अस्ट्रेलियन ओपनको नयाँ च्याम्पियन बने २२ वर्षीय सिनर

इटालिका २२ वर्षीय यूवा खेलाडी जनिक सिनरले अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन्। पहिलो पटक ग्रान्डस्लाम उपाधि जित्ने क्रममा सिनरले रुसका डेनियल मेदभेडेभ विरुद्ध २ सेटमा पछि परेको अवस्था उल्टाउँदै उपाधि हात पारे।

यो सँगै अस्ट्रेलिया ओपनले समेत नयाँ च्याम्पियन पाएको छ। सिनरले पाँच सेटको रोमाञ्चक खेलमा मेदभेडेभलाई ३-६, ३-६, ६-४, ६-४, ६-३ को सेटमा पछि पारे। ३ घण्टा ४४ मिनेट चलेको खेलमा सिनरले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछि शानदार पुनरागमन गर्दै लगातार तीन सेट जितेर उपाधि हत्याए। सिनर अस्ट्रेलियन ओपन जित्ने पहिलो इटालियन खेलाडी समेत बने। सिनरले यसअघि सेमिफाइनलमा १० पटकको अस्ट्रेलिया ओपन विजेता नोभाक जोकोभिचलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए।

सिनरलाई पहिलो फाइनलमै उपाधि

यूवा स्टार सिनरले पहिलो पटक ग्रान्डस्लाम फाइनलमै उपाधि हात पार्न सफल भए। यसअघि सिनर २०२० मा भएको फ्रेन्च ओपनको क्वार्टरफाइनल, २०२३ मा विम्बल्डनको सेमिफाइनल र २०२२ को युएस ओपनको क्वाटरफाइनल सम्म पुगेका थिए। सिनर २००८ पछि प्रतियोगिता जित्ने सबैभन्दा कान्छो खेलाडी समेत बने।

२२ वर्ष १६५ दिनका सिन्नर १५ वर्षयता अस्ट्रेलियन ओपन पुरुष एकल उपाधि जित्ने सबैभन्दा कान्छो खेलाडी हुन्। यसअघि सन् २००८ मा नोभाक जोकोभिचले २० वर्ष २५० दिनको उमेरमा उपाधि जितेका थिए।

ग्रान्डस्लाम जित्ने तेस्रो इटालियन बनेका सिनर अस्ट्रेलियन ओपन जित्ने पहिलो इटालियन खेलाडी बने। यसअघि निकोला पिएट्रान्जेलीले सन् १९५९ र १९६० मा फ्रेन्च ओपनको उपाधि जितेका थिए। त्यस्तै सन् १९७६ मा एड्रियानो पानाट्टाले पनि फ्रेन्च ओपन जितेका थिए।

तेस्रो पटक फाइनलमा पराजित भए मेडभेडेभ

रसियन स्टार मेदभेडेभ भने तेस्रो पटक अस्ट्रेलियन ओपनको फाइनल गुमाउन बाध्य भए। अहिले सम्म अस्ट्रेलियन ओपन जित्न नसकेका मेडभेडेभ यसअघि सन् २०२१ मा पहिलो पटक फाइनलमा पुगेका थिए। जतिबेला उनी नोभाक जोकोभिचसँग पराजित भएका थिए।

त्यसपछि अस्ट्रेलिया ओपन २०२२ को फाइनलमा उनी स्पेनिस स्टार राफेल नाडालसँग ५ सेटको थ्रिलर भिडन्तमा पराजित भएका थिए।  मेदभेडेभसँग एकमात्र ग्रान्डस्लाम रहेको छ। उनले सन् २०२१ मा युएस ओपन जितेका थिए।

माघ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्