कोसी प्रदेशका कार्की र रिचर्ड वार्डलो ओबिईसहितको टोलीबीच भेटवार्ता

मोरङ – बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेट रिचर्ड वार्डलो ओविईसहितको टोलीले कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग भेटवार्ता गरेको छ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आइतबार भएको भेटमा पूर्व ब्रिटिस गोर्खा सैनिकका समस्यालाई लिएर मुख्यमन्त्री कार्कीले टोलीसमक्ष जिज्ञासा राखेका थिए।

भेटका क्रममा मुख्यमन्त्री कार्कीले प्रत्येक वर्ष नेपालबाट ब्रिटिस गोर्खा सैनिकमा हुने गरेका भर्नादेखि पूर्व सैनिकले पाउने सेवा–सुविधाबारे कर्णेल कमाण्डेट ओबिईसँग कुरा राखेका थिए।

भेटमा उनले पूर्व गोर्खालगायत गोर्खा सैनिकका लागि प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेटमा गोर्खा भिलेज निर्माणका लागि अध्ययन गर्दै आएको बताए।

उनले टोलीसमक्ष प्राविधिकलगायतको सहयोगका लागि आग्रह गर्दै गोर्खा भिलेजको भौतिक संरचना ब्रिटिस मोडलमा निर्माण हुने प्रस्ट्याएका थिए।

सोही क्रममा कर्णेल कमाण्डेट ओबिईले नयाँ सैनिक भर्नाका क्रममा जारी वर्ष ३ सय ३६ जना सेनामा भर्ना भएको बताए।

ओविईले सुनसरीको धरानमा पूर्वगोर्खा सैनिकका लागि मात्रै गर्दै आएको कामलाई विस्तार गरी आम नेपालीका लागि सुरु गरेको जानकारी गराएका थिए।

उनले गोर्खा सैनिकको व्यावसायिकता, समर्पण, क्षमता र अदम्य साहसले बेलायतको समग्र सुरक्षामा अहं योगदान पुर् याएको उल्लेख गरे।

सात प्रदेशमा पहिलोपटक कोसी प्रदेशका मुख्यमन्त्री कार्कीसँग भेट गरेको गोर्खा ब्रिगेड टोलीले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री र प्रधानसेपतिलाई भेटेर पोखरामा परेड खेलेपछि फर्किने कार्यक्रम रहेको जनाएको छ।

माघ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्