पोखरा – झिसमिसेमै उठेर घरगोठको धन्दा सक्नु ग्रामीण परिवेशको दैनिकी हो। हिउँद न बर्खा, घरगोठको धन्दाबाट छुट्टी कहिल्यै मिल्दैन। अझ महिलालाई त घरगोठको धन्दाले अल्झाइरहेको हुन्छ।

स्याङ्जाको विरुवा गाउँपालिका–७ सपाउदेका महिला पनि घरधन्दासँगै पानीपँधेरी र घाँस दाउरा गर्न दिनकै जंगल धाउँछन्।

घरघरै पानीको धारा भए पनि गाउँको शिरानमा रहेको पँधेरीबाट डोकोमा ग्रागी राखेर नाम्लोको बरियोले बोकेर ल्याएको पानी नपिएसम्म उनीहरुको तिर्खा मेटिँदैन। हिउँदको बेला जंगल पसेर घाँस नल्याएसम्म वस्तुभाउको भोक मेट्न मुस्किल पर्छ।

ज्यानभन्दा ठूलो घाँसको भारीले थिचेर फतक्कै पाइला गलेपछि थचक्क बिसाउँछन्। निर्थुक्क भिजाउने पसिना पुछ्न नपाउँदै थकान बिसाउन सहेलीले स्वरमा स्वर मिसाउँछन्।

‘…ज्याग्दी रयाले
घरमा दिल छैन
तिम्रो मायाले’