प्रधानमन्त्रीले नरुचाएका कांग्रेसका यी चार मन्त्री विस्थापित होलान्?

काठमाडौँ – आफू नेतृत्वको मन्त्रिपरिषद् एक वर्ष पूरा भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनलाई चुस्त राख्ने रणनीति अपनाउन खोज्दा गठबन्धनको ठूलो दल नेपाली कांग्रेसभित्र असन्तुष्टि र खैलाबैला मच्चिएको छ।

प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग कांग्रेसका चार बहालवाला मन्त्री विस्तापित गर्न आग्रह गरेपछि कांग्रेसमा मन्त्री हुने नयाँ अनुहारबारे चर्चा भएको छ। प्रचण्डको आग्रहलाई देउवाले सिधै अस्वीकार नगरेको तर एक वर्षमै मन्त्री हेरफेर गर्दा सरकारमा अस्थितरता देखिने आशय व्यक्त गरेका देउवा निकटस्थ एक नेताले देश सञ्चारसँग बताए।

कांग्रेसको तर्फबाट मन्त्री बनेकालाई माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले नरुचाउनु भनेको मन्त्री हेरफेर मात्रै नभई माओवादीले कांग्रेसको स्वायत्ततामा हस्तक्षेप गरेको रुपमा पनि बुझ्न सकिन्छ।

प्रचण्डले कांग्रेसका बाहालवाला मन्त्री विस्थापित गर्ने भनेसँगै कांग्रेस माओवादीमा चिसोपना बढ्नुका साथै गठबन्धनको आयु कति लामो जान्छ भन्ने प्रश्न पनि उब्जिएको छ। प्रचण्डनिकट नेताहरुका अनुसार प्रचण्डले सबैभन्दा धेरै नरुचाएका कांग्रेस मन्त्रीमध्ये अर्थमन्त्री प्रकाशशरण महत अग्रस्थानमा छन्।  त्यस्तै, स्वाथ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई विस्थापित गर्न प्रचण्डले देउवासँग आग्रह गरेका प्रचण्ड निकट नेताले बताएका हुन्।

प्रचण्डले यस्तो आग्रह गरे पनि देउवाले तत्कालै मानिहाल्ने अवस्था भने नरहेको कांग्रेस शीर्ष नेताको बुझाइ छ। कांग्रेसका एक पदाधिकारीले देश सञ्चारसँग भने,‘प्रचण्डले सभापतिसँग आग्रह गरे पनि त्यो तहमा निर्णय गरिसक्ने समय भएको छैन। राष्ट्रिय सभा निर्वाचनको समीक्षा गर्दा खेरी कांग्रेसको तर्फबाट कांग्रेसका दश जना उम्मेदवारहरु विजयी भएका छन् भने कोशीमा सत्ता गठबन्धनको तर्फबाट माओवादीका एक जनाले सिट गुमाएका छन्। यसले गठबन्धनमा विश्वासको संकट देखा पर्ने जोखिम छ।’

उनले थपे,‘राष्ट्रिय सभाको निर्वाचनलगत्तै मन्त्रिपरिषद्‌मा फेरबदल हुने भन्ने हो तर को जाने? को पठाउने? भन्ने कुरा पार्टी सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री रहेको पदाधिकारी तहले निर्णय गरेर पठाउँछ। प्रधानमन्त्रीको इच्छाको मात्रै हुँदैन होला।’ राष्ट्रिय सभा निर्वाचनको कोशी प्रदेश प्रकरणले एक खालको समस्या पार्टी र गठबन्धनमा ल्याउने निश्चित भएको उनको ठम्याइ छ।

राष्ट्रिय सभा सदस्य निवार्चित भएर अध्यक्ष बन्ने तयारीमा रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला कांग्रेसीअनुहार तर प्रचण्डको बफादार पात्र भएका कारण गठबन्धनमा धेरै समस्या नहोला भन्ने एकाथरी नेताको बुझाइ छ। राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा सिटौलालाई सत्ता गठबन्धनको दुई मत प्राप्त भएको थिएन।

