एसियनकप फुटबल: ताजिकिस्तान र अस्ट्रेलिया क्वाटरफाइनलमा

कतारमा जारी एसियन कप फुटबलमा अस्ट्रेलिया र ताजिकिस्तानले क्वाटरफाइनलमा स्थान बनाएका छन् । आइतबार राति भएको खेलमा ताजिकिस्तानले युएईलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम आठमा पुग्दा त्यसअघि भएको खेलमा अस्ट्रेलियाले इन्डोनेसियालाई ४-० ले पराजित गर्यो ।

सन् २०१५ को विजेता अस्ट्रेलियाले ११औं मिनेटमा इन्डोनेसियाका एलकान बाग्गोटको आत्मघाती गोलमार्फत् खेलमा अग्रता लिएको थियो । ज्याक्सन अरभाइनको प्रहार क्लियर गर्ने प्रयासमा उनल आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

खेलको ४५ औं मिनेटमा गेथिन जोन्सको पासमा मार्टिन बोएलले आकर्षक हेड मार्फत अग्रता दोब्बर बनाएका थिए । ८९ औं मिनेटमा क्रेग गुडविनले तेस्रो गोल गर्दा इन्जुरी समयमा ह्यारी सुट्टार टिमका लागि चौथो गोल गरेका थिए ।

त्यस्तै आइतबार रातिनै भएको अर्को खेलमा ताजिकिस्तानले युएईलाई पेनाल्टीसुटआउटमा ५-३ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो। निर्धारित तथा अतिरिक्त समय १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो ।

खेलमा ३० औं मनेटमै भदत हानोनोभको गोलमार्फत ताजिकिस्तानले अग्रता बनाएपनि इन्जुरी समयको पाँचौं मिनेटमा युएईले बराबरी गोल गर्दै ताजिकिस्तानको जितलाई लम्ब्याइदिएको थियो ।

युएईका लागि खालिफा अल हमादीले गोल गर्दा खेल १-१ गोलको बराबरीमा सकियो । तर पेनाल्टी सुटआउटमा भने ताजिकिस्तानका सबै पाँच खेलाडीले गोल गर्दा युएईका लागि काइयो कनेडो गोल गर्न चुकेका थिए ।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्