नेविसंघको आयोजनामा ‘रोबोटिक वार प्रतियोगिता’

काठमाडौँ – नेपाल विद्यार्थी संघले रोबोटिक वार प्रतियोगिता आयोजना गरेको छ। दशरथ रंगशालामा शनिबारदेखि सुरु भएको प्रतियोगिता सोमबारसम्म चल्ने छ।

‘विश्वकर्मा व्याटल अफ टाइटन्स्–२’ नाम दिइएको अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानबाट १७ वटा समूहले प्रतिस्पर्धा गरिरहेको नेविसंघले जनाएको छ।

खेल, मनोरञ्जन, सिर्जना र आविष्कारलाई एकमुष्ट प्रतिविम्बित गर्ने प्रतियोगितामा प्रत्येक प्रतियोगी समूहले आफैले आविष्कार गरेको मानव नियन्त्रित रोबोट्स एकापसमा भिडाइ उक्त रोबोटहरूको डिजाइन, गतिशीलता, आक्रमण र प्रतिरक्षा गर्ने क्षमताको प्रदर्शन गर्ने आयोजकको भनाइ छ।

साथै यस तीन दिने प्रतियोगितामा नेविसंघले सबै समूह, सहभागी, आमन्त्रित अतिथि र स्वयम्‌सेवकलाई खानासहित आवासको सुविधासमेत उपलब्ध गराएको जनाएको छ।

प्रतियोगितामा प्रथम हुने समूहले ३ लाख ५० हजार, दोश्रो हुनेले १ लाख ५० हजार अन्य श्रेणीमा विजयी हुने एक समूहले १ लाख रुपैयाँ पाउनेछन्।

माघ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्