत्नबहादुर गुरूङ, लेस नायक मानबहादुर गुरूङ, सिपाही इन्द्रबहादुर गुरूङ, सिपाही लालबहादुर गुरूङ, सिपाही मुक्तबहादुर गुरूङ को अन्त्येष्टि गरिएको थियो ।

इम्फाल सिमेट्रीमा : जमदार तेजबहादुर थापा, सिपाही बम्बबहादुर गुरूङ, सिपाही वीरध्वज गुरूङ, सिपाही धनु गुरूङ, सिपाही तेजबहादुर गुरूङ, सिपाही कुलबहादुर गुरूङ, सिपाही पद्मबहादुर गुरूङ, सिपाही शेरबहादुर खत्री, सिपाही तेजबहादुर गुरूङ, सिपाही कृष्णबहादुर गुरूङ, नन कम्बान्डियन्ट (परिचर) गर्वनाथको अन्त्येष्टि गरिएको थियो । अन्य पल्टनहरूबाट मृत्यु हुनेहरूको कुल सङ्ख्या

(क) महेन्द्र दल गणका    – १४ जना,

(ख) शेर गणका  – २१ जना र

(ग) पायनियर गणका – १७ जना थिए ।

यहाँ उल्लेखित संख्यालाई लेखकले नेपाली जङ्गी अड्डामा भएको अभिलेखसँग तुलना गरेको छैन । चुत्र बहादुर थापाले सेनानीबाट श्री ५ महाराजाधिराजको ए.डि.सी. भै ३४ वर्षसम्म नेपाली सेनाको अबिच्छिन्न सेवा गरी २०२३ साल वैशाख ५ गते सहायक रथीको दर्जाबाट निवृत्तिभरणमा अवकाश प्राप्त गरेका थिए ।

लेफ्टिनेन्ट कर्नेल बलबहादुर सिलवाल

काठमाडौंको थानकोट, बनस्थली निवासी रणशुर सिलवालका नाति भक्तवीर सिलवालका छोरा तत्कालीन महिन्द्र दल पल्टनका कम्पनी कमाण्डर क्याप्टेन बलबहादुर सिलवालको जन्म वि.सं. १९६१ चैत्र ७ मा जन्म भई १९ वर्षको उमेरमा नेपाली सेनामा भर्ना भएका थिए । लेफ्टिनेन्ट कर्णेलको दर्जासम्म पदोन्नति भइ वि.सं. २००९ साल पछिको श्री श्रीनाथ बटालियनको कमान्डिङ अफिसर अर्थात गणपति भएको थिए । ३२ वर्षसम्म अबिच्छिन्न नोकरी गरी सेनाबाट निवृत्तिभरणमा जीवन बिताई ८१ वर्षको उमेरमा २०४२ फागुन १८ गते उनको स्वर्गारोहण भएको थियो ।

द्वितीय विश्वयुद्धमा लडाइँ लड्दा बृटिशको नं. २६८ बृगेड कमाण्डरको आदेशअनुसार बर्माको अनामियो नजिक नाटमी भन्ने स्थानमा महिन्द्र दल पल्टनको ‘वी’ कम्पनीमा करिब ८० जवान फौजले जापानी सेनाको दुई मिडियम ट्याङ्क, ए.टी. कार्टुनहरूसहित करिब ६०० जवानको फौज फिर्ता हुने क्रममा १९ मे १९४५ को राति २१०० बजेदेखि २३०० बजेको समयभित्र दुश्मनलाई एम्बुस थापी आफ्नोतर्फबाट १ जवान पनि नोक्सान नगराई जापानीतर्फ अन्दाजी ५७ जवानको मृत्यु, ८० जवान घाइते गराई अप्रेशन सफल गराए बापत क्याप्टेन सिलवालले एम.सि.पाएका थिए । उनको छोराहरू प्रमुख सेनानी (प्र.से.) झंकबहादुर सिलवाल, प्र.से. अमिर सिलवाल र सेनानी राजेन्द्र सिलवाल र नाति सेनानी विकास सिलवाल ले नेपाली सेनामा काम गरेका थिए।

अन्तमा, लेखकले माथिका योद्धाहरु मध्य दुई जनालाई भेटेको र अन्यका परिवारलाई समेत भेटेर सोधखोज गर्दा सबैको एउटै भनाइ के थियो भने युद्ध भुमिमा बहादुरी देखाएको बापत ब्रिटिश सरकारले भिक्टोरिया क्रस (भि सि) तक्मा दिन लागेको थियो । सो तक्मालाई ब्रिटिश राजारानीले समेत सम्मान गर्नुपर्ने र एकदम माथिल्लो तहको भएकाले नेपालका श्री ३ हरुले पनि तक्मा पाउने नेपालीलाई सम्मान गर्नु पर्ने भएकोले नेपाल सरकारकै अनुरोधमा भि. सि. को सट्टा एम. सि. दिने सिफारिस भएको थियो रे । आफ्नै देशले आफ्नै वीर योद्धाको अवमूल्यन गर्‍यो भन्ने सुनियो । यस बारेमा लिखित अभिलेख नपाएकाले यी भनाइलाई सुनी जानेको इतिहासमा राखिएको छ ।

माघ १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्