यु-१९ विश्वकप: सुपर सिक्सबाट नेपालको सेमिफाइनल सम्भावना कति?

समूह चरणमा अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै ‘सुपर सिक्स’ पुगेको नेपाली टिम अर्को अभियानमा पनि आफूलाई परिष्कृत गर्दै टेस्ट राष्ट्र विरुद्ध जितको लक्ष्यमा रहेको छ।

समूह चरणका खेलपछि मंगलबारबाट सुपर सिक्स चरणका खेल सुरु हुँदैछन्। भाेलि सुपर सिक्सका ३ खेल हुने छन्। जहाँ न्युजिल्यान्ड र भारत तथा श्रीलंका र वेस्ट इन्डिज भिड्दा अर्को खेलमा आयरल्यान्ड र पाकिस्तान भिड्नेछन्।

नेपालले भने सुपर सिक्सको पहिलो खेलमा बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालको सेमिफाइनल सम्भावना कति?:

सुपर सिक्स खेल्ने सबै १२ टोलीको तय हुँदा समूह चरणमा बलियो नतिजासहित सुपर सिक्स पुग्ने टोली सेमिफाइनलका लागि मुख्य दाबेदारका रूपमा रहेका छन्।

सुपर सिक्सको एउटा समूहमा भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड रहँदा सुपर सिक्सको अर्को समूहमा अस्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन्। दुबै समूहका शीर्ष २-२ टोलीबीच सेमिफाइनल खेल हुनेछ।

सुपर सिक्समा नेपालले दुई खेल खेल्ने छ। समूह चरणमा आफूले पराजित गरेको टोली सुपर सिक्समा पुगेमात्र अंक ‘क्यारी’ हुने भएकाले नेपालको सेमिफाइनल सम्भावना भने निकै कमजोर छ।

नेपालले ‘सुपर सिक्स’ मा बंगलादेश र भारतलाई हराए पनि सेमिफाइनल पुग्नका लागि अंक पर्याप्त नहुन सक्छ। आफ्नो जितसँगै अन्य टोलीको नतिजासमेत भरपर्नु पर्ने छ। यस्तोमा नेपालको नतिजाले उपाधि दाबेदार टोलीलाई बाहिर पठाउने या सेमिफाइनल पठाउने निर्णयमा भने प्रभावकारी ठहरिन सक्छ।

समूह चरणमा नेपालले अफगानिस्तानलाई मात्र हराएको थियो। अफगानिस्तान समूह चरणबाटै बाहिरियो, त्यसैले नेपाल शून्य अंकका साथ ‘सुपर सिक्समा’ छ।

पाकिस्तान र भारत दुवै समूह विजेता बन्दै ४-४ अंकका साथमा ‘सुपर सिक्स’ मा रहँदा नेट रनरेट पनि उनीहरुको निकै राम्रो छ। यस्तोमा नेपालले भारत र बंगलादेशलाई हराएपनि सेमिफाइनल नपुग्ने सम्भावना प्रवल छ।

त्यस्तै समूहमा न्युजिल्यान्ड र बंगलादेश २-२ अंकका साथमा रहँदा नेपाल र आयरल्यान्डमात्र अंकविहीन छन्।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्