आदिवासी सन्थाल समुदायले सोहराई पर्व मनाउँदै, झापाका पाँच पालिकामा बिदा

झापा – आदिवासी सन्थाल समुदायको सोहराई पर्वको अवसरमा झापाका हल्दीवारी, कचनकवल, बाह्रदशी, झापा गाउँपालिका र भद्रपुर नगरपालिकाले सोमबार स्थानीय बिदा दिएका छन्।

ती पालिकाहरूले छुट्टाछुट्टै सूचना जारी गरी आज सार्वजनिक बिदा दिइएको जनाएका हुन्। ती पालिकामा पालिका कार्यालय र अन्तर्गत रहेका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरू बन्द रहने छन्।

कमल र गौरीगन्ज गाउँपालिकाले भने यसअघि माघ ११ गते नै सार्वजनिक बिदा दिएको नेपाल सन्थाल उत्थान आदिवासी संघका अध्यक्ष लखन हेमरमले जानकारी दिए।

उनका अनुसार झापामा सन्थाल समुदायको जनसंख्या करिब ३७ हजार रहेको छ। सन्थाल समुदायले यो पर्वलाई धार्मिक महत्त्वका साथ मनाउने गर्दछन्।

हल्दीवारी, कचनकवल, बाह्रदशी, झापा, कमल, गौरीगन्ज गाउँपालिका तथा भद्रपुर र कन्काई नगरपालिकाभित्र सन्थाल समुदायको बाक्लो बसोबास रहेको पाइन्छ।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्