कोशी प्रदेशका ९३ मतमध्ये सिटौलाले ४५ जनाको मत पाएका थिए। कोशी प्रदेशमा सत्ता गठबन्धनका ४७ मत भए पनि उनलाई २ जनाले मत दिएका दिएनन् भने एक मत बदर भएको थियो। सिटौलानिकट एक नेताले पार्टी र गठबन्धनमा यसको समीक्षा र विश्लेषण हुनुपर्ने माग गरे।

उनले भने,‘यसले पार्टीभित्र पनि एक खालको समस्या पैदा गर्छ, इमानदारिताको संकटबारे कुरा हुन्छ। कांग्रेसको १० जनाले जित्दै गर्दा माओवादीको एक जनाले हार्दा कांग्रेस–माओवादीबीच दरार र चिसोपन आउँछ वा के हुन्छ आमागी दिनहरुले देखाउनेछन्।’

एक माओवादी नेताका अनुसार प्रधानमन्त्री अर्थ मन्त्रालयको काम कारबाहीप्रति सुरुदेखि नै सन्तुष्ट थिएनन्।

उनले भने,‘प्रधानमन्त्री अर्थमन्त्रीसँग सन्तुष्ट हुनुहुन्न भन्ने कुरा उहाँको क्रियाकलापले पनि देखाउँछ। बजेट निर्माणका बेला अर्थमन्त्रीको जिम्मेवारी अर्थविद्,वित्तीय क्षेत्रका प्रमुखहरुलाई बोलाएर प्रधानमन्त्री कार्यालयमा चार घन्टाभन्दा लामो अन्तर्क्रिया कार्यक्रम गर्नुभयो, जुन काम अर्थमन्त्रीले पनि गर्नुभएको थियो, अर्थमन्त्रीप्रति प्रधामन्त्रीसहित सिंगो नेकपा माओवादी केन्द्र पहिलेदेखि नै नकरात्मक थियो। अहिले पनि छ। अर्थमन्त्रीको नीति, सिद्धान्त, बजेट र कार्यक्रम बजेट छर्ने भन्दा पनि बजेट संकलन गर्ने र भण्डार बलियो बनाउने भन्ने अर्थमन्त्रीको नीति छ त्यो कुरा माओवादीले मन पराएका छैनन्।’

कांग्रेसमा युवा नेताहरु महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतका नेताहरु सरकारमा गएर पफर्मेन्स देखाउनुपर्छ भन्ने छ। नयाँ अनुहार पठाउँदा सभापतिले पदाधिकारी, महामन्त्रीहरु, नेता शेखर कोइरालासँग सल्लाह गरेर नै पठाउँछन् भन्ने पार्टीभित्र विश्वास लिएका छन्।

तर, प्रचण्डले नै हस्पक्षेप गरेपछि देउवा कस्तो रणनीतिका साथ अघि बढ्छन् त्यो आगामी दिनमा देखिनेछ। नेत्री आरजु राणा पनि सरकारमा सहभागी हुने चर्चा छ भने सिटौला मन्त्रिपरिषद्‌मा सहभागी हुन्छन् वा राष्ट्रिय सभा अध्यक्षको लागि तयारी गर्छन् प्रष्ट भइसकेको छैन।

राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्दादेखि नै गठबन्धनको साझा सहमतिका उम्मेदवारजस्तै बनेका सिटौलालाई राष्ट्रिय सभा अध्यक्षको लागि प्रचण्डको पूर्णसमर्थन रहेको बुझिएको छ।

अर्थमन्त्री चित्त नबुझाएका प्रचण्ड र सिंगो माओवादीले अर्थमन्त्री आफूले दाबी गरेको छ। अर्थ माओवादीले पाउँदै गर्दा गृह मन्त्रालय कांग्रेसले पाउनुपर्ने माग गरेको छ।

राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रपति रामचन्द्र पौडेल पनि आन्तरिक रुपमा सक्रिय भएका भनिएको थियो। कानुनतः संवैधानिक राष्ट्रपतिले चलखेल गर्न नमिल्ने भए पनि मन्त्रिपरिषद् हेरफेर र पुनर्गठनमा पनि राष्ट्रपति पौडेलले चासो देखाएको र उनको उक्त व्यवहार कांग्रेसकै नेताहरु र माओवादीले नरुचाएको बुझिएको छ।

माघ १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्