ओली र हार्टली चम्किंदा पहिलो टेस्टमा इंग्ल्यान्डसँग हार्‍यो भारत

भारत भ्रमणमा रहेको इंग्लिस टोलीले पाँच खेलको टेस्ट सिरिजको पहिलो खेल जितेको छ। आइतबार हैदरावादमा सम्पन्न पहिलो टेस्टमा इंग्ल्यान्ड २८ रनले विजयी भयो। इंग्ल्यान्डको जितमा ओली पप र ‘डेब्यू ब्वाई’ टोम हार्टली चम्किंदा भारत पराजित भयो।

जितसँगै इंग्ल्याण्डले भारतविरुद्धको ५ खेलको टेस्ट सिरिजमा १-० को अग्रता बनायो। अब यि दुईबिच दोस्रो टेस्ट आगामी २ फेब्रुअरीबाट विशाखापट्टनममा हुने छ।

हैदरावादमा २ सय ३१ रनको लक्ष्य पछ्याएको भारत दोस्रो इनिङ्समा २ सय २ रनमै समेटिएपछि इंग्ल्यान्ड विजयी भयो। दोस्रो इनिङमा कप्तान रोहित शर्माले ३९ रन बनाउँदा रविचन्द्रन अश्विन र केएस भरतले समान २८-२८ रन बनाए।  इंग्ल्याण्डका लागि डेब्यु गरेका टम हार्टलीले दोस्रो इनिङमा एक्लै ७ विकेट लिए।

चौथो दिन इंग्ल्याण्डले ३१६ रनमा ६ विकेट गुमाएको अवस्थाबाट खेल सुरु गरेको थियो।जहाँ उसले ४२० रन बनाउँदै भारतलाई जितका लागि २३१ रनको लक्ष्य दियो। इंग्ल्यान्डका लागि दोस्रो इनिङमा ओली पोपले १ सय ९६ रनको  सानदार शतकीय इनिङ खेलेका थिए।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड पहिलो इनिङमा २ सय ४६ रन बनाएको थियो। जवाफमा भारतले ४३६ रन बनाउँदै पहिलो इनिङमा १ सय ९० रनको अग्रता बनायो। तर दोस्रो इनिङमा सानदार प्रदर्शन गर्दै इंग्ल्यान्डले ४ सय २० रन बनाउँदा भारतले जितका लागि २ सय ३१ रनको लक्ष्य पाएको थियो। जहाँ भारत २ सय २ रनमै अलआउट भयो।

 

माघ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